बागलुङ, ८ असार-विश्व योग दिवस बुधबार धौलागिरीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थ बिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन शुरु गरिएको हो । पतञ्जली योग समिति बागलुङ, जिल्ला शिक्षा कार्यालय र धौलागिरी अञ्चल आर्युवेद औषधालयको संयुक्त आयोजनामा बागलुङमा बिहान प्रभातफेरी सहित योग अभ्यास गरिएको थियो । सो अवसरमा बोल्ने सहभागीले शारीरिक मानसिक एबं आत्मनियन्त्रण, चित्त शुद्धिकरणका लागि योग महत्वपुर्ण माध्यम भएको बताएका थिए । सहभागीले अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा सहयोग पुग्ने बताए । कार्यक्रममा जिल्ला न्यायाधीश हिमलाल बेलवासे, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नगर प्रमुख जनक पौडेल, धौलागिरी अञ्चल आर्युवेद औषधालयका कविराज हरि पौडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम पतञ्जली योग समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायको अध्यक्षता, सचिव हिराबहादुर केसीको स्वागत र जिल्ला शिक्षा कार्यालयका बिनि प्रकाश वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleजनताको बिकास स्थानीय तहबाट – सांसद छन्त्याल
Next Article पुल निर्माण प्रभावित