म्याग्दी, ७ असार – पर्यटकलाई हेलिकप्टरले ओसार्न सुरु भएपछि धौलागिरि पदमार्गका पर्यटन व्यवसायी निरास भएका छन् । पर्यटकलाई हेलिकप्टरले ओसार्दा पदमार्गमा सञ्चालिन होमस्टे र टि–हाउसको व्यापारमा कमी आएपछि उनीहरु निरास भएका हुन् ।
सेतो पर्वत ‘धौलागिरि’ आउने पर्यटकलाई हेलिकप्टरले क्याप्पसम्म सस्तो दरमा ओसार्न थालिएको छ । यस पदमार्ग भौगोलिक रूपमा बढी विकट, वन्यजन्तुबाट जोखिम र भरियाहरूले बीच बाटोमै भारी छोडेर भाग्ने प्रवृत्ति बढेको भन्दै ट्ेरकिङ एजेन्सीहरूले पर्यटकलाई हेलिकप्टरबाट सुविधा दिएका हुन् ।
पदमार्ग भएर जाने पर्यटक सोझै क्याम्पमा पुग्न थालेपछि व्यवसायी भने चिन्तित बनेका हुन् । हेलिकप्टरले प्रतिट्रिप २० हजारमा पर्यटक र सामग्रीसमेत ताकमबाट इटली क्याम्पसम्म बोक्ने गरेको स्थानीयले बताए ।
क्याम्पिङ ट्रेकका लागि एक वर्षदेखि पर्यटकको सुविधालाई लक्षित गरी मुदी, खाम्ला, नाउरा, बगरा तथा दोभानबासीले एक वर्षदेखि पूर्वाधारसहित होमस्टे सुरु गरेका छन् । ‘पर्यटक आउन थालेपछि उत्साही थियौं । तर, ट्रेकिङ कम्पनीहरूले सोझै पर्यटक धौलागिरि क्याम्पमा पुर्याउन थालेपछि हाम्रो व्यवसाय चौपट हुन थालेको छ,’ दोभानस्थित धौलागिरि होमस्टेका सञ्चालक बमबहादुर पाइजाले भने, ‘ट्ेरकिङ कम्पनीले पर्यटकलाई हेलिकप्टरमा चढ्न बाध्य पारेका हुन् । कुनै पर्यटक यस पदमार्गमा लुटिएका छैनन् ।’ उनले पर्यटकलाई अप्ठ्यारो बेला सहयोग गरेको र उनीहरूको सुरक्षा गर्न तयार रहेको बताए ।
धौलागिरि गाउँपालिका मुदीको ८ हजार १ सय ४७ मिटर अग्लो हिमाल आरोहण तथा फन्को मार्न पर्यटक आउने गरेका छन् । यस वर्षको गर्मी मौसममा मात्र विभिन्न समूहका ३० पर्यटकले धौलागिरि आरोहण गरे । १५ सय बढी पर्यटक धौलागिरि आधार शिविर पुगेको दरबाङस्थित प्रहरी कार्यालयले जनाएको छ ।
धौलागिरि पदमार्गका स्थानीयले आफ्नै पहलमा पर्यटका लागि होमस्टे सञ्चालन गरेका हुन् । ‘धौलागिरि पदमार्गमा खाने बस्ने ठाउँ नभएकाले होमस्टे थालेका हौं,’ मुदी बगराकी संगीता पुनले भनिन्, ‘फाट्टफुट्ट पर्यटक र सहयोगीहरू बास बस्न थालेका छन् । धेरैलाई हेलिकप्टरले नै बोक्छ, हाम्रो लगानी खेर जालाजस्तो भयो ।’ स्थानीय बासिन्दाले पर्यटकका लागि गाउँ–गाउँमा बाटो बनाउने र होटल निर्माण गरेका छन् ।
‘धौलागिरि पदमार्ग अझै सुधारोन्मुख छ । पर्यटकको सुरक्षा र सुविधामा चुक्ने छैनौं,’ धौलागिरिको पहिलो आधार शिविर इटाली बेसक्याम्पका होटल व्यवसायी हरिबहादुर तिलिजाले भने, ‘ट्ेरकिङ कम्पनीलाई भरिया र गाइडले धोका दिएका हुन् । अब हामी नै गाइड र पोर्टर तालिम लिएर सेवा दिने तयारीमा छौं ।’
धौलागिरि हिमालय रेन्जमा धौलागिरि प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं, सीता चुचुरो, मानापाथी, मुकुट, टुक्चेपिक, छन् । धौलागिरि आरोहण तथा फन्को लगाएर मुस्ताङको मार्फा निक्लने साहसिक पर्यटका लागि धौलागिरि पदमार्ग प्रख्यात छ ।
यो हिमशृंखला हिममानव (यती) पाइने क्षेत्रको रूपमा पनि परिचित छ । धौलागिरि पुग्न बेनीबाट गाडीमा दरबाङ, पैदलयात्रा गरी मुदीको नाउरा हुँदै इटालियन बेसक्याम्प पुग्नुपर्छ । त्यसपछि स्विसक्याम्प हुँदै झन्डै ६ किलोमिटर लामो धौलागिरि ग्लेसियर पुगेपछि सुरु हुन्छ ।
हेलिकोप्टरले पर्यटक ओसार्न थाले, व्यवसायी निरास
Previous Articleचीनबाट यसैवर्ष उच्च भ्रमणको तयारी
Next Article चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै