बागलुङ, ६ असार-जिल्ला भूसंरक्षण कार्यालयले बागलुङ नगरपालिकाको देउराली चौतारीदेखि तित्याङसम्म हरित सडक बनाउने अवधारणाको शुभारम्भ गरेको छ । सोमबार बिहान आयोजित एक कार्यक्रममा सडकको दायाँबायाँ पहिरो रोकथाम गर्ने बिरुवा लगाएर अभियानको थालनी गरेको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र नगरपालिकाका मेयर जनक पौडेलले संयुक्त रुपमा बाँसका विरुवा रोपेर अभियानको थालनी गरेका थिए । सडक डिभिजन कार्यालय, जिल्ला वन कार्यालय, मिर्मिरे कृषि सहकारी संस्था लगायतको सहकार्यमा यो सडकको कम्तिमा ५ किमी खण्डलाई हरित सडकको अवधारणा अनुसार विकास गर्ने लक्ष राखेर अभियान संचालन गरिएको जिल्ला भू संरक्षण अधिकृत सेरबहादुर श्रेष्ठले बताए । सडक संरक्षण गर्दै हरियाली बढाउने योजना अनुसार पहिलो नियन्त्रण गर्ने स्थानमा बाँसका विरुवा रोपिनेछ भने अन्य स्थानमा स्थानीय बासिन्दाको चाहना अनुसार अम्रिसो, केरा, कागती, राईखन्यु र नेवारो जस्ता उपयोगी विरुवा रोप्ने योजना छ । यो अभियानका लागि २० हजारबढी विरुवा झिकाईएको श्रेष्ठले जानकारी दिए । सडकलाई संरक्षण गर्ने र आसपासका किसानले आयआर्जन गरेर जीवनस्तर सुधार गर्न सक्ने भएकोले यो अभियानलाई साथ दिएको मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले बताए । अभियान सफल भएमा बाह्रै महिना सडक सुरक्षित हुने, हरियाली बढ्ने र सबै उपभोक्ता तथा किसानहरु स्वरोजगार पनि बन्नेछन् । सोमबारको कार्यक्रममा बोल्ने वक्ताहरुले सडक हरियाली सँगै जमिनको संरक्षण पनि आवस्यक भएको बताए । साथै किसानले आयआर्जन गरेर धनी बन्ने वातावरण पनि आवस्यक भएको बताएका थिए । थापाको अध्यक्षता, संस्थाका कोषाध्यक्ष थानेश्वर सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा प्रजिअ तिवारी, मेयर पौडेल, वडा नं. ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटा लगायतले बोलेका थिए ।
Previous Articleकारवाही माग
Next Article आविष्कार केन्द्रको कामः आर्थिक विकासमा योगदान