राम सुवेदी, बागलुङ, ५ असार-जिल्ला कृषि विकास कार्यालय बागलुङले यस आर्थिक बर्षमा जिल्लाका कृषकका लागि २५ मेटिक टन मकैको वीउ वितरण गरेको छ । कार्यालयको बृहत्तर मकै उत्पादन कार्याक्रम र प्रधानमन्त्री कृषि आधुनीकिकरण कार्यक्रम अन्र्तगत जिल्लाभर उक्त मकैको विउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत बिप्लव अधिकारीले बताए । अधिकारीले दिएको जानकारी अनुसार, वृहत्तर मकै उत्पादन कार्यक्रममा जिल्लाभर १७ दशमलव ५ मेट्रिक टन र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, जिल्ला कृषि प्रसार कार्यक्रम तथा एकीकृत वाली तथा जल व्यवस्थापन कार्याक्रममा ७ दशमलव ५ मेटिक टन गरि २५ मेट्रिक टन मकैको वीउ वितरण गरिएको छ । कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत २ वटा पकेट क्षेत्र बनाएर बनाएर २ सय हेक्टर क्षेत्रफलमा मकै उत्पादनलाई प्राथमिकीकरणमा राखेको छ । साविकको देविस्थान, हिल र बुर्तिबाङलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तरगतको पकेट क्षेत्र मानिएको छभने तंग्राम, धम्जा, भिमपोखरा र पालालाई अर्को पकेट क्षेत्र मानेर मकै उत्पादनलाई प्राथमिकीकरण गरिएको छ । यस्तै बागलुङ नगरपालिका र राङखानीमा १०÷१० हेक्टर क्षेत्रफलमा मकैको विउ उत्पादन गरिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । उता, बुर्तिबाङस्थित कृषि सेवा कार्यालय अन्र्तगतका साविकको १२ गाउँ विकास समितिमा पनि २ दशमलव ५ मेटिक टन मकैको विउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले यसवर्ष देउती, मनकामना ३, मनकामना ५, सितला र अरुण २ जातका मकैको विउ उत्पादनका लागि कृषकलाई सिफारिस गरि विउ वितरण गरेको जनाएको छ । यसैबीच, कृषि विकास कार्यालयले यसै आर्थिक वर्षमा जिल्लाको अमरभुमीस्थित सिरुवारीमा ५ सय रोपनी जग्गामा चिया बगानका लागि कृषकलाई अनुदान सहयोग गरेपछि त्यस स्थानमा पहिलोपटक चिया खेती गर्न थालिएको हो । जिल्ला कृषि कार्यालय बागलुङले चिया खेतीका लागि नर्सरी उत्पादनका लागि १ लाख अनुदान दिएको कृषि प्रसार अधिकृत अधिकारीले बताए । अमरभुमिको मेले भन्ने स्थानमा अहिले चिया नर्सरी थालिएको छ । यस्तै, कृषि विकास कार्यालयले बागलुङका यसवर्ष १ सय ५ हेक्टर क्षेत्रफलमा अलैची खेति विस्तार गर्ने कार्यक्रम बनाएको छ । जिल्लाको दमेक, दुदिलाभाटी, विहु, राङखानी र मालिकामा अलैची खेती गरिदै छभने नारायणस्थानको कैयामा १० हेक्टर क्षेत्रफलमा धानको पकेट क्षेत्र बनाएर धान उत्पादनका लागि किसानलाई अनुदान दिइएको छ । सुन्तला खेतीका लागि दमेक, सिसाखानी, रिघा, सर्कुवालाई पकेट क्षेत्र मानेर अनुदान सहयोगमै उत्पादन बढाइने कार्यक्रम तय गरिएको छ ।
Previous Articleतनाव व्यवस्थापन तालिम सकियो
Next Article ‘बालबालिका माथिको हिंसा अन्त्य गरौं’