बागलुङ, ५ असार-राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले ग्रामिण क्षेत्रको आर्थिक उन्नतीका लागि सहकारीलाई प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । गरिबी निवारण कोष काठमाडौंको सहयोगमा संगम म्याग्दीले अन्नपूर्ण गाउँपालिका वडा नं. ७ घराम्दीमा आयोजना गरेको २ दिने पूर्व सहकारी शिक्षा तालिमको उद्घाटनका अवसरमा बोल्दै जिसीले यस्तो बताएका हुन् । गरिबी निवारणका लागि स्थानीय स्रोत र साधनको अधिकतम परिचालन आवश्यक छ, त्यसका लागि ग्रामिण क्षेत्रको सबै भन्दा भरपर्दो माध्यम सहकारी नै भएको उनको भनाई छ । सहकारीहरुले जनतालाई उ्रत्पादन बढाउन, उत्पादित वस्तुको प्रयोग र विक्री वितरण गर्न तथा आयआर्जन गरी वचत गर्न सिकाउने भएकाले सहकारीलाई प्रवद्र्धन गर्नु पर्नेमा जिसीको जोड थियो । सहकारीका नाममा हुने सबै खाले गलत क्रियाकलापलाई रोकेर सहकारीमार्फत विपन्न समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरण गर्ने योजना केन्द्र तथा स्थानीय सरकारले बनाउनु पर्ने उनको सुझाव छ । कार्यक्रममा क्रियाशिल सामुदायिक संस्था घराम्दीका अध्यक्ष मनु गर्वुजा पुन, तारा मण्डल सामुदायिक संस्थाका अध्यक्ष तालमाया गर्वुजा, प्यारी बराही सामुदायिक संस्थाका अध्यक्ष सुकबहादुर गर्वुजा लगायतले गाउको विकासका लागि सहकारी उपयुक्त माध्यम भएकाले सहकारी संस्था स्थापनामा सहयोग गर्न आग्रह गरेका थिए । साविक हिस्तान गाविस वडा नं. १ र २ को घराम्दी गाउँमा रहेका १ सय परिवारका लागि छिटै सहकारी संस्था स्थापना गरेर स्थानीयको आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ पूर्वसहकारी शिक्षा तालिम आयोजना गरिएको संगम म्याग्दीका सामाजिक परिचालक सुशिला गर्वुजाले जानकारी दिइन् । तालिममा सहकारीको परिचय, समुदायको विकासका लागि सहकारीको महत्व, सहकारी दर्ता र सञ्चालन प्रक्रिया लगायत सहकारी मार्फत गर्न सकिने व्यवसायिक कामका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
Previous Article२०७४ असार ५ गते सोमबारको राशिफल
Next Article तनाव व्यवस्थापन तालिम सकियो