बागलुङ, २ असार – हालै बागलुङमा आएका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शान्ति सुरक्षा, सुशासन र पारदर्शीतालाई मुल मन्त्र बनाउने बताएका छन् । धौलागिरी संचार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै तिवारीले प्रजिअको मुख्य जिम्मेवारी भनेकै आम जनतालाई सुशासनको अनुभूति दिने हो । शान्ति सुरक्षा मार्फत नागरिकले स्वतन्त्र पूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्नु आफ्नो कर्तव्य भएको प्रजिअले बताए ।
नागरिकका लागि सेवा प्रवाहलाई चुस्त बनाउने अभियानमा तत्कालै काम थाल्ने उनले बताए । स्थानीय तहको निर्वाचन भैसकेकोले वडा तहबाट हुने सबै प्रकारका कामहरु सहज रुपमा अगाडि बढ्ने वातावरण बनाउनका लागि भएका कामको प्रभावकारिता बारे पनि अनुगमन गर्ने उनले बताए । उनले गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखामा बसेर काम गरेको अनुभवको आधारमा जिल्लामा भैरहेका लागू औषधको प्रयोग, ओसारपसार र दुव्र्यसन विरुद्ध अभियान संचालन गर्नेमा उनले प्रतिवद्धता जनाए । ‘मन्त्रालयमा बस्दाको अनुभवले पनि यहाँ मैले केही काम गर्नेछु’ उनले भने, ‘यो अभियानका लागि सबै क्षेत्रको साथ र सहयोग आवस्यक पर्छ ।’ अहिले सम्मका काम कारवाही र प्रगतीको अध्ययन पछि सबै काम थाल्ने उनले बताएका थिए ।
केही साता देखि लागू औषध प्रयोगकर्ता पक्राउ परेको, अवैध औषधिहरु बरामद भएका लगायतको घटनालाई सुक्ष्म ढंगले अनुसन्धान गरेर अगाडि बढ्ने समेत उनले धारणा राखेका थिए । यातायात क्षेत्रमा बढीरहेको अघोसित सिण्डीकेट र सडकको स्तरउन्नती भएको बर्षौ वित्दा पनि भाडादर नघटेकोमा पनि उनले चासो व्यक्त गरेका थिए । उनले भाडादर समायोजन र एकरुपता तथा नियमित सवारी संचालन लगायतको बिषयमा छलफल गर्नका लागि यातायात व्यवस्था कार्यालय सँग छलफल र अन्तरक्रिया थाल्नका लागि बैठक डाकिएको पनि उनले स्पष्ट पारेका थिए ।
क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सदस्य प्रदिप पन्तको संचालन र कोपिला कंडेलको धन्ववाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । तिवारीको भनाई बारे पत्रकारहरुले केही जिज्ञाशा पनि राखेका थिए । क्लबले केही बर्ष अघि पनि यस्ता क्रियाकलाप गरेको थियो । राजनीतिक, सामाजिक, आर्थिक र अन्य क्षेत्रका क्रियाकलापलाई साक्षातकार कार्यक्रम मार्फत उजागर गर्न फेरी शुरु भएको राजभण्डारीले बताए ।