पर्वत, ३१ जेठ – डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक पर्वतमा स्वीमिङ पुल सहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ । पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेशा व्यवसाय गरी बस्दै आएका तीन जना युवाहरुको सक्रियतामा कुश्मा नगरपालिका–४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो । पछिल्लो समयमा युवाहरु स्वरोजगार हुन नसकेपछि बैदेशिक रोजगारीलाई प्राथमिकता दिइरहेका बेला पर्वतका तीन युवाहरुले डेढ करोड लगानी गरेर रिसोर्ट निर्माण गरेका हुन् । ब्लु एञ्जल नाम दिएर निर्माण गरिएको उक्त रिसोर्टमा केही भौतिक संरचना र टायल विछ्याउने काम मात्रै बाँकी रहेको छ । असारको दोश्रो साता सम्पूर्ण काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक आलोक श्रेष्ठले जानकारी दिए । धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्ला मध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुल सहितको रिसोर्ट यो नै पहिलो हो । रिसोर्ट सञ्चालनका लागि श्रेष्ठ सँगै राजु शर्मा र विष्णुराज पुरीले लगानी गरेका छन् । यी तीनै जना युवा विगत केही बर्षअघि बैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरिया लगायतका स्थानमा बसेर फर्किसकेका हुन् । रिसोर्ट सञ्चालनका लागि करिव १५ रोपनी जग्गा १५ बर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ७ फिट गहिराई, ७३ फिट लम्बाई र ३२ फिट चौडाई रहेको स्वीमिङ पुलसँगै बाल उद्यान, चाइल्ड स्वीमिङ पुल समेत निर्माण गरिएको छ । पोखरा बागलुङ राजमार्ग नजिकै पर्ने उक्त रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तिर्थयात्रीहरु सँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिए । मुक्तिनाथ पुग्ने भारतीय तथा स्वदेशी धर्मावलम्बीहरुका लागि पर्वत ट्रान्जिट बनोस् भन्ने मुख्य ध्येयले रिसोर्ट निर्माण गरिएको शर्माले बताए । गर्मी यामका लागि रिसोर्टबाट करिव ४ सय मिटर टाढा रहेको दुलेपानी मुहानबाट पानीको प्रबन्ध गरिएको छभने जाडो मौसममा तातो पानीको समेत छुट्टै पोखरी निर्माण गरिने शर्माले बताए । पछिल्लो समयमा पर्वतमा समेत विभिन्न पर्यटकीय गन्तब्यहरु जस्तै यान्त्रिक पुल, नेपालकै अग्ला ३ वटा झोलुङगे पुल, बञ्जिजम्प लगायतका स्थलहरु रहेको र थप आकर्षण र त्यहाँ आउने पर्यटकहरुलाई अत्याधुनिक सेवा दिन रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सञ्चालक विष्णुराज पुरीले बताए ।
Previous Article२०७४ जेठ ३१ गते बुधबारको राशिफल
Next Article पुर्वाधार निर्माणमा चासो देउ