ठेकेदार कम्पनीको लार्पवाही र तिनीहरुलाई लगाम लगाउने सरकारी निकायले बेवास्ता गर्दा बागलुङमा निर्माधिन विकासका पुर्वाधारहरु तोकिएको समयमा नसकिएका थुप्रै उदाहरण छन् । ठेकेदार कम्पनीले बेवास्ता गर्दा कतै पुर्वाधारका काम अलपत्र बनेका छन्भने कतै ठेकेदार भागेर पुर्वाधार निर्माण नबन्दै जीर्ण बनेका छन् । तर, सरकारी निकायले त्यस्ता ठेकेदार कम्पनीलाई कार्वाही गर्न नसक्दा ठेकेदारको मनपरीतन्त्र हाबी छ । विकास पुर्वाधार निर्माण समयमै नबन्दा जिल्लाको विकासमा समेत फड्को मार्न सकिएको छैन । यस्तै ठेकेदारको बेवास्ताका कारण जिल्लाको जैमिनी नगरपालिका वडा न. १ ठेऊलेखोलामा निर्माणाधिन २० मिटरको पुल ३ वर्ष बितिसक्दा पनि पूरा हन सकेको छैन । साविकको जिल्ला विकास समितिको कार्यालय बागलुङको आर्थिक सहयोग रहेको पुल निर्माण कार्यको लागि २०७१ साल असार २५ गते चितवनको एक ठेकेदार कम्पनी एमआरएन तथा अनेष्ट जेभिले सम्झौता गरेको थियो ।
१ करोड ९९ लाख ५६ हजार ५ सय ९८ रुपैयाँमा २०७२ साल माघ ३० गतेसम्म सक्ने गरि सम्झौता भएको कुश्मिसेरा सर्कुवा जोड्ने ठेउले खोला पुल ३ वर्ष बितिसक्दा समेत पुल निर्माण कार्य नसकिदा वर्षा याममा सवारी साधन चलाउन असहज हुने निश्चित भएको छ । जिल्ला हरेक गाउँ अहिले सडक संजालसंग जोडिएका छन् । ती गाउँमा यातायातका साधनहरु सहज रुपमा संचालन गर्नको लागि ठाउँ–ठाउँमा पुल निर्माणको काम पनि भएका छन् । तर, तोकिएको समय पुल निर्माण जस्ता संवेदनशिल काम नसकिदा गाउँका जनताले सास्ती खेप्नु परेको छ । ठेउले खोला पुल निर्माणको लागि पटकपटक म्याद थप हुँदा समेत काम नसक्ने ठेकेदार कम्पनीप्रति सरकारी निकायले कुनै पनि कानुनी कार्वाही गर्न सकेको छैन । समयमै पुल निर्माणका लागि सम्बन्धित निकायले चासो देखाएको भए निर्धारित समयमा सकिने थियो । विकासका लागि बजेट निकासा गर्ने तर निर्माण कार्यको अनुगमन नगर्दा जिल्लामा अधिकांश पुर्वाधार निर्माणका कार्य समयसिमामा सम्पन्न हुन सकेका छैनन् ।
२० मिटर पुल बनाउन ३–३ वर्ष लगाउनुले विकासे काम गर्ने संस्थाहरुको नियतनै गलत भएको कारण कामले गति लिन नसकेको हो । समयमै उक्त पुल नबन्दा दक्षिणको अन्य विकास निर्माणको कार्यलाई समेत प्रभावित बनाएको छ । एउटा पुर्वाधार निर्माण कार्य समयमै नसकिदा अन्य विकासका कामलाई पनि अवरोध सिर्जना गर्ने भएको हुँदा त्यस्ता संवेदनशिल विषयमा विकासे संस्थाले गंभीर चासो लिन जरुरी छ । समयमै पुल निर्माण पूरा हुन नसक्दा जैमिनी नगरपालिकाको सर्कुवा, बिनामारे, अर्जेवा, जैदि, राङखानी बरेङ लगायतका ठाऊँ सम्मको यातायात सेवा वर्षामा प्रभावित हुने निश्चित छ । समयमै काम गर्न नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने, काम गर्न आनाकानी गर्नेलाई सम्बन्धित निकायले कार्वाही गर्न नसक्दा यस्तो समस्या सिर्जना भएको हो । त्यसैले विकासमा बाधक पु¥याउने ठेकेदार कम्पनीलाई कार्वाही गर्न पछि हट्नु हुँदैन ।
Previous Articleधौलागिरीमा नै पहिलोपटक स्वीमिङपुल सहितको रिसोर्ट बन्दै
Next Article सरकारले फकाउँदै, राजपाले गलाउँदै