बागलुङ, ३० जेठ – स्थानीय निकायको गठन पछि जिल्लाको विभिन्न ग्रामिण बस्तिका जग्गाले मूल्य पाउन थालेका छन् । सेवा सुविधा गाउँ केन्द्रित हुने भएपनि नगरपालिका र गाउँपालिका छेउछाउका जग्गाको मूल्य समेत वृद्धि भएको हो । नगरपालिकाको केन्द्र मझुवाफाँट भएपछि गल्कोट नगरपालिकामा घडेरी खरिद गर्नेको संख्यामा बृद्धि भएको स्थानीय बालकृष्ण सुवेदीले जानकारी दिए । गल्कोट भेगको सबैभन्दा ठुलो गलकोट नगरपालिका वडा नम्बर ६ को मजुवा फांटमा नगरपालिकाको केन्द्र भएका कारण जग्गाको कारोबार बढ्दो क्रममा रहेको छ । भुकम्प, बाढिपहिरो लगायतबाट मझुवा फाट सुरक्षित भएको भन्दै घडेरी खरिद गरि तिब्र रुपमा घर बनाउने कार्य चलिरहेको घरजग्गा ब्याबसायी हर्कबहादुर पाण्डेले बताए । मजुवामा घडेरी किन्नेको आकर्षण पहिला देखिनै भएपनी नगरपालिका केन्द्र भएपछि मूल्य पनी बढेको र आकर्षण पनि बढेको पाण्डेले बताए । सो क्षेत्रमा बर्षेनी २० देखि २५ नयाँ घरहरु निर्माण भएकोमा सो संख्या अब बढने पाण्डेको भनाई छ । नगरपालिकाको केन्द्र र गौदीखोलामा मोटरएवल पुल निर्माण हुने क्रम सुरु भएपछि उक्त ठाउँमा जग्गा धनीहरुले घडेरीहरुको मुख्य अझै बढ्न सक्ने भन्दै प्रतिक्षा गरेका छन । त्यस्तै पछि घडेरीको मुख्य बढ्न सक्ने भन्दै कतिपयले भने खरिद गर्न थालेका छन । १ मुरी धान फल्ने खेतलाई लाखौ रूपया पर्ने भएपछि खेतधनीहरु पनि प्लटिङ गरेर जग्गा बेच्न थालेका छन् । ५ र ७ बर्ष अघिसम्म १ मुरी धान फल्ने खेतको मूल्य ६० र ७० हजार मात्रै रहेपनि अहिले १ हात जमीनको मूल्य ३ लाख ५० हजारदेखि माथि पर्ने गरेको स्थानीय बताउँछन । यस क्षेत्रमा बर्षेनी ६० र ७० ओटा घडेरीको कारोबार हुने गरेको छ । गलकोट क्षेत्रबाट जापान, अमेरिका, कोरिया लगायत का मुलुकमा पुगेको र उनीहरुले कमाएकोे रकम यतिबेला घर जग्गामा नै लगानी गर्ने क्रम बढेको छ । पछिल्लो समय मजुवा क्षेत्रमा हटिया, मल्म, हरिचौर, नरेठाँटी, हिल, अर्गल र ताराखोलाका नागरिकहरु समेत घडेरीमा लगानी गरिरहेका छन् । बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन । सो नगर र गाउँपालिका आसपासमा पनि जग्गाको मूल्य वृद्धि हुँदै गएको काठेखोला गाउँपालिका–२ का खिम कार्कीले जानकारी दिए ।