बागलुङ, ३० जेठ – जिल्ला लिग फुटबलको उपाधिको लागि चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र फ्युचर स्पोर्टस् क्लब भिड्ने भएका छन् । गत मंगलबारदेखि बागलुङ बजारमा जारी जिल्ला लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा सोमबार रुद्रेपिपल युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै फ्युचर फाइनलमा प्रवेश गरेको हो । आईतबार फ्युचर स्पोर्टस् क्लबले पहिलो हाफमा २ गोलको अग्रता दिएपछि वर्षाको कारण अवरुद्ध भएको खेल सोमबार दोस्रो हाफदेखि खेलाइएको थियो । दोस्रो हाफमा पनि फ्युचर हाबी भएको खेलको ३२ मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गरे । फ्युचरको जितको लागि आईतबारको खेलमा प्रमल थापाले २ गोल गरेका थिए । फ्यचर समुह ‘ख’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । आईतबार भएको पहिलो सेमिफाइनल खेलबाट चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबले रसआवर फुटसल बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले समान २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । फाइनल खेल मंगलबार दिउँसो बाङ्गेचौर खेल मैदानमा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए । फाइनल खेल सोमबार नै गरिने भनिएतापनि प्राविधिक कारणले खेल सर्न पुगेको महासचिव राजभण्डारीले जानकारी दिए ।
Previous Articleगाउँका जग्गाको मूल्य पाउन थाले
Next Article ३० जेठ २०७४, ढोरपाटन दैनिक