बागलुङ, २८ जेठ – निरयघाटलाई वृद्धाश्रमको रुपमा मात्र चिनिरहनु भएको छ भने अव सबैले सोच बदल्नुपर्ने समय आएको छ । कालीगण्डकी नदी किनारमा रहेको र वृद्धाश्रम रहेको स्थान भनेर चिनिएको निरयघाटमा ३ जना मिलेर कृषि व्यवसायको गन्तव्य बनाएका छन् । मेहेनत गरेमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन उनीहरु लागि परेका छन् । लेखानी घर भई सदरमुकाम बस्दै आएका लक्ष्मणबहादुर ुन, तारासिंह पुन र भकुण्डेका बसन्त थापाले संयुक्त रुपमा माछा पालन, कृषि फसल र कुखुरा पालन समेत गरेका हुन् । वार्षिक ३ लाख ५० हजार रुपैयाँ भाडा तिर्नेगरी उनीहरुले व्यवसाय थालेका हुन् । अहिले उनीहरुको ७ रोपनीको एक र साँढे तीन रोपनीमा बनेको दुइवटा पानीका पोखरी छन् । ती पोखरीमा माछा पालन शुरु भैसकेको छ । अहिले ती पोखरीमा एक एक केजीका माछा तयार भैसकेका छन् भने अझै थप्ने योजना पनि उनीहरुको छ । पहिलो चरणमा उनीहरुले १७ हजार भुरा छाडेर पाल्न शुरु गरेको बताए । ‘केही गरौं भन्ने भावनाले काम थालेका हौं, हेरौं कत्तिको सफलता पाईन्छ’ लक्ष्मण पुनले भने, ‘बर्षको १० लाख कमाउन सकिएमा मात्र लगानी उठाएर केही फाईदा गर्न सकिएला ।’ पहिलो बर्षको साँढे तीनलाख जग्गा भाडा, लगानी समेत गर्दा १० लाख रुपैयाँ भन्दा धेरै खर्च भैसकेको पनि उनले बताए । उनीहरुले प्लाष्टिकका पोखरीमा हाँस पनि पालेका छन् । पहिलो चरणमा सफल हुने नहुने अनुमान गर्नका लागि ५० वटा हाँस पालेर हेरेकोमा राम्रो देखिएकोले कम्तिमा ४ सय वटा पु¥याउने लक्ष राखेका छन् । मलका लागि कुखुरा पनि पालेका उनीहरुले तरकारीबारीको घाँसको सदुपयोगका लागि एक दुइवटा भैसी पालेमा दूधको पनि व्यवस्था हुने सोचाइ रहेको उनले बताए । विषेशगरी यो क्षेत्रमा राम्रो उत्पादन दिने परिक्षण गरेर कमन क्राप र सिल्भर क्राप जातका माछा पालेका छन् । यो क्षेत्रको मौषम अनुसार उक्त माछा उचित भएकोले पाल्न सल्लाह दिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत बिप्लब अधिकारीले बताए । उक्त क्षेत्रमा अन्य कृषि फसलका लागि पनि कृषिले प्राविधिक सहयोग गर्ने उनको भनाई छ । किसानले भने गाउँमा गरेको कामको अनुभव र बागलुङ लगायतका बजारको मागको आधारमा उत्पादन बढाएर जाने बताए । साथै प्लाष्टिक टनेलमा लगाईने गोलभेडाले बर्षातमा पनि राम्रो उत्पादन दिने भएकोले तराई र भारतका विभिन्न शहर सम्म पनि निर्यात गर्न सकिने भएपछि उनीहरुले कृषि फसलको उत्पादनमा जोड दिएको बताए । बेमौषमी तरकारी अन्र्तगत अहिले पनि उनीहरुको बारीमा घिरांैला, करेला र गोलभेडा मनग्ये फलेको छ । पहिलो बर्ष भएकोले सोचेजति सफलता पाउनेमा उनीहरु आँफै ढुक्क छैनन् । बरु यो बर्षको सिकाईबाट आगामी बर्ष देखि दोब्बर उत्पादन र नाफा कमाउने योजना बनाउन उनीहरु व्यस्त छन् । काम छैन भनेर बस्ने तथा शहरी क्षेत्रमा झरेपछि गाउँघर र कृषि पेशालाई चटक्कै विर्सनेहरुलाई उनीहरुले थालेको पेशाले प्रेरणा मिल्ने देखिन्छ । उनीहरु आँफै पनि ढुक्क भएर भन्दा पनि सन्देश दिने र श्रममा निरन्तर लागि रहनका लागि काम थालेको बताएका छन् ।
Previous Articleफ्युचर र रसआवर सेमिफाइनलमा
Next Article २०७४ जेठ २९ गते सोमबारको राशिफल