बागलुङ, २८ जेठ – फ्युचर स्पोर्टस् क्लब र रस आवर फुटसल बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समुह ‘ख’बाट फ्युचर स्पोर्टस् क्लब विजेता र रस आवर फुटसल उपविजेताबन्दै अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शनिबार भएको पहिलो खेलमा फ्युचर स्पोर्टस् क्लब र रस आवर फुटसल बागलुङले गोलरहित बराबरी खेलेपछि दुवै टोली सेमिफाइनल पुग्न सफल भएका हुन । समुह चरणको खेलमा ३ खेलबाट फ्युचर स्पोर्टस् क्लबले ७ र रस आवर फुटसलले ५ अंक प्राप्त गर्दै अन्तिम चरणमा पुगेका हुन । शनिबार नै भएको समुह ‘ख’को मुलपानी खेलकुद विकास समितिले पावर फिटनेस क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । उक्त खेलमा भएका दुवै गोल दोस्रो हापमा भएका थिए । आज भएको खेलमा पावर फिटनेस क्लबलाई सेमिफाइनलमा प्रवेश गर्नको लागि जितको आवश्यकता भएतापनि खेल हार्न पुग्दा अन्तिम चरणमा पुग्न सकेन । अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । यस्तै प्रतियोगिता अन्तरगत आईतबार पहिलो सेमिफाइनल खेल समुह ‘क’को विजेता चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब विरुद्ध समुह ‘ख’को उपविजेता रस आवर फुटसल र दोस्रो खेल समुह ‘ख’को विजेता फ्युचर स्पोर्टस् क्लब विरुद्ध समुह ‘क’को उपविजेता रुद्रेपिपल युवा क्लब विच हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
Previous Articleबालबालिकालाई शैक्षिक सामाग्री
Next Article निरयघाटमा माछा, तरकारी र हाँस पालन