एकराज पाठक
विसं २०५४ मा म नेपाल वाणी साप्ताहिक पत्रिकामा काम गर्थेँ । त्यस पत्रिकाका सम्पादक पुरुषोत्तम दाहाललाई बाग्लुङका शिक्षासेवी हेमराज पौडेलको बारेमा थाहा रहेछ र उहाँले नेपालको शिक्षाको क्षेत्रमा गर्नुभएको काममा केन्द्रित रहेर एक अन्तरवार्ता लिनु भन्नुभयो र मैले उहाँलाई भेटेँ । तर हेमराज गुरुले अन्तरवार्ता दिन मान्नुभएन । उहाँले भन्नुभएको मलाई अझै पनि ताजै छ– बाबु आफूले गरेको कामको बारेमा आफैले प्रचार गर्नु राम्रो होइन, त्यसैले अहिले अन्तरवार्ता नगरौँ । अनि फसाद पर्यो मलाई । त्यही पनि मैले उहाँका ती पुराना दिनका बारेमा कुराकानी गरेँ र उहाँको जिवनको भौगाई र अनुभवसँग सम्बन्धित रहेर एउटा लेख बनाएँ र त्यो छापियो । अहिले सरकारले केन्द्रबाट बजेट छुट्याएर एउटा स्कुल बनायो भने कति धेरै प्रचार गर्छ तर जिल्लामा सयौँ विद्यालय निर्माण गरेका व्यक्तिले पनि यसरी बिना प्रचार काम गरेको देख्दा म निकै प्रभावित भएको थिएँ । केही बर्षअघि उहाँको बारेमा ग्रन्थ प्रकाशन गर्ने क्रममा पनि त्यसका सम्पादक नेपालका एकजना सुप्रसिद्ध साहित्यकार काजी रोशनसँग मैले यही जिज्ञासा राखेको थिएँ कि कसरी मान्नुभयो हेमराज गुरुले आफ्नै बारेको ग्रन्थको प्रकाशन । काजी रोशनले अनुभव यसरी सुनाउनुभयो– मान्नुभएको त थिएन तर कुनै पनि व्यक्तिको मरेपछि यस्तो वा उस्तो हुनुहुन्थ्यो भनेर बयान गर्ने हाम्रो संस्कार राम्रो होइन बरु जिवीतै छँदा गरिएका उसका कामका प्रचारले उसलाई थप प्रेरणा मिल्नसक्छ भनेर मैले निकै नै कन्भिन्स् गराएको थिएँ । बाग्लुङको यस्तो शिक्षाको ज्योति गत मङ्गलबार राति अस्त भएको छ । तर यी सत्पुरुषको भौतिक शरीररले हाम्रो भौतिक उपस्थितिबाट बिदा लिए पनि हाम्रा अन्तरहृदयभित्र उहाँले जगाइदिएर छोडेको ज्योति निभेको छैन, कदापि निभ्दैन । उहाँ हामी सबैका पे्ररणाका स्रोत हुनुहुन्थ्यो र रहनुहुनेछ ।
करिब आठबर्र्षअघि हेमराज गुरुको बारेमा पहिलो ग्रन्थ प्रकाशन गर्ने सिलसिलामा उहाँका पुराना मित्र तथा नेपालका एकजना सुप्रशिद्ध मानवशास्त्री पूर्णप्रकाश नेपाल ‘यात्री’ समक्ष पुगेको थिएँ । काठमाडौंको कपनमा रहेको उहाँको निवासमा उहाँले २०१० सालको बाग्लुङ् बसाइको स्मरण गर्दैगर्दा मलाई एकादेशको कथाजस्तै लागेको थियो । देशका यी मुर्धन्य व्यक्तित्वले मेरो जन्मस्थलको र त्यो पनि कम्तीमा ५० बर्षअघिको भोगाई कोट्याएको सुन्दा मेरो जिवनको त्यो भन्दा अर्काे रोमान्चक कुरा केही थिएन । मेरा लागि भने उहाँको मुखबाट यो इतिहासलाई जिवन्त रुपमा पस्किएको सुन्न पाएको क्षण कम्ती महत्वपूर्ण थिएन । विसं २०१० मा बाग्लुङ्को पैयुँपाटा जानुभएको रहेछ र त्यसपछिका कयौँ वर्ष उहाँले त्यहाँ शिक्षासेवीका रुपमा बिताउनु भएको रहेछ । त्यस समयको बलेवालाई अहिलेको रुपमा ल्याउन हेमराज पौडेलका सत्प्रयासहरुको बेलिबिस्तार लगाउनुभयो उहाँले । त्यस समयमा हेमराज पौडेलले पैयुँपाटामा विद्यालय स्थापना गरेको र त्यसको सञ्चालनका लागि पौडेल, उहाँ र डिल्लीप्रसाद पौडेल (अमलाचौर) ले गरेका संघर्षका कथाहरुलाई उहाँले अक्षरस स्मरण गर्नुभयो । भदौ महिनामा किसानकै बारीमा पुगेर मकै उठाउने र पछि हिउँदमा बेचेर शिक्षकलाई तलब खुवाएको, शिक्षक नपाइदा हप्तौँ लगाएर ल्याइएको, देउसी भैलो गरी चन्दा उठाएर विद्यालय स्थापना गर्नेमात्र नभई शिक्षकलाई तलब दिने गरेको जस्ता प्रसङ्गहरू उहाँले अत्यन्तै रोमाञ्चक ढङ्गमा बताउनुभयो ।
अझ त्यति मात्र कहाँ हो र ? विद्यालयमा छोराछोरी नपठाइदिँदा घर घरमा गई शिक्षाको महत्व बुझाउने र पढ्नका लागि छोराछोरी विद्यालय पठाइदिनु भनेर बिन्तीभाउ गर्नेजस्ता काममा पनि उहाँहरू लाग्नु भएको रहेछ । समाज अहिलेको जस्तो थिएन । छोरीलाई स्कुल त घरायसी कामबाट बाहिर कतै जान नदिने बन्द समाजमा छोरीलाई स्कुल पठाउन आमाबुबालाई घरघरमा गई बिन्ती भाउ गरेर तथा पछि छोरीहरूलाई केही भएमा आफूहरू जिम्मेवार हुने कसम खाँदै छात्राहरू बटुल्ने गरेका एकादेशको जस्तो लाग्ने सत्य कथा उहाँले सुनाउनु भयो । त्यस क्रममा हेमराज गुरुको अग्रसरता र प्रतिबद्धताको बखान उहाँले बडो रोमाञ्चक रुपमा गर्नुभयो । पहिलो कुरा विद्यालय स्थापना गर्नै गाह्रो र विद्यालय स्थापना भए पनि त्यसको आर्थिक व्यवस्थाको जटिलता, त्यस पश्चात शिक्षक पाउनका लागि हुने समस्या त झन छदैँछ । यी यस्ता अनगिन्ती समस्या हुँदाहुँदै पनि एउटा÷दुईवटामात्र नभई जिल्लाका कयौँस्थानमा विद्यालय स्थापना गर्ने काममा हेमराज गुरुले पु¥याउनु भएको योगदान बाग्लुङ जिल्लामा मात्र नभएर देशको इतिहासमा नै अविस्मणीय भएर रहने छ । उहाँले स्थापना गर्नुभएका सयभन्दा बढी विद्यालय, बेदविद्याश्रम, आफ्नो जीवनमा शिक्षाको ज्योति सल्काएका सयौँ व्यक्तिहरू हालसम्ममा नेपालको सामाजिक जीवनका विभिन्न क्षेत्र र ओहदामा रहेर देशमा योगदान पु¥याईरहेका छन् । त्यसैले मैले उहाँको यो क्षेत्रीय योगदानलाई राष्ट्रिय रुपमा जोड्ने प्रयत्न गरेको हुँ ।
यस्ता समाजसेवी र शिक्षाको ज्योति फैलाउनेजस्ता लब्ध प्रतिष्ठित व्यक्तित्वका बारेमा दुई/चारसय शब्दमा लेख्न खोज्नु कुनै पर्याप्त कार्य भने होइन, सानो प्रयास मात्र हो । त्यस समय कुनै पनि व्यक्ति आफै शिक्षित हुनु वा विद्यालय धाउनु नै दुर्लभ कार्य थियो । तर हेमराज पौडेलजस्ता व्यक्तिले अरुलाई शिक्षा लिनुपर्ने ज्ञान बाँड्दै हिँड्नुमात्र भएन विद्यालयकै स्थापना गर्ने कामलाई अभियानको रुपमा बढाउनुभयो । त्यसैले त्यस्ता सत्कर्महरूप्रति केही शब्द खर्चिनु भनेको सूर्यलाई अर्घ चढाएजस्तो मात्र हो । पृथ्वीबाट चढाएको केही थोपा अर्घ सूर्य भगवानसम्म पुग्दैन । हामीले लाखौँ, करोडौँ कोष टाढाबाटै सूर्यलाई अर्घ दिइरहेका हुन्छौँ । तर त्यस अर्घप्रति असिम श्रद्धा राख्छौँ र सूर्य भगवानले त्यति टाढाबाटै पाउनुभयो भन्ने पूर्ण विश्वास राख्दछौँ । वास्तवमा अहिलेको पुस्ताले विगतका ती इतिहास पत्याउनै मुस्किल मान्ने गर्छ । किनभने अहिले उसका अगाडि पाँचतारे होटल जस्ता बोर्डिङ स्कुल छन् । स्वदेशी एवम् विदेशी शिक्षक छन् । गाउँ घरमै क्याम्पसहरू छन् भने सहरका गल्ली गल्लीमै बोर्डिङस्कुल छन् । त्यसैले अहिलेको पुस्ताले हेमराज गुरुले शिक्षाका लागि गर्नुभएका सङ्घर्षका कथाहरूलाई एकादेशको कथाका रुपमा लिइदिन सक्छ । त्यसैले ती सङ्घर्षका कथाहरूलाई पनि पुस्तान्तर गर्दै अहिले र अगामी पुस्तालाई समेत जानकारी दिने उद्देश्यले यो ग्रन्थको प्रकाशन हुनु एक गौरवपूर्ण इतिहास हुनेछ ।
उहाँलाई बाग्लुङ जिल्लाकै शिक्षाको विकासको जग बसाल्ने जगको ढुङ्गोका रुपमा स्मरण गर्ने गर्दछन् । जगको ढुङ्गो भनेको कुनै पनि भवन, घर वा अन्य भौतिक निर्माणका लागि अति महत्वपूर्ण आधार हो । तर त्यो लुकेर रहेको हुन्छ र बाहिरी आँखाले त्यसको पछिल्लो स्वरुप र संरचना नै देखिँदैन । बाहिरी आँखाले त त्यस भवनका झ््याल, ढोका, कौशी अथवा भनौ रङ रोगन गरिएको सुन्दर बनोट मात्र देखिन्छ । जगको ढुङ्गो हेर्नलाई भित्री आँखा चाहिन्छ, मनको आँखा । बाहिर भवनको बनोट जति नै राम्रो रहे पनि त्यसको आधार अथवा पृष्ठभूमी भनेको जगको ढुङ्गोमा नै अडेको हुन्छ । त्यस भवनलाई अढ्याएर राख्न अथवा त्यसलाई आकार दिनका लागि जगको ढुङ्गोले कति भार बहन गर्नुपरिरहेको होला भन्ने कुराको हेक्का वा अनुमान बाहिर देखिने स्वरुपले दिँदैन । हेमराज गुरु बाग्लुङ जिल्लाको वर्तमान शिक्षाको प्रारुपका लागि जगको ढुङ्गो बनेर रहनुभएको छ । उहाँले नै जिल्लामा शिक्षाको जग बसाल्नुभयो । खोजिपसे जगसम्म पुग्दा उहाँ र उहाँहरुकै सो समयका साथीहरु नै हो जगका ढुंगाहरु । त्यसैले त्यस्ता व्यक्ति र आत्माहरुप्रति श्रद्धासुमन । उहाँले शिक्षामात्र नभएर जिल्लामा संस्कृतको विकास, वेदविद्याश्रमको स्थापना र सञ्चालन गर्नुभएको छ । बाटोघाटो, पुल पुलेसो, पाटीपौवाको निर्माण गर्नुभयो । उहाँ सामाजिक सुधारक र विकासप्रेमी हुनुहुन्थ्यो । विसं २००७ सालमा भएको हलो क्रान्तिको अग्रणी हुनुहुन्थ्यो उहाँ । साथै उहाँले जिल्लामा विसं २०१२ सालमा नै भोजको आयोजना गरेर दलित समुदायका नागरिकसँग सहभोज गरी समाजबाट छुवाछुतको अन्त्यको पनि घोषणा गर्नुभयो । जिवनको उत्तराद्र्धसम्म पनि शिक्षा, साहित्य, समाजसेवा र समाजको सुधारमा जुट्नुभएका हेमराज गुरुको भौतिक शरीरले हामीबाट बिदा लिएर गएपनि सबै बाग्लुङ्बासीको मन मुटुमा सदैव बास गर्नुहुने छ । विसं १९८९ को चैत्र महिना रामनवमीका दिन पिता पण्डित दयाराम उपाध्याय र माता इन्द्रकला उपाध्यायको काइलो छोराका रुपमा पैयुँपाटाको सातविसेमा जन्मिनुभएका श्री पौडेल जिल्लामा नै काईंलाबा भनेर पनि बढी चिनिनुभयो । यीनै सत्पुरुष ८६ बर्षको उमेरमा गत मङ्गलबार ब्रम्हलिन हुनुभयो । उहाँलाई सभक्ति हार्दिक श्रद्धाञ्जली र श्रद्धासुमन ।
Previous Articleहाजिर भए बागलुङका नयाँ प्रजिअ तिवारी
Next Article सहकारीद्वारा मृत्यु राहत रकम प्रदान