बागलुङ, २६ जेठ – आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषअन्तर्गत शेयर सदस्यका अभिभावकको निधनमा राहत रकम प्रदान गरिएको छ । संस्थाले शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा घरमै गएर श्रद्धाञ्जली अर्पण गर्नुका साथै राहत रकम प्रदान गर्दै आएको छ । शेयर सदस्य बागलुङ नगरपालिका–९ साविक तित्याङ गाविस–२ गैराफाँट निवासी सञ्चारकर्मी हस्तबहादुर खड्का (पवन) का ममतामयी आमा खीरमती खड्काको निधन भएको १२ औं दिनको पूण्यतिथिमा संस्थाका तर्फबाट घरमै गएर श्रद्धाञ्जली तथा राहत रकम प्रदान गरिएको हो । संस्थाका उपाध्यक्ष अञ्जु जि.सी, कोषाध्यक्ष अनन्तबहादुर खड्का लगायतले स्वर्गीय खीरमतीकी बुहारी धनकुमारी खड्कालाई ५ हजार मृतक राहत रकम प्रदान गरेका थिए । हरेक शेयर सदस्यबाट प्रत्येक दिन एक रुपैयाँ संकलन गरी संस्थाले दैवि प्रकोप तथा उद्धार राहतकोष स्थापना गरेको छ । उक्त कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र परिवारका सदस्यको निधनमा ५ हजार रुपैयाँ संस्थाले सहयोग गर्दै आएको संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिए । धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको आदर्श सञ्चार सहकारीमा १२ सय जना शेयर सदस्य, २ करोड ५० लाख शेयर, ७ करोड वचत र १० करोड ५० लाख लगानी रहेको सम्पादक जिसीले जानकारी दिए । श्रद्धाञ्जली कार्यक्रममा बागलुङ नगरपालिका–८ का नवनिर्वाचित वडा अध्यक्ष जीतबहादुर जि.सी. (राजन), वडा नं. ९ का वडा सदस्य रामबहादुर खड्का, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, नेकपा एमालेका क्षेत्रीय सदस्य शिव खड्का, नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बलबहादुर खड्का, युवा संघ सिगानाका अध्यक्ष दिनेश खड्का लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वर्गीय खीरमती खड्काको जीवनी र पारीवारिक अवस्थाका बारेमा संस्थाका कोषाध्यक्ष अनन्तबहादुर खड्काले जानकारी गराएका थिए । श्रद्धाञ्जली कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।