बागलुङ, २६ जेठ – जिल्ला लिग फुटबलको तेस्रो दिन बिहीबार रसआवर फुटसल, फ्युचर स्पोर्टस् क्लब र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब विजयी भएका छन् ।
जिल्लाको बाङ्गेचौर खेल मैदानमा भएको समुह बिअन्र्तगतको खेलमा रसआवर फुटसलले मुलपानी खेलकुद विकास समितिलाई २–१ गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफको १४ औं मिनेटमा गणेश थापाको गोलबाट अग्रता लिएको रसआवरले दोस्रो हाफको ६ मिनेटमा शंखर थापाले दोस्रो गोल गरेका थिए ।
मुलपानी खेलकुद विकास समितिको लागि दोस्रो हाफको २० औं मिनेटमा सचिन केसीले गोल गरेका थिए । जितसँगै रसआवरको दुई खेलबाट चार अंक भएको छभने मुलपानीले खाता खोल्न सकेको छैन ।
अर्को खेलमा फ्युचर स्पोर्टस् क्लबले पावर फिटनेस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै जितलाई निरन्तरता दिएको छ । फ्युचरका लागि खेलको पहिलो हाफको ५ औं मिनेटमै पुर्णबहादुर गुरुङले गरेको उत्कृष्ट गोल नै जितको आधार बन्यो ।
पहिलो हाफमा कमजोर प्रदर्शन गरेको पावर फिटनेसले दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेपनि गोल गर्न सकेन । जितसँगै फ्युचरले दुई खेलबाट ६ अंक बनाएको छभने पावर फिटनेस क्लबले दुई खेलबाट १ अंक जोडेको छ ।
यस्तै बिहीबार नै भएको अन्तिम खेलमा चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबले युनिक स्पोर्टस् क्लबमाथि सहज जित प्राप्त गरेको छ । चिल्ड्रेन लाईफले युनिक स्पोर्टस् क्लबलाई ८–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै चिल्ड्रेन लाईफले ३ खेलबाट ७ अंक प्राप्त गरेको छभने युनिक स्पोर्टस् क्लब ३ खेलमा पराजित हुँदै समुहबाट बाहिरीएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
जिल्ला लिग अन्तरगतमा आज समूह ‘क’को बागलुङ स्पोर्टस् क्लबविरुद्ध रुद्रेपिपल युवा क्लब, समुह ‘ख’ को फयुचर ब्राइटर स्पोर्टस् क्लबविरुद्ध रसआवर फुटसल प्राईभेट लिमिटेड र मुलपानी खेलकुद विकास समितिविरुद्ध पावर फिटनेस क्बलबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिएका छन् ।
Previous Articleयुवा तरबुजा खेतीमा आर्कषित
Next Article हाजिर भए बागलुङका नयाँ प्रजिअ तिवारी