बागलुङ, २५ जेठ-लागू पदार्थ ओसारपसारको आशंकामा चेकजाँच गर्ने क्रममा मंगलबार साँझ ट्याक्सीबाट झरेर भागेका एक युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । बानपा–१ स्थित मालढुंगामा ध १ ज ४१४ नम्बरको ट्याक्सीमा आएका काठेखोला–८ घर भई बानपा–३ देउराली चोक बस्ने १९ बर्षका सुनिल पुन बेपत्ता भएका हुन् । उनलाई पक्राउ गर्ने क्रममा भागेको प्रहरीको भनाई छ । तर उनी भागेपछि प्रहरीले भने ढुंगा प्रहार गरेर नदीमा हेलिन बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् । उनी केहीबेर नदीको बिचमा ढुंगामा देखिएको र केही समयपछि फेरी प्रहरी देखेपछि नदीमा पसेको आफन्त र स्थानीयले बताए । उनी बेपत्ता भएपछि आफन्तले बुधवार दिनभरी मालढुंगामा प्रर्दशन गरेर दोषीलाई कारवाही गर्नुपर्ने, पुनको खोजी गर्नुपर्ने माग राखेका थिए । प्रदर्शनका कारण बागलुङदेखि छुट्ने लामो तथा छोटो दुरीका सबै सवारी साधन प्रभावित भएका थिए । सवारी नचल्दा सयौंले सास्ती खेप्न बाध्य समेत भएका थिए । ट्याक्सीको चेकजाँच गर्ने क्रममा गियरको डण्डीनेर लुकाई छिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाईट्राजेपान ट्याब्लेट ३ थान बरामत गरेको प्रहरीले बतायो । ट्याक्सीमा सवार ३ जना मध्ये २८ वर्षिय दिपेन्द्रभरत कार्की, चालक हेटौडाका २४ बर्षिय भिमसेन लामालाई प्रहरीले पक्राउ गरेको छ ।