बागलुङ, २५ जेठ-जिल्लाको पत्रकारिताको विकासमा अब स्थानीय तहको भुमिकालाई अपरिहार्य र प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागतमा सहित आयोजना गरेको ‘पत्रकारिताको विकासमा स्थानीय तहको भुमिका’ बिषयक अन्तर संवाद कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । उनीहरुले सिहंदरबारको अधिकार स्थानीय तहमा आएको अवस्थामा राज्यको चौथो अगंको रुपमा स्वीकार गरिएको पत्रकारितालाई विकास र परिवर्तनको साझेदार बनाएर अघि बढ्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, उपप्रमुख लिला राना, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा लगायतले स्थानीय तहको सिमित स्रोत साधनमा काम शुरु गरिएको उल्लेख गर्दै पत्रकारितालाई थप व्यवसायिक र मर्यादित बनाउन सक्दो सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धुव्र गिरी, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा ‘पत्रकारिताको विकासमा स्थानीय तहको भुमिका’ बिषयको कार्यपत्र पत्रकार रामकृष्ण शर्माले प्रस्तुत गरेका थिए । सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, शाखा अध्यक्ष दिल शिरीष, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पूर्व अध्यक्ष रामबहादुर जिसी र सल्लाहकार कोपिला कंडेलले खादा र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा ‘अविरल’को सञ्चालनमा सम्पन्न भएको थियो ।