बागलुङ, २३ जेठ – काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापाले स्थानीय तहलाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा रुपान्तरित गर्नका लागि स्थानीय स्रोतको अधिकतम पहिचान र परिचालन गर्नु पर्नेमा जोड दिएका छन् । काठेखोला गाउँपालिका वडा नंं. ७ रेशका वडा अध्यक्ष तथा सदस्यहरुको सोमबार आयोजित पदभार ग्रहण तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । अरुको भर पर्ने, अरुले गरिदेला र हाम्रो विकास होला भन्ने सोचका कारण हामी नेपालीहरु आर्थिक तथा सामाजिक रुपमा पछि परेको भन्दै अध्यक्ष थापाले आफ्नो गाउँ ठाउँको विकास हामी आफै गर्ने हो भन्ने सोच विकास भएमा मात्रै रुपान्तरण संभव रहेको बताए । काठेखोलालाई समृद्धीतर्फ अगाडि लैजानका लागि सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ््ने प्रतिवद्धता व्यक्त गर्दै उनले विकासका लागि जनताको सहभागिता बढाउने अभियान सञ्चालन गर्ने योजनाबारे जानकारी गराए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले मुलुकको सार्वभौमसत्ता जोगाउन, सामाजिक जागरण तथा आर्थिक विकासका लागि नेकपा एमालेको विकल्प नभएको दाबी गरे । कार्यक्रममा नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, काँठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्री, कार्यकारी अधिकृत सीतादेवी न्यौपाने, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, पूर्व जिल्ला विकास समितिका सदस्य हरिबहादुर कार्की, काँठेखोला गाउँपालिकाका नायव सुव्वा चूर्णबहादुर कार्की, नेकपा एमाले रेशका अध्यक्ष कृष्णबहादुर कार्की, रेश नुन्थला माविका प्रधानाध्यापक ओमबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा काँठेखोला गाउँपालिका वडा नंं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले वडाको समग्र विकास लगायत सामाजिक रुपान्तरणको योजना बारेमा जानकारी गराएका थिए । कार्यक्रम काँठेखोला गाउँपालिका वडा नं. ७ का सचिव मनोज कार्कीको अध्यक्षता, सामाजिक परिचालक मिना कार्कीको स्वागत र रेश स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र लामाको सञ्चालनमा सम्पन्न भएको थियो । वडा अध्यक्ष प्रेमबहादुर जिसी, काँठेखोला गाउँ कार्यपालिकाका सदस्य चित्रकुमारी थापा शारदा, वडा सदस्यहरु रुपा किसान, कृष्णबहादुर थापा र मुक्तिराम थापालाई सो अवसरमा स्वागत तथा वधाई ज्ञापन गरिएको थियो । यसैबीच काँठेखोला गाउँपालिका वडा नंं. ७ रेशको पहिलो बैठकले गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई दैवीप्रकोप लगायत आपत विपतमा सहयोग गर्ने उदेश्यका साथ सामाजिक सुरक्षा तथा दैवीप्रकोप उद्धारकोष स्थापना गर्ने लगायतका निर्णय गरेको छ । बैठकले हरियाली अभियान अन्तरगत सो वडामा एक घर १० वटा विरुवा रोप्ने, सामाजिक सुरक्षा भत्ता वडाबटै वितरणका लागि पहलकमदी गर्ने, वडाका सबै जनाको वर्षमा एक पटक निशुल्क स्वास्थ्य परिक्षण गर्ने, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने लगायतका निर्णय गरेको अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । वैठकले रेशका सबै सरकारी कार्यालय र विद्यालयहरुमा निशुल्क वाईफाई सेवा विस्तार गर्ने समेत निर्णय गरेको छ ।