बागलुङ, २३ जेठ – जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । सोमबारदेखि सुरु गरिने भनिएको लिग एक दिन पछिबाट मात्र सुरु हुन लागेको हो । प्राविधिक कारणवश एक दिन पछिबाट सुरु गर्नु पर्ने भएको प्रतियोगिताका संयोजक टकबहादुर बोहेराले जानकारी दिए । ‘हामीले खेल सोमबारदेखिनै गर्ने भनेका थियौं’ संयोजक बोहेराले भने– ‘प्रतियोगितामा सहभागि हुने टिमहरुले सम्पूर्ण खेलाडीहरुको नामावली उपलब्ध नगराएकोले खेल सर्न पुगेको हो ।’ प्रतियोगितामा सहभागि हुने टिमहरुको नामावली आजनै प्राप्त हुने र बेलुकासम्म खेलको टाईसेट प्रकाशित गरि मंगलबारदेखि खेल संचालन गरिने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागित रहने महासचिव राजभण्डारीले बताए । लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । लिगमा सहभागि हुने टिमले ४ जना जिल्ला बाहिरका खेलाडी राख्न पाउने प्रावधान छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।