बागलुङ, २३ जेठ – प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निःशर्त संसदको अवरोध फिर्ता लिएको छ । साथै एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ । एमाले आफ्नो अडानबाट पछि हटेपछि मंगलबार संसदले नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको छ । आजको बैठकमा एमाले पनि प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा सहभागी हुने तर देउवाको विपक्षमा मतदान गर्ने एमाले नेता भीम रावलले बताएका छन् । एमालेले भरतपुरमा मतगणना सुचारू गर्न माग गर्दै संसदमा अवरोध सुरू गरेको थियो । एमालेको अवरोधका कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिको पत्र समेत सदनमा पेश हुन सकेन र सूचनामार्फत प्रधानमन्त्री चयनको प्रकिया सुरू भयो । एमालेले भने प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको तर्क गर्दै सदनको अवरोध कायमै राख्ने अडान दियो र प्रधानमन्त्रीमा उम्मेदवारी समेत दिएन । यतिसम्मकी एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंमले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भएको थाहै नभएको बताए । उसले भरतपुरमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा जाने र त्यहाँबाट फैसला आउने समय खोजेको थियो । सोमबार सर्वोच्चले तत्काल मतदानको प्रक्रिया अघि नबढाउन भनेपछि एमाले सदन खोज्न तयार भयो । लगतै सभामुखको पहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा संसद सुचारु गर्न एमालेले सहमति जनायो ।
प्रधानमन्त्रीको निर्वाचन आज
तीन दलवीच भएको सहमति अनुसार मंगलबार संसद बैठक सुचारु हुनेछ । बैठक प्रारम्भ भएपछि तीन दलका शीर्ष नेताहरुले सम्वोधन गर्नेछन् । लगतै सभामुख ओनसरी घर्तीले पहिलो चरणको बैठकमा राष्ट्रपति कार्यालयको पत्र लगायतका विषयहरुबारे सदनलाई जानकारी गराउने छिन् र पहिलो बैठक अन्त्य हुनेछ । आज नै बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ । प्रधानमन्त्रीका लागि संसद सचिवालयमा शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेका कारण एक जनाका लागि मात्रै भोटिङ हुनेछ । एक जनाको मात्रै उम्मेदवारी परेपनि भोटिङमा जानैपर्ने संवैधानिक एवं कानूनी प्रावधान छ । र, देउवाको पक्षमा प्रष्ट बहुमत पुगिसकेको छ ।
राप्रपाले शेरबहादुर देउवालाई भोट हाल्ने
यसैवीच राप्रपाले मंगलबार हुने प्रधानमन्त्रीको निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भएको छ । सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका नेताहरुको बैठकपछि राप्रपा देउवालाई मतदान गर्न र सरकारमा सहभागी हुन सहमत भएको हो । छलफलमा राप्रपालाई ४ वटा मन्त्रालय दिइने निधीले प्रस्ताव राखेका थिए । पहिले राप्रपाले लिएका स्थानीय विकास, पर्यटन, भूमिसुधार र आपूर्ति मन्त्रालय नै दिइने कांग्रेस र माओवादीका नेताले प्रस्ताव गरेका थिए । राप्रपा नेताहरुले पनि सम्मानजनक रुपमा सरकारमा सहभागी हुने वातावरण बनेको भन्दै प्रधानमन्त्रीमा देउवालाई मतदान गर्ने सहमति जनाएको छलफलमा सहभागी एक नेताले बताए । राप्रपाले यसअघि नै संसदीय दलको बैठकमार्फत् देउवा सरकारलाई समर्थन जनाउने औपचारिक निर्णय गरिसकेको छ ।
सिंहदरबाट बिदा भए प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट विदा भएका छन् । सोमबार विदाइ हुँदै गर्दा उनले स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गरे । उनले आफ्नो कार्यकालमा कर्मचारीहरुबाट राम्रो सहयोग पाएको भन्दै प्रशंसा गरे । सबैभन्दा धेरै प्रशंशा उनले मुख्य सचिव सोमलाल सुवेदीको गरे । सुवेदीले पनि आफूले चार जना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएको तर, प्रचण्डमा भएको जस्तो लिडरसिप र राजनीतिक इच्छाशक्ति अरुमा नभएको भन्दै प्रशंशा गरेका थिए । कर्मचारीको सहयोगमा आफ्नो कार्यकाल सफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, लोडसेडिङ र बन्द हड्ताल अन्त्य, आर्थिक वृद्धिदर आफ्नो सरकारको उल्लेखनीय काम भएको बताए । ‘संविधानको स्वीकार्यता बढाउने र कार्यान्वयन गर्ने कुरा चुनौतिपूर्ण थियो । धेरै नै अप्ठेरोमा देश जाने हो कि भन्ने कुराहरु थिए । संविधानको स्वीकार्यता पनि बढ्यो र कार्यान्वनको प्रक्रिया पनि दह्रोसँग भयो,’ प्रचण्डले भने, ‘एजेण्डा क्लियर हुनुको कारणले अहिले हामी यहाँनेर आइपुगेका छौं । घुम्दै–घुम्दै गोल हानेजस्तो भाछ ।’ मधेस पहाड हिमाललाई जोडिराख्ने र सबै राजनीतिक शक्तिहरुलाई इङ्गेज गरिराराख्ने कुरामा पनि सफल भएको उनले बताए । कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका प्रचण्डले शेरबहादुर देउवापछि पनि आफैं प्रधानमन्त्रीको रुपमा सिंहदरबार भित्रिने संकेत गरे । उनले हाँस्दै भने, ‘तपाईंहरुले आज विदाई गर्दै हुनुहुन्छ । विदामात्रै गर्ने होइन, अब स्वागतको पनि तयारी गर्नुहोला ।’
तीन दलबीच के–के भयो सहमति ?
बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले तोकेकै असार १४ गते निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा शान्तिपूर्ण रुपले सम्पन्न गर्ने, आगामी माघ ७ गतेभन्दा अगाडि नै प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने, निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुले सबैमा अपील गर्ने, पहिलो चरणको स्थानीय तह निर्वाचनबारे छानविन गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा निर्वाचनलाई थप मर्यादित बनाउने र संसदमा जारी गतिरोध अन्त्य गर्ने सहमति भएको हो । सभामुखको रोहबरमा बसेको सोमबारको बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, सुवास नेम्वाङ, माओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ उपस्थित ।
Previous Articleकाँठेखोला ७ का नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण
Next Article २३ जेठ २०७४, ढोरपाटन दैनिक