म्याग्दी, २३ जेठ – निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु. एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक संकलन गरी रु. ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या. राजु पुनले जानकारी दिए । पुनका अनुसार, स्थानीयवासीको सक्रियतामा खानेपानी, शौचालयसहित देशका विभिन्न जिल्लाका साथै विदेशबाट आउने पर्यटकलाई समेत सहज हुने गरी सामुदायिक लज निर्माणको काम पनि भइरहेको छ । अन्य पूर्वाधार पनि थपिएको छ । पूर्वाधार विस्तारका लागि युकेमा रहेका शिखवासीको पहलमा रु. ७९ लाख संकलन भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने शिखको खयरबराह क्षेत्रमा पाउद्वारस्थित खोप्रा देखि खयरबराह तालसम्म बाटो मर्मत, खयरक्षेत्रमा निर्मित पदमार्गमा फलामको रेलिङ, सत्तल, खानेपानीलगायतका आवश्यक पूर्वाधार विस्तारले तीव्रता पाएको छ । खोप्रा आसपासको क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारमा खटिएका पुनले जिल्लाकै नमुना पर्यटकीयस्थलका साथै धार्मिक गन्तव्य बनाउने अभियानमा विश्वभर रहेका शिख, पाउद्वारवासीको सक्रियतामा आर्थिक संकलन गरिएको पुले बताए । निकै जोखिमपूर्ण तरिकाले खानेपानीको पाइप विस्तार भइरहेको छ । पाउद्वारबाट खोप्रासम्म पुग्दा लाग्ने थकाइलाई विश्रामसँगै सुविधासम्पन्न लजको व्यवस्थाले समेत पर्यटकलाई राहत मिलेको छ । डिजिटल साक्षरता अभियन्ता महावीर पुनले विस्तार गरेको बेतारे इन्टरनेटको राजधानीसमेत भनेर चिनिने खोप्रामा कास्कीको घान्दुक, शिखको घोरेपानी, पाउद्वार र नारच्याङबाट पर्यटक पुग्ने गरेका छन् । पुनकै प्रयासमा सामुदायिक लजको स्थापना भएको हो । समुद्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको संख्यामा पूजा गर्न जाने गरेका छन् । निलगिरि हिमालको नजिक रहेको मन्दिरको छेउमा खयरबराह तालको अवलोकन गर्न विदेशी पर्यटक समेत पुग्ने गरेका छन् । आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर हुँदै तीन दिनको पैदलयात्रामा सयौँको संख्यामा खयरबराही तालमा जोखिमपूर्ण यात्रा गरेर भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । पहिलोदिन पाउद्वार, दोस्रोदिन खयरक्षेत्र र तेस्रो दिन मन्दिरमा पूजा गरेर फर्कन्छन् । पदमार्ग र पूर्वाधारले धार्मिक तथा घुम्न जाने पर्यटकलाई ठूलो राहत मिलेको छ ।
Previous Articleविश्व वातावरण दिवसमा विविध कार्यक्रम
Next Article हराउँदै गए रैथाने प्रविधि