बागलुङ, २३ जेठ – आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण गलकोट क्षेत्रको रैथाने प्रविधि लोपहुँदै गएको छ । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा यताकता मात्र देखिने गरेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर गलकोटका ग्रामीण क्षेत्रमा विस्थापित बन्ने अवस्थामा पुगेको छ । त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि लोप भएका छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोपहँुदै गइरहेका छन् । करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि गलकोटमा यी घरेलु मेसिन विस्थापनमा परेका गलकोटबासीको भनाई छ । घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याति कमाएको गलकोटका लोकबाजाहरु खैँजडी, मादल, डम्फु, ढोलकी, सहनाई र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको पत्रकार बालकृष्ण सुवेदीले बताए । यस क्षेत्रका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको यस क्षेत्रका सांस्कृतिक कलाकारहरू बताउँछन् । घरेलु मेसिनलगायतका परम्परागत साधन पनि लोपहुँदै गएपछी यस क्षेत्रको मौलिक परम्परागत सभ्यता नै संकटापन्न अवस्थामा छ ।
–गुमानसिंह भण्डारी
Previous Articleकरोड लगानीमा पुर्वाधार विस्तार
Next Article तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण