बागलुङ, २३ जेठ – विविध कार्यक्रमको आयोजना गरी सोमबार धौलागिरीमा विश्व वातावरण मनाईएको छ । ‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’ भन्ने नाराका साथ बागलुङ र पर्वतमा विविध कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइने गरिन्छ । प्रकृति, प्राकृतिक वातावरण, वन र जैविक विविधतालाई जोगाउन सकेमा मात्र वातावरणीय दुष्परिणाम, जलवायु परिवर्तनका नकारात्मक प्रभाव तथा विपद न्युनीकरण सकिने विज्ञहरुको भनाई छ । गल्कोट नगरपालिकाको आयोजनामा गल्कोट नगरपालिका कार्यालयदेखि हटिया बजार, सेराबजारहुँदै हटियाबजार सरसफाई गरिएको थियो । दिवसको अवसरमा शुमकामना दिँदै गल्कोट नगरपालिकाका नवनिर्वाचित मेयर भरत शर्मा गैरेले मानवबाट जानेर वा अन्जानमा प्रकृतिप्रति अतिक्रमण भएको भन्दै यस्ता कार्यलाई निरुत्साहित गर्न सके स्वस्थ वातावरणमा रहन सकिने बताए । उनले गल्कोट क्षेत्रलाई सफा, सुन्दर बनाउनका लागी गुरुयोजना बनाईएको बताउदै सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि शुभकामना व्यक्त गरे । सरसफाई अभियानमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । यसैबीच, विश्व वातावरण दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले खानिगाउँमा बृक्षरोपण गरेको छ । संयुक्त राष्टसंघले तय गरेको प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त भन्ने मूल नाराका साथ सोमबार बिभिन्न ठाउँमा कार्यक्रम गरेसंगै नगरपालिकाले पनि खानिगाउँमा बृक्षारोपण गरेको हो । प्रत्येक वर्ष जुन ५ तारिखमा नेपाल लगाएत विश्वभर यो दिवस मनाउने गरिन्छ । लप्सीको विरुवा बृक्षारोपण गर्दै नगरउपप्रमुख मञ्जु अधिकारीले विश्व वातावरण दिवस एक अन्तराष्ट्रिय दिवस भएको भन्दै यो दिवस पर्यावरण प्रति वैश्विकस्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाउनुपर्नेमा जोड दिईन् । उनले सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव रहेको बताईन । ‘बाताबरण भन्नाले आर्थीक, भौतिक, सांस्कृतिक लगाएतका पक्षहरु पर्छ’ उनले भनिन्– ‘हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो ।’ उनले आफुले रोपेको बृक्ष हुर्कोस,फलोस,फुलोस भन्दै यसको संरक्षणमा सम्पुर्ण समुदायको साथ मिल्ने आशा पनि व्यक्त गरिन । नगर कार्यकारी अधिकृत मोती प्रसाद सापकोटाले आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाउनुपर्ने बताउदै काठ हैन रुखलाई माया गर्न सिकाउनुपर्नेमा जोड दिए । बृक्षारोपणमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, शिक्षक, बिभिन्न सघंसस्थाका प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।