म्याग्दी, २१ जेठ – जिल्लाबाट वैदेशिक रोजगारीका लागि अमेरिका गएका एकजना युवाले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा मासिक १० हजार राशिको ‘तत्सम–तद्भव’ छात्रवृति स्थापना गरेका छन् ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट घरभई हाल अमेरिकामा रहनु भएका सुरज थापाले स्वर्गीय बुबा मिनवहादुर थापाको स्मृतिमा ज्यामरुककोट क्षेत्रका दुईजना विपन्न परिवारका विद्यार्थीहरुलाई पाँच वर्षसम्म मासिक ५÷५ हजार रुपैयाँ वितरण गर्नेगरी छात्रवृत्ति कोष स्थापना गरेका हुन । ज्यामरुककोट समाज यु.एस.एका संयोजक समेत रहेका थापाले ज्यामरुककोट समाज नेपालको सिफारिस र संयोजनमा सो छात्रवृत्ति कोषको स्थापना गरेका हुन ।
छात्रवृत्ति प्राप्त गर्नेमा अर्जुन माविमा कक्षा ११ मा अध्ययनरत छात्र शिव परियार र राधाकृष्ण आधारभूत विद्यालय गौश्वारामा कक्षा ८ मा अध्ययनरत छात्रा समिक्षा सुनार रहेका छन् । चालु शैक्षिक वर्षका लागि परियार र सुनारलाई अर्जुनमाविमा आयोजित एक कार्यक्रममा थापाकी आमा एवं ज्यामरुककोट समाज नेपालकी आजिवन सदस्य खदेवि थापाले वैशाख महिनाको पाँच/पाँच हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरे । उनीहरुलाई एक वर्षसम्म मासिक पाँचपाँच हजार रुपैयाँ उपलव्ध गराइने ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले बताए ।
ज्यामरुककोट समाज नेपालका कोषाध्यक्ष दीर्घप्रसाद रिजालको उपस्थितिमा प्रदान गरिएको सो छात्रवृत्ति हरेक वर्ष ज्यामरुककोट क्षेत्रका दुईजना विपन्न र जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने जानकारी गराइएको थियो ।
ज्यामरुककोट क्षेत्रका गरिब,विपन्न तथा जेहेनदार विद्यार्थीलाई अध्ययन गर्न सहयोग पुगोस् र आर्थिक अभावले पढ्न बाट वंचित हुन नपरोस भनेर आगामी पाँच वर्षसम्म निरन्तर रुपमा मासिक ५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने सुरज थापाले बताए ।
Previous Articleबागलुङका सिडिओ पाण्डे गृहमा सरुवा
Next Article स्थानीय तहको बजेटमा कन्जुसाई