बागलुङ, १९ जेठ – ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा बिहिबार जीप दुर्घटना हुँदा चालकसहित ७ जना गम्भीर घाईते भएका छन् । साँझ करिव ५ः३० बजे बुर्तिबाङदेखि भिमगिठेतर्फ जाँदै गरेको धौलागिरी यातायात समितिको रा १ ज २५८ नम्बरको जीप बुर्तिबाङको देवचोक भन्ने स्थानमा दुर्घटना हुँदा जिप चालकसहित ७ जना घाइते भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनेहरुमा साविकको अर्गल–१ हाल ताराखोला गाउँपालिकाका ३४ वर्षका चालक रमेशकुमार लामिछाने खत्री (निखिल), वडीगाड गाउँपालिका वडा नं. ९ का उमेश खत्री, लक्ष्मी थापा, माया के.सी., वडीगाड गाउँपालिका वडा नं. ६ की पार्वती के.सी., लक्ष्मी क्षेत्री र वडीगाड वडा नं. ७ की अनिता रायमाझी पौडेल रहेका छन् । जीप गुडिरहेको अवस्थामा स्टेरिङले काम नगरेपछि गाडी अनियन्त्रिणत भई जीप दुर्घटना भएको चालक खत्रीले बताएका छन् ।
जीप सडकदेखि करिब १६ फिट तल शाखा बाटोमा खसेको थियो । दुर्घटनाबाट सबैभन्दा बढी चोट चालक खत्रीलाई लागेको छ । उनको खुट्टामा गम्भीर चोट लागेको छ । अन्य ६ जनालाई हात र खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेहरुको बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ र सिटी हस्पिटलमा सामान्य उपचार गरि थप उपचारपछि पाल्पा रिफर गरिएको छ ।
घाइते बिरामीहरुको स्वासप्रस्वासमा समस्या आएकाले र बाहिरी चोटका साथै भित्र पनि गम्भीर चोट हुन सक्ने भएकाले थप उपचारको लागि रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका सिनियर अहेब रितुवर्ण पौडेलले बताए । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा यतिबेला डाक्टरहरु समेत तालिम र बिदामा रहेकाले उपचारको लागि समस्या आएको आएको हो ।
Previous Articleसुर्तिजन्य वस्तुको सेवनले मर्ने बढे
Next Article बागलुङमा मिश्रित परिणाम