बागलुङ, १९ जेठ – नगरकार्यपालिकाको चुनावमा बागलुङमा संयुक्त र गलकोटमा कांग्रेसको एकल प्यानल बिजयी भएको छ । बिहिवार भएको निर्वाचनमा बागलुङमा एमाले, माओवादी, राप्रपा र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल बिजयी भएको हो । गलकोटमा भने कांग्रेसले संयुक्त प्यानललाई पराजित गरेको थियो ।
बागलुङमा ३ जना दलित/अल्पसंख्यक र निर्वाचित महिला सदस्यहरुबाट ५ जना महिलाहरु गरी ८ जनाका लागि विहिवार भएको मतदानमा उनीहरु बिजयी भए । बागलुङ नगरकार्यपालिकामा ३ जना दलित.अल्पसंख्यकमा एमालेबाट ५६ मत प्राप्त गरी नबिन किसान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ५६ मत प्राप्त गरी सञ्जु नेपाली र माओवादी केन्द्रबाट ५५ मत प्राप्त गरी कविराम किसान निर्वाचित भए ।
यसैगरी महिला सदस्यहरुमा ५५ मत प्राप्त गरी लक्ष्मी बोहोरा, ५३ मत प्राप्त गरी कालिका सापकोटा, ५४ मत प्राप्त गरी पुष्पा केसी र ५६ मत प्राप्त गरी सिता थापा निर्वाचित भए भने राष्ट्रिय जनमोर्चाबाट ५६ मत प्राप्त गरी बबिता रामदाम बिक बिजयी भएका हुन् ।
यसैबीच गलकोट नगरपालिकामा भएको नगर कार्यपालिकाको निर्वाचनमा कांग्रेसको प्यानलै बिजयी भएको छ । संयुक्त वामको तर्फबाट राष्ट्रिय जनमोर्चाका सदस्यहरुलाई पराजित गर्दै कांग्रेसले सबै पदमा जितेको हो ।
अल्पसंख्यक तथा दलित तर्फ नारायण नेपाली, लक्ष्मी सुनार र गणेश शेरचन बिजयी भए । त्यस्तै महिला तर्फ कमला ढकाल, बिष्णु बिक, रत्ना अधिकारी, शिवकला खत्री र राधिका पुन बिजयी भएको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए ।
त्यहाँ शिवकला खत्रीले ३९ मत ल्याएकी थिइन् भने अरु सबैले ३२ मत पाएर बिजयी भएका हुन् । यसैबीच, ढोरपाटन नगरपालिकामा बिहिबार कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ ।
३ जना दलित अल्पसंख्यक प्रतिनीधि र पाँच जना महिला सदस्य गरी ८ जनाको लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको उमेदवार बिजयी भएका छन् । ढोरपाटन नगरपालिका निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार, दलित अल्पसंख्यकबाट नेकपा एमालेका गोकुल शेरचन र राष्ट्रिय जनमोर्चाका थम बहादुर छन्त्याल, र नर बहादुर सुनार बिजयी भए ।
नगरपालिकाका निर्वाचित ४७ जना पदादिकारीले गरेको मतदानमा शेचनको २८, छन्तयालको २९, सुनारको २७ मत प्राप्त भएको थियो । त्यस्तै नेपाली काँँग्रेसका वानबहादुर छन्तयालले १८ र माओबादी केन्द्रका भद्रमणि सुनारmे २० मत प्राप्त गरे । बैशाख ३१ गते सम्पन्न ढोरपाटन नगरपालिकाको चुनाबमा माओबादी केन्द्र र काँँग्रेस गरी जम्मा १८ जना प्रतिनिधी निर्वाचित भएका थिएभने राजमो र एमाले २९ जना निर्वाचित भएका थिए ।
त्यस्तै पाँच जना महिला सदस्यमा समेत एमाले र राजमोका प्रतिनीधि निर्वाचित भएका छन् । जसमध्य राजमोका ताराकुमारी पुनले २९, कमला छबि बिकले २८, एमालेकी शान्ती बिकले २६, बेल कुमारी छन्त्यालले २८ र एमालेकै धनीमला बिकले २८ मत प्राप्त गरे । दुई जना राजमो र ३ जना नेकपा एमालेका उमेदवार बिजयी भएका छन् ।
म्याग्दीका गाउँ र नगरकार्यपालिकाले पूर्णता पायो
म्याग्दीका नगर र गाउँ कार्यपालीकाले बिहीबार पूर्णता पाएको छ । बैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालीका प्रमुख, उपप्रमुख, गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालीकामा दलित, अल्पसंख्यक र महिला सदस्य चुनेका हुन् ।
बेनी नगर कार्यपालीका सदस्यमा दलित अल्पसंख्यकतर्फ एमालेका कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान गौचन र राप्रपाका झलप्रसाद गौचन निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी गोरी दर्जी, गौमती नेपाली, गौरी थापामगर, दुर्गाकार्की बानिया र टकसरा राना निर्वाचित भएका छन् । यसअघिको तालमेललाई निरन्तरता दिएका एमाले र राप्रपा समिकरणका उमेद्वारले ३८ र काँग्रेसका उमेद्वारले १३ मत पाएका थिए । मालीका गाउँ कार्यपालीकाको दलित सदस्यमा नेपाली काँग्रेसका कुलमान पटेल र अल्पसंख्यकमा माओवादी केन्द्रका दोरण शेरचन निर्बीरोध चयन भएका छन् ।
महिला सदस्यमा सदस्यमा स्वतन्त्रबाट चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपाई र माओवादी केन्द्रकी मनरुपा घर्ती मनोनित भएका छन् । मालीकामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र समूहले सहमती गरेर निर्बीरोध रुपमा कार्यपालीका सदस्य चयन गरेका हुन् । मंगला गाउँ कार्यपालीको दलित सदस्यमा दिलमाया बिक, अल्पसंख्यकमा रत्नबहादुर विश्वकर्मा, महिला सदस्यमा डिलकुमारी खत्री, शसीकला फगामी, सरदेवी भट्टचन र सरस्वती उपाध्याय चयन भएका छन् ।
अन्नपूर्ण गाउँ कार्यपालीका गठनका लागि भएको निर्वाचनमा काँग्रेस–माओवादी प्यानलका उम्मेदवारहरु बिजयी भएका छन् । दलित तथा अल्पसंख्यकबाट नेपाली काँग्रेसका आत्मा तुलाचन र नेकपा माओवादी केन्द्रका थमबहादुर विक रहेका छन् । त्यसैगरी, महिला सदस्यमा नेपाली काँग्रेसकी दिर्जु रन्जिता, पवित्रा खड्का , माओवादी केन्द्रका टेकमायाँ तिलिजा र विष्णुकुमारी दमै बिजयी भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।
रघुगंगा गाउँ कार्यपालीका सदस्यमा दलित र अल्पसंख्यकबाट नेपाली काँग्रेसका तोरण दर्जी, धनमाया घताने (गोतामे), महिला सदस्यहरुमा काँग्रेसकै बिष्णुमती पुन, यामकुमारी गोतामे घर्ती, रिती थजाली र सम्झना परियार निर्बीरोध भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए । धौलागिरी गाउँ कार्यपालीकामा नेकपा एमालेका उमेद्वार निर्बीरोध भएका छन् । दलित अल्पसंख्यकतर्फ रामबहादुर बिक, देउप्रसाद छन्त्याल, महिलातर्फ सुवादेवी पुर्जा, किनमाया घर्ती, बालकुमारी बिक र तिलकुमारी केसी चयन भएको वडा न. ३ का अध्यक्ष पुर्म पुनले जानकारी दिए ।
मुस्ताङका चार गाउँपालिकामा र्निविरोध
मुस्ताङका पाँच गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यहरुको टुङ्गो लागेको छ । चार गाउँपालिकामा निर्विरोध र एक गाउँपालिकामा निर्वाचन प्रक्रियामार्फत गाउँ कार्यपालिका सदस्यहरुको टुङ्गो लागेको हो ।
जिल्लाको सदमुकामको गाउँपालिका घरपझोङको गाउँ कार्यपालिकाको महिला सदस्य र दलित अल्पसंख्यक सदस्यको लागि निर्वाचन भएको थियो । लोमान्थाङ, दालोमे, बाह्रगाउँ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यहरु निर्विरोध चयन भएका थिए । घरपझोङ गाउँ कार्यपालिकामा २७ मतमध्ये महिला सदस्यमा २५ मत प्राप्त गरी माओवादी केन्द्रका जैकला विक, १८ मत प्राप्त गर्दै राप्रपाका कल्पना हिराचन र १७÷१७ मत प्राप्त गरी काँग्रेसका फूलकुमारी विक र स्वतन्त्र उम्मेदवार माया नेपाली विजयी भएका छन् । त्यस्तै दलित अल्पसंख्यक सदस्यमा २० मत प्राप्त गरी काँग्रेसका राजु लालचन र १८ मत प्राप्त गरी काँग्रेसकै राजेन्द्र शेरचन विजयी भएका छन् । लोमान्थाङ गाउँपालिकामा गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा छिरिङ युटिन गुरुङ, याङजिङ ल्हामो गुरुङ, पेमा युटिन गुरुङ र कर्चुङ विष्ट रहेका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा टसी फेन्जोक लोवा रहेका छन् । दलित अल्पसंख्यक सदस्यको लागि अर्काे एक जनाको उम्मेदवारी परेको छैन् । दालोमे गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा छिरिङ ल्हामो गुरुङ, छेपे पासाङ गुरुङ, धम्च्ये गुरुङ र पेमा डोका गुरुङ चयन भएका छन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा कृष्णप्रसाद विक र पेमा छेतेन विक रहेका छन् ।
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँ कार्यपालिकाको लागि महिला सदस्यमा साङमो छिरिङ गुरुङ, लक्ष्मी कुमारी गुरुङ, देवी गुरुङ र फूलकुमारी विक रहेका छन् । दलित वा अल्पसंख्यक सदस्यमा छिरिङ आङग्याल गुरुङ र फूलमाया विक चयन भएका छन् । थासाङ गाउँ कार्यपालिकामा महिला सदस्यमा इन्द्रकुमारी नेपाली, सुदा परियार, पूर्णकुमारी गौचन र विमला तुलाचन चयन भएका छन् । त्यस्तै दलित वा अल्पसंख्यक सदस्यमा नविन शेरचन र नरेन्द्र शेरचन रहेका छन् ।
महाशिला कार्यपालिकामा एमालेको प्यानल विजयी
पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ । बुधबार भएको निर्वाचन प्रक्रियामा नेकपा (एमाले)को प्यानल निर्विरोध निर्वाचित भएको हो । दुई दलित र अल्पसंख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचित हुनेमा दलित तथा अल्पसंख्यकबाट विष्णुराम विक र सोमबहादुर विक रहेका छन् । त्यसैगरी, महिला सदस्यमा धनसुवा विक, गीता नेपाली, सपना नेपाली र दीपा राना रहेका छन् । उनीहरुलाई बुधबार नै गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले पदभार ग्रहण गराएका थिए । उक्त गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा नेपाली काँग्रेस विजयी भएको थियो । चौध जनाको गाउँ कार्यपालिकामा एक सदस्य नेपाली काँग्रेसका रहेका छन् ।
Previous Articleजीप दुर्घटना हुँदा ७ जना गंभीर घाईते
Next Article १९ जेठ २०७४, ढोरपाटन दैनिक