म्याग्दी, १९ जेठ – बेनी अस्पताल म्याग्दीमा अत्याधुनिक प्रविधिको एक्स–रे मेसिन जडान गरिएको छ । यसअघि सञ्चालनमा रहेका दुबै मेसिनमा खराबी देखिएपछि अस्पतालले स्वास्थ्य मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा विभागको सहयोगमा उक्त एक्सरे मेसिन ल्याएको हो । ३ सय एमए क्षमताको मेसिन जडानपछि शरिरको जुनसुकै भागको एक्सरे गर्न सकिने अस्पतालका प्रमुख डा.रोशन न्यौपानेले जानकारी दिए । ‘यसअघि हामीसँग जम्मा एकसय एमए क्षमताको सानो एक्सरे मेसिन थियो, त्यसले ढाड र कम्मरको एक्सरे गर्नै मिल्दैनथ्यो’, उनले भने, ‘अब त्यो समस्या हटेको छ, जस्तोसुकै बिरामीको एक्सर गर्ने क्षमता अस्पतालसँग छ ।’ डेढ बर्षअघि हङकङमा बस्ने म्याग्देलीहरुको संस्था मोना हङकङले प्रभावकारी एक्सरे सुविधाका लागि कम्प्युटर सहित अत्याधुनिक एक्सरे प्रिन्टर (सीआर प्रणाली) सहयोग गरेको थियो । ‘अब एक्सरे विभागले पूर्ण क्षमतामा अत्याधुनिक सुविधा दिनसक्ने भएको छ’ अस्पतालका प्रमुख न्यौपानेले भने, ‘यस्तो एक्सरे मेसिन प्रयोग गर्ने जिल्ला अस्पताल मध्ये कास्की र भक्तपुरपछि हामी नै हौँ ।’ मेसिन अत्याधुनिक भएका कारण न्यून विकिरणमा प्रभावकारी ढँगले समस्याको पहिचान गर्न सकिन्छ । सानो क्षमताको मेसिन हुँदा समस्या पहिचान गर्न बढी विकिरणको प्रयोग गर्नुपर्ने बाध्यता अन्त भएको अस्पतालका रेडियोग्राफर विर्सजन शर्माले जानकारी दिए । ‘यो मेसिनबाट दुई वटा फाइदा पुगेको छ, पहिलो, जस्तोसुकै समस्याको प्रभावकारी अध्ययन गर्न मिल्छ । दोश्रो, जुनसुकै भागको एक्सरे गर्दा न्यून विकिरण प्रयोग पुग्छ’, उनले भने, ‘जति न्यून विकिरण विरामी र हामीलाई उति नै फाइदा हो ।’ अस्पतालमा दैनिक ३०÷३५ जनाले एक्सरे सेवा लिने गरेको तथ्यांक छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको समेत दर्जन बढी बस्तीलाई पायक पर्ने भएकाले अस्पतालमा तीनै जिल्लाका बिरामीको भीड हुने गरेको छ । अत्याधुनिक एक्सरे मेसिन जडानपछि अस्पताले अब मृगौलाको स्वास्थ्य अवस्था पहिचान गर्ने आइभीयु सेवा समेत सुरु गर्ने भएको छ । ‘मानब स्वास्थ्य सबैभन्दा संवेदनशील अँग मृगौलाले कस्तो किसिमले काम गरिरहेको छ भन्ने कुरा समेत यहि एक्सरे मेसिनबाट अध्ययन गर्न मिल्छ’, अस्पतालका डा. न्यौपानेले भने, ‘त्यसका लागि दक्ष जनशक्तिको व्यवस्था पनि भईसकेको छ ।’ अस्पताल विकास समितिका अध्यक्ष माधबप्रसाद रेग्मीले चौतर्फी सहयोगका कारण अत्याधुनिक एक्सरे मेसिन ल्याउन सफल भएको बताए । ‘विभागले देशभर १० वटा स्वास्थ्य संस्थालाई मात्र यस्तो मेसिन वितरण गर्दैछ, त्यस्तो अवस्थामा हामीले पाउनु ठुलो कुरो हो’, उनले भने, ‘यसबाट हामीले अरु धेरै महत्वपूर्ण सेवाहरु दिन सफल हुनेछौँ ।’
Previous Articleउत्तर कोरियामा १० दिन
Next Article सुर्तिजन्य वस्तुको सेवनले मर्ने बढे