बागलुङ, १९ जेठ – महिलाहरुलाई स्वरोजगार बनाएर आयआर्जन बढाउन सहयोग गर्ने उद्धेश्यले संचालित १ महिने होजियारी सम्बन्धी पुर्नताजकी तालिम सम्पन्न भएको छ ।
बागलुङको जैमीनी नगरपालिका वडा नं. १० राङखानीका १५ जना महिलाका लागि यो तालिम संचालित थियो । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत घरेलु तथा साना उद्योग विकास समिति, मुख्य शाखा कार्यालय बागलुङ र लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोग तथा संगम तालिम तथा परामर्श केन्द्र बागलुङको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा विद्यालय पोशाक अन्र्तगन स्विटर, पन्जा, ट्राउजर, मोजा, हाफ स्विटर लगायतका सामाग्री बनाउन सिकाइएको थियो । विशेषगरी दक्षिण बागलुङको राङखानी, कुश्मीसेरा, जैदी र बरेङ बजारलाई लक्षित गरेर यो तालिम संचालन भएको परामर्श केन्द्रकी कार्यक्रम संयोजक अनिता तिवारीले बताईन् । अघिल्लो बर्ष आधारभूत तालिम लिएपछि सामान्य रुपमा सामाग्री उत्पादन गर्दै आएका महिला उद्यमीलाई व्यवसायिक उत्पादनमा लगाउन यो तालिम संचालन भएको उनको भनाई छ ।
तालिममा कृष्णप्रसाद शर्माले एक महिना सम्म सहजीकरण गरेका थिए । ‘यो तालिमले अघिल्लो बर्ष सिकेको शिपलाई पूर्णता दिन पायौं’ राङखानी स्थित शिरिषगाउँ लघु उद्यमी समूहकी अध्यक्ष हिराकुमारी विकले भनिन्, ‘तालिम पाएका सहभागिले महिलाका लागि आवस्यक पर्ने पोशाक पनि उत्पादन गर्न थालिसकेका छन् ।’ उनीहरुले बजार सेन्टरमा पठाएका पोशाक विक्रिका लागि केन्द्रले पनि सहजीकरण गर्दै आएको छ ।