पर्वत, १९ भदौ – पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा १० वटा मेडिकल पसल गरेको र विभिन्न मेडिकलवालाहरुको कमजोरी समेत पाइएको छ ।
जिल्ला अस्पतालबाट एक सय मिटरको दुरीमा औषधि पसल हुनुपर्ने कानूनी प्रावधान भए पनि कार्यान्वयन भएको छैन । स्वास्थ्य कार्यालयको गेटैमा मेडिकल पसल संचालनमा भएपनि स्वास्थ्य कार्यालयले कारवाही गर्न सकेको छैन ।
अनुगमनको क्रममा लापरवाही भएको पाइएको छ । औषधिको भण्डार ठीक ढंगले नराख्ने, कानून विपरित स्वास्थ्यसेवा, दक्ष जनशक्ति नभएको लगायत कमजारी छन् । अनुगमनमा सरकारी अस्पतालका डाक्टरहरुले कार्यालयमा भन्दा मेडीकलमा बढी सेवा दिने गरेको भेटिएको छ ।
अनुमति नै नलिई एक्सरे, ईसिजी, भिडीयो एक्सरे लगायतका स्वास्थ्य सेवा सञ्चालनमा ल्याएर स्वास्थ्य सेवामा गम्भिर खेलवाड गरेको समेत पाईएको अनुगमन टोलीले जनाएको छ । यसरी अव्यवस्थित रुपमा सञ्चालनमा रहेका एक्सरे सेवाले मानिसमा बाँझोपन, क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने भएकाले अनुमती विना सञ्चालित र अव्यवस्थित एक्सरे सेवा बन्द गराउन टोलीले सुझाव दिएको छ ।
मेडिकलवालाले नियमविपरित औषधी बिक्री गर्ने, विरामी चेकजाँच गर्ने गरेकोले सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड भएको गुनासो गर्दै आएका थिए । अनुगमन संयोजक दिपक भण्डारीले अनुगमनमा भेटिएका कमजोरीलाई दुई महिना भित्र सुधार गर्न निर्देशन दिइएको बताए ।
टोलीले केही मेडीकलहलबाट उपभोग्य मिती सकिएको औषधि जफत समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य निरीक्षक, र उपभोक्ता मञ्च लगायत प्रतिनिधि सामेल टोलीले जिल्लाका दश औषधि पसल र तीन क्लिनिकहरुको अनुगमन गरेको थियो ।