बागलुङ, १७ जेठ – पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथी झोलुङ्गे पुलको निर्माण भएको छ । कुल ३९ लाख ११ हजार ३ सय २४ रुपैयाँको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको आइतबार उद्घाटन गरिएको छ । पुल निर्माणका लागि स्वाप केन्द्रीय अनुदानबाट १९ लाख ९५ हजार ८ सय ७२, स्वीस एम्बिसीबाट १० लाख ६३ हजार ४ सय १६, झोलुङ्गे पुल सहयोग इकाई पोखरा र क्षत्रीयस्तरको साझेदार संस्था पोखराको ५ लाख ४० हजार रुपैयाँ सहयोग भएको थियो । मिलन म्याग्दीले भने पुल निर्माणका लागि व्यवस्थापन गरेको थियो । यसैगरी जिल्ला समन्वय समिति म्याग्दीबाट १ लाख २५ हजार, मुदीको वडा कार्यालयबाट १ लाख १२ हजार र स्थानीयको ७५ हजार जनश्रमदानमा पुल निर्माण गरिएको पोखराका प्राविधिक श्रीधर भण्डारीले जानकारी दिए । उनका अनुसार गत वर्षको बैशाख १३ गते सम्झौता भई यही जेठको ४ गते निर्माणसम्पन्न झोलुङ्गे पुलबाट ३ सय घरधुरीका १ हजार ८ सय ४० जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । निर्माण सम्पन्न झोलुङ्गे पुलको उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थमसरा पुनले पुल निर्माणपछि आवतजावतमा धेरै सहज हुने बताइन् । उनले गाउँपालिकाको सबै वडामा भौतिक पूर्वाधार विकास गर्ने बताउँदै दुर्गममा पुग्न नसकेको सरकारी सेवासुविधा अब गाउँपालिकामार्फत पु¥याइने प्रतिबद्धता समेत जनाएकी छिन् । कार्यक्रममा वडाध्यक्ष बेगप्रसाद घर्तीले पुल निर्माणले स्थानीय सबैलाई राहत मिलेको बताए । वडा सचिव सोमबहादुर केसीले ग्रामीणस्तरमा हुने सबै किसिमका पूर्वाधार विकास निर्माणका काममा स्थानीयवासीले अपनत्व लिनुपर्ने बताएका थिए । कार्यक्रममा पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारी, मिलन म्याग्दीका प्राविधिक सुरेशकुमार जिसी र वडा महिला सदस्य किममाया घर्तीले पुल संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । गोरङ्खोला झोलुङ्गे पुल निर्माण समिति अध्यक्ष मनमन घर्तीमगरको अध्यक्षता र सचिव वेगचन पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुद्धि विकास मावि मुदीका शिक्षक सबहादुर घर्तीले स्वागत गरेका थिए । यसअघि शनिबार सार्वजनिक लेखापरीक्षण गर्नुका साथै नवनिर्मित पुलको अन्तिम जाँचपास गरिएको थियो । कार्यक्रमको अवसरमा पुल निर्माणमा सहयोग गर्नेलाई सम्मान समेत गरिएको थियो । २०७२ सालको असार महिनामा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले स्थानीयको घरगोठ र पुल बगाएको थियो भने उक्त पहिरोमा परी नेरबाङमा ६ जनाको मृत्यु भएको थियो भने भेडा तथा कुखुरा समेत मरेका थिए ।
Previous Articleधवलागिरी बहुमुखी कयाम्पसमा आन्तरिक परिक्षा
Next Article वडाध्यक्ष र सदस्यले के–के काम गर्छन् ?