बागलुङ, १७ जेठ – धवलागिरी बहुमुखी क्याम्पस बागलुङले वार्षिक परीक्षामा विद्यार्थीको नतिजा कमजोर भएपछि त्यसमा सुधार ल्याउन उद्देश्यले मंगलबारदेखि आन्तरिक परीक्षा संचालनमा ल्याएको छ ।
आन्तरिक परीक्षा अन्तर्गत मंगलबार क्याम्पसले स्नातक तहको शिक्षा र मानविकी संकायको अंग्रेजी विषयको परीक्षा लिएको छ । अन्य विषयका परीक्षा नियमित चल्ने छन् । बुधबारदेखि व्यवस्थापन संकायको परीक्षा पनि सुरु हुनेछ । सहायक क्याम्पस प्रमुख धु्रवराज गौतमका अनुसार व्यवस्थापन र विज्ञानका केही विषयमा आन्तरिक परीक्षा लिइएको थियो तर त्यसले व्यवस्थित रुप लिएको थिएन । ‘वार्षिक परीक्षामा अपेक्षित नतिजा नआएपछि आन्तरिक मूल्याङ्कन गर्नुपर्ने महसुस भयो ।’ गौतम भने, ‘क्याम्पस प्रशासन, विभागीय प्रमुख, स्ववियु र विद्यार्थीहरु संघ संगठनहरुको संयुक्त बैठकको निष्कर्षबाट सबै संकायहरुमा आन्तरिक परीक्षा लिने निर्णय गरियो ।’ उनका अनुसार शिक्षा, व्यवस्थापन र मानविकी संकायमा पाँच देखि दश र विज्ञानमा दश देखि बीस मात्र वार्षिक उतीर्णाङ्क प्रतिशत रहेको छ ।
गौतमले आन्तरिक परीक्षाका लागि विद्यार्थीबाट दुई सय रुपैयाँ शुल्क लिएको जानकारी दिए । निवर्तमान विद्यार्थी कल्याण प्रमुख हरिप्रसाद पाण्डेका अनुसार परीक्षा संचालनका लागि उक्त शुल्क लिइएको हो । ‘निरीक्षकलाई काम गराएको शुल्क दिनैप¥यो’ पाण्डेले भने,‘तर उत्तरपुस्तिका परीक्षण भने सम्बन्धित विषय शिक्षकबाटै गराउने योजना छ ।’ उनले प्रश्नपत्र पनि सम्बन्धित शिक्षकबाट निर्माण गराएको बताउँदै क्याम्पसको परीक्षा शाखाले नै यो परीक्षालाई व्यवस्थित गरेको बताए ।
समाजशास्त्र तथा मानवशास्त्र विभागका विभागीय प्रमुख विश्वबन्धु अधिकारीले आन्तरिक परीक्षाले विद्यार्थीको वार्षिक परीक्षा अवश्य पनि सुधार हुने बताउँदै भने, ‘आन्तरिक परीक्षाको समयतालिका मिलाउन सजिलो नभएकाले आन्तरिक परीक्षालाई कसरी नियमित गर्ने भन्ने चुनौती छ ।’ क्याम्पसले आन्तरिक क्यालेन्डर लागू गर्न त्रिविले नै क्यालेन्डर लागू गर्नुपर्ने उनको भनाई छ । शिक्षा संकाय प्रथम वर्षका विद्यार्थी जेनिसा घर्तीले आन्तरिक परीक्षालाई ‘निकै राम्रो कार्य’ भनेर प्रतिक्रिया दिइन् । ‘पढ्न भ्याइएन्, पढेको भए सबै प्रश्न हल गरिने रहेछ’ घर्तीले भनिन्, ‘निश्चय नै यसले वार्षिक परीक्षा सहयोग पु¥याउँछ ।
यो परीक्षाबाट विद्यार्थीहरु खुशी भएको र परीक्षासँग अभ्यस्त हुने पनि उनको भनाइ थियो । क्याम्पसले यस वर्ष स्नातक तहका सबै संकायमा प्रथम वर्षको परीक्षा संचालन गरेको छ । धवलागिरी एक मात्र आंगिक क्याम्पसमा यो शैक्षिक सत्रमा १४ सय ५८ विद्यार्थी अध्ययनरत छन । आन्तरिक परीक्षामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने र भाग नलिनेलाई उल्टो ‘पेनाल्टी’ गरिने र छात्रवृति पनि रोकिने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।