बागलुङ, १७ जेठ – जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा रहेको सामुदायिक रेडियो परिवर्तनले आफ्नो छैठौँ वार्षिकोत्सव मनाएको छ । यो वर्षको १० औँ गणतन्त्र दिवसको अवसर पारेर रेडियोले फरक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । सोमबार बार्षिकोत्सवको अवसरमा रेडियोले बुर्तिबाङ नगरभित्रका व्यस्त सडक तथा मुख्य स्थानहरुमा ट्राफिक नियम झल्काउने तथा सामाजिक चेतना जगाउने खालका होडिङ बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ । यसैक्रममा बुर्तिबाङ बसपार्कमा र तुलसीनगरमा २ वटा होडिङ बोर्ड राखिएको छ । बजारका अन्य स्थानहरुमा पनि भोलि ट्राफिक नियम सम्बन्धि अन्य बोर्डहरु राखिने रेडियोका अध्यक्ष लोकेन्द्र सुनारले ईबागलुङलाई बताए । त्यसैगरी रेडियोले निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ । उत्तरगंगा हस्पिटल प्रा.लि. संग समन्वय गरी सञ्चालन गरेको स्वास्थ्य शिविरमा २९ जना सर्वसाधारणहरुले भिडियो एक्सरे, इसिजी जाँच, दिसापिसाव र मधुमेह रोग सम्बन्धि स्वास्थ्य जाँच गरेका थिए । शिविरमा डा.अशोकचन्द्र श्रेष्ठ, (एमडिरएमएस)ले स्वास्थ्य परीक्षण गरेका थिए । रेडियोले आफ्नो बार्षिक उत्सवकै अवसर पारेर हिजो आईतबार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका बिरामीहरुलाई फलफूल वितरण गरेको थियो । त्यस्तै गत शुक्रबार पश्चिम बागलुङका विभिन्न विद्यालयहरुमा स्कुल—स्कुलमा रेडियो अभियान अन्तरगत वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको थियो । स्कुल—स्कुलमा रेडियो अभियान अन्तरगत नै आज शिवालय माध्यमिक विद्यालयमा रेडियो परिवर्तनको आयोजनामा माध्यमिक तहमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा कक्षा ९ की छात्रा दिपिका सापकोटा प्रथम, कक्षा १० का निमकुमार अदै द्वितीय र कक्षा ९ का गणेश सापकोटाले तृतीय स्थान हाँसिल गरेको छन् । विजयी सवैलाई आज नै पुरस्कृत गरिएकोे थियो । त्यसैगरी भोली सोमबार हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको रेडियोले जनाएको छ । यस्तै रेडियोले हरेक वर्ष जस्तै यस वर्षपनि पत्रकार आपत रामजाली स्मृति पत्रकारिता कोषबाट १ जना पत्रकारलाई सम्मान गर्नेछ । छैठांै वर्ष प्रवेश गरेको रेडियोले हरेक वर्ष विभिन्न सामाजिक सचेनता मुलक कार्यक्रम तथा सामाजिक उत्तरदायित्वसँग जोडिएका नागरिकका सरोकारसँग सहकार्य गर्दै आइरहेको छ । भुकम्प पीडितहरुका लागि राहत संकलन तथा वितरण, प्राथमिक स्वास्थ्य केन्द्रमा रक्तदानका लागि ब्लड ग्रुपिङ, अग्निपीडितहरुका लागि राहत वितरण र विपतमा परेकाहरुका लागि उद्धार कोषको समेत स्थापना गरेर सहयोग गर्दै आएको छ । दैनिक १९ घण्टा सञ्चालनमा आएको रेडियोबाट विभिन्न सूचना, मनोरञ्जन तथा ज्ञानवद्र्धक कार्यक्रमहरु प्रशारणमा आएका छन् । सामाजिक सहकार्यका लागि समुदायसँग सामुदायिक रेडियो परिवर्तन बुर्तिवाङको उपस्थिति रहँदै आएको छ ।
Previous Articleआक्रामक प्रतिपक्ष र रक्षात्मक सत्तापक्ष
Next Article यसपटकको विकास बजेट नै ६६ प्रतिशत