गनेश पौडेल
बिहान उठ्दा नौ बजेको थियो । बाहिरपट्टि छिटफुट पानी परिरहेको थियो । यो मरुभूमिमा पनि पानी पर्दो रहेछ ! उठेर चिया बसालेँ । गुफाबाहिर पानी परिरहेको हुनाले आगो बाल्न सक्ने अवस्था थिएन । भित्रै बालेँ । जब बुद्धको प्राचीन पेन्टिङमा घस्रिएर धुवाँको मुस्लो बाहिर निस्कन खोज्थ्यो, तब बाहिर परेको पानीले धुवाँलाई भित्रैतिर धकेलिदिन्थ्यो । अनि बिचरो धुवाँ कता जाओस् ? गुफाको मुखको भीरैभीर टाँस्सिएर माथि चढ्यो । आफैंलाई देखेर हाँसो लाग्यो । हिजोसम्म के–के न आदर्शवादी भएर आगो निभाएको थिएँ पेन्टिङ जोगाउन । आज त्यो आदर्श चौँरी भएर खर्क चर्न हिँडेछ ।
बलिउड हिरो राजकुमारको डायलग सम्झेँ, ‘टाइम टाइम कि बात है जानी !’
उम्लिएपछि गिलासमा हालेर चिया खाँदै दिउरीमा पानी पनि बसालेँ । थर्मस भरेँ । प्याकिङ गरेँ । निस्केँ । खोला त हिजै तरेको हो । खोलाको भीर पो कताबाट उक्लिने ? भीर उक्लिने ठाउँ खोज्दै खोलाको मुहानतिर हिडेँ । खोलो पूर्वतिर बगेको थियो । म पश्चिमतिर । आधा घण्टा लगातार हिँडेपछि भीर धस्सिएर तेर्सो परेको देखियो । बाटो त थिएन त्यो, तर उक्लिन सकिन्छजस्तो लाग्यो । उक्लेँ । करिब एक सय मिटर अग्लो भीर उक्लिन लगभग एक घण्टा लाग्यो ।
भीरबाट माथि निस्कनेबित्तिकै मेरो मुटु खुशीले तीन बित्ता उफ्रियो । मेरो अगाडि एउटा विशाल खेत थियो । तीन–चार जना खेतालाहरू बारीमा घाँस काट्दै थिए । म हिजो बेफ्वाँकमा गुफामा बास बसेछु । म सरासर खेतमै गएँ ।
‘ओ दिदी, कुन गाउँ हो यो ?’, घाँसको भारी बनाउँदै गरेकी एउटी अधबैँसेलाई सोधेँ ।
‘छार्का हो दाइ ।’, माथिल्ला दुई दाँतलाई सुनले मोरेकी भोटेनीले मुस्कुराउँदै भनी । उसको उत्तरमा अरू आइमाईहरू पनि चनाखा भएर हाँसे ।
‘होटेल छ कि छैन नि यता ?’
‘होटेल त छैन दाइ । होमस्टे छ । ऊ त्यसको घरमा छ ।’, अधबैँसेले एउटी तरुनीतिर देखाई । तरुनी घाँसको पिउरी पार्दै थिई ।
‘छ न त छ । बुढो इन्डिया गएको छ ।’, तरुनी अनकनाई, ‘कति जना हो र ?’
‘म मात्रै एक्लै आएको । लोमान्थाङबाट। आज यतै बस्न पाए हुन्थ्यो । साह्रै थकाइ लागेको छ ।’, म घाँसको थुप्रोमा पल्टिएर आकाशतिर हेर्दै आराम गर्न थालेँ । बिहानसम्म पानीका थोपा खसालिराखेको आकाश अहिले पूरै नीलो थियो । बादलको एउटै झप्को पनि थिएन ।
‘गाउँतिर चिया पसल छैन ?’, सोध्नै आँटेको थिएँ अघिकी अधबैँसेले गिलासमा चिया लिएर आई । अब के सोध्नु ? आइमाईहरू सबै जना चिया खान बसे । मैले सबैलाई दालमोठ र भुटेको चना दिएँ । एकुन्टा चुइङ्गम पनि दिएँ ।
‘दाइ आउनुस् ।’, चिया सकिएपछि तरुनी भोटेनीले बोलाई । उसको पिठ्यूँमा घाँसको भारी थियो । अर्की एक जना अधबैँसे पनि भारी बोकेर ठिक्क थिई । म पनि काँधमा रुकस्याक चढाएर उनीहरूको पछि लागेँ । चारैतिरबाट अग्लो माटोको पर्खालले घेरिएको खेत थियो त्यो । निस्कने ठाउँमा एउटा ढोका थियो । ढोकाबाट बाहिर निस्कनेबित्तिकै गाउँका घरहरू देखिए । खेतबाट घर पुग्न आधा घण्टा पनि लागेन ।
बाहिरबाट छाप्रोजस्तो देखिए पनि भोटेनीको घरभित्र तिब्बती संस्कृतिको भव्यता कायम थियो । विशेष गरी भान्छा कोठाको सजावट एन्टिक थियो । घरमा जम्मा चार कोठा रहेछन् । त्यसमध्ये एउटा होमस्टेका लागि छुट्याएका रहेछन् । साहुनीले मेरा लागि भनिएको कोठा खोलिदिई । छिरेर झोला बिसाएँ । भित्र तीनवटा खाट लहरै राखिएका थिए । भुइँमा गलैँचा बिछ्याइएको थियो । अरू कुनै फर्निचर थिएनन् कोठामा ।
‘दाइ आराम गर्दै गर्नुस् है । म भरे आउँछु ।’, मलाई कोठाको ढोकामा छाडेर भोटेनी मोडिई ।
‘केही खान पाए हुन्थ्यो । भोक लागेको थियो ।’, खेत फर्किनै लागेकी भोटेनीलाई रोकेर अनुरोध गरे ँ। उसको पछि लागेँ । सोचेँ, अब ऊ भान्छामा छिर्छे र केही खानेकुरा बनाइदिन्छे । तर ऊ भान्छामा होइन, मूलढोका खोलेर घरको आँगनमा पो निस्किई । आँगनको डिलमा उभिएर जोर जोरले कराई । पल्लो घरबाट अघि बाटोमा सँगसँगै आएकी अधबैँसेसँग चिच्याएरै के–के कुराकानी गरी अनि फेरि भित्र पसी ।
‘के खानुहुन्छ ? चाउचाउ बनाइदिन्छु है ?’
‘भात खान मिल्दैन ?’
‘काममा जान ढिलो हुन्छ के दाइ । भात पकाउन त भ्याइन्न ।’
‘हुन्छ । जे बनाइदिए पनि हुन्छ उसो भए ।’
म कोठामा गएँ । खाटमा पल्टिएँ । घडी हेरेँ । ११ बजेको रहेछ । भित्तामा पोताला दरबारको ठूलो बजारिया पोस्टर टाँगिएको थियो । दरबारको एकातिर बज्रयोगिनीको चित्र थियो । अर्काेतिर आकाशयोगिनीको । दुवै योगिनीहरूको वक्षभाग खुल्ला थियो । कामुक ।
कुनै म्याराथन धावकले रिबन छुनुभन्दा पहिला नै दौडन छोडेर एक छिन थकाइ मार्न खोज्ला त ? खरायो र कछुवाको दौडमा बाहेक यस्तो सम्भावना कतै हुन्न । तर म यस्तै अनावश्यक समय खर्चेर छार्कामा बास बस्दै छु । नत्र बिहानको मात्र ११ बज्दा होमस्टेमा बस्नुको के कारण हुन्छ ?
सोचेँ, मेरो प्रतिस्पर्धामा कोही छ र आराम गर्न नहुने ? धावकको पछाडि अरू खेलाडी हुन्छन् । म यहाँ एक्लै दौडिँदै थिएँ । मलाई किन हतार गर्न प¥यो ? पाँच वर्ष दौडेको दौड्यै गरेँ । यति लामो दौडलाई बिट मार्न पनि कम्तीमा दुई दिनको आराम त चाहियो नि !
आधा घण्टा नबित्दै भान्छाबाट आवाज आयो ।
‘तपाईँले भनिहाल्नु भयो । भातै पकाइदिएँ ।’, भोटेनीले भातको कुरा गर्नेबित्तिकै जिब्रो त्यसै रसाएर आयो ।
‘बहिनीको नाम के हो नि ?’, अँगेनोतिर फर्केर भात पस्किँदै गरेकी भोटेनीलाई सोधेँ । उसले झुवा लगाएकी थिई । तल्लो फुर्काको बाहिरपट्टि रङ्गैरङ्गका धर्काले बनेको कपडा टाँसेकी थिई । यस्तो रङ्गीन कपडा लगाउनुको अर्थ विवाहिता भन्ने हुन्छ । हिन्दूहरूले सिन्दूर वा पोते लगाएजस्तो ।
‘मेरो नाम थाहा पाएर के गर्नुहुन्छ र ?’, भोटिनीले मलाई बालै दिइन ।
‘ल, गर्ने त के हो र नामले ? बोलाउने त हो नि ?’, मेरो कुरा सुनेर भोटेनी हाँसी । दाँतको माथिल्लो लहरमा एउटा सुनको दाँत देखियो ।
‘मेरो नाम सुजाता हो । सुजाता वाङचुक । नागरिकतामा त गुरुङ छ ।’
‘राम्रो नाम रहेछ । गुरुङचाहिँ किन नि ?’
‘बाजेले नागरिकता बनाउँदा गुरुङ लेखिदिएछन् अनि नागरिकतामा हामी पनि गुरुङ भयौँ । हुन त हामी वाङचुक हौँ ।’
भात खाएर म कोठातिर लागेँ । एक झमट सुतेँ । त्यसपछि गाउँ घुम्न निस्केँ । घरहरू सबै बन्द थिए । खेती थन्क्याउने सिजन भएकाले मान्छेहरू खेतमा व्यस्त थिए । बल्लतल्ल एउटा घरमा बूढी महिला देखिई । बोलक्कड बुढीले छार्काका बारेमा धेरै कुरा बताई । छार्का गाविसमा सानो आवादी रहेछ । त्यही बुढीले भन्दै थिई कि पूरै गाविसमा जम्मा छ सय मान्छे पनि छैनन् । म बसेको गाउँमा जम्मा चार घर थिए । घरभन्दा धेरै बस्तुभाउ थुन्ने खोर थिए । गाउँको बगलमा एउटा सानो खोला थियो । गाउँको थाप्लामा एउटा गुम्बा ।
साँझ छ बजेतिर भोटेनी घर आई । ऊसँग अघिकी अधबैँसे पनि आई । खाना पाकुन्जेल चौँरीको सुकुटीसित उवाको रक्सी पिएँ । अधबैँसेले पनि पिई । सात बजेतिर भात खाइयो । भात खाँदा रक्सीले भरमार लागिसकेको थियो । उभिने तडी पनि बल्लबल्ल निकालेर कोठामा गएँ । रुईको बिस्तरामा सिरक ओढेर सुत्न पाउँदा पनि ठूलै खुशी लाग्यो । रक्सीको मात अनि भातेनिद्राले छोपिहाल्यो । खाटमा पल्टिनेबित्तिकै निदाएँ ।
खोइ के भयो, राति तीन बजेतिर उठेँ । पिसाबले साह्रै चापेको थियो । रोक्न सक्ने अवस्था पनि थिएन । अब कता जाने ? घरभित्र बाथरुम थिएन । बाहिर निस्कन ढोकाको गजबार नखोली हुन्थेन । कोठाबाट बाहिर निस्कूँ भने अर्कै अर्थ लगाउलान्, भन्ने ठानेर रुकस्याकबाट मिनरल वाटरको खाली बोत्तल निकालेँ । त्यसैमा पिसाब गरेर बिर्को कसेर मारेँ अनि मस्त सुतेँ ।
वालेटको चिठीअनुसार छार्काबाट उता अब मान्छेको बस्ती छैन । अब चार–पाँच दिनभन्दा ज्यादा हिँडेर सीधैँ उसको प्रयोगशालामा पुगेर रोकिनुपर्छ । सोचेँ, थप एक दिन छार्का किन नबस्ने ?
भोलिपल्ट पनि छार्का नै बसेँ । गाउँमा मान्छे सबै खेतमा थिए । त्यसैले म पनि खेततिरै गएँ । खेतमै खाएँ । खेतमै सुतेँ । घरीघरी खेतको काममा पनि सघाएँ । खेतमा भएका सबै जनालाई रावझोर भीरको बारेमा सोधेँ तर कसैले पनि बताएन । पाँच बजेतिर हामी घर फक्र्यौँ । आज किन हो किन रक्सी खान मन लागेन । सात बजेतिर भात खाएर सुतेँ ।
बिहानखेर सपना देखेँ । शायद तीन बजेको थियो होला ।
मेरो एउटा अनौठो क्षमता के छ भने, सपना देख्दा मलाई ‘यो सपना त हो’ भन्ने हेक्का हुन्छ । मलाई सपनामा पनि सपना देखिरहेको छु भन्ने थाहा हुन्छ । सपनामा कुनै अग्लो भीरमा पुगेँ भने म त हाम्फाली हाल्छु र उड्न थाल्छु । कुनै बाघले लखेटेको सपना देखेँ भनेँ सुरुमा मात्रै डर लाग्छ । पछि यो सपना हो भन्ने थाहा भइहाल्छ । अनि त म बाघसँगै भिड्न थाल्छु ।
आज धेरैपछि सपना देखेँ । र, सपनामा पनि यो सपना हो भन्ने थाहा भइहाल्यो ।
सपनामै अति पिसाबले चाप्यो । यसपाला मिनरल वाटरको बोत्तल खोलिनँ । सपना न हो भनेर कोठाबाहिर करिडोरमा निस्किएँ । करिडोरको दुवैतिर घरबाहिर निस्कने ढोका थिए । पछाडिपट्टिको ढोकाको गजबार उप्काएँ । बाहिर निस्केँ । जुनेली रातको रमरम उज्यालो थियो । मैले आपूmलाई चारैतिरबाट माटोको पर्खालले घेरिएको आँगनमा पाएँ । आँगनको एक कुनामा रक्सी पार्ने सर्दाम थियो । रक्सीको पुरानो गन्ध वातावरणमा पोखिएको थियो ।
मलाई ट्वाइलेटमा भन्दा खुला ठाउँमा पिसाब फेर्न मजा आउँछ । अझ तल कुनै घाँस वा सानो बिरुवा छ भने पिसाबको धारोलाई पातहरूमा नचाउँदै फेर्दा मलाई एकदम प्राकृतिक अनुभव हुन्छ । घर लिलाम हुनुअघि म हरेक साँझ बाहिर बगैँचामा निस्कन्थेँ अनि केवँरा पूmलको गाँजमा मुतेर सुत्न जान्थेँ ।
भोटेनीको आँगनमा कुनै घाँस थिएन । यो मरुतुल्य जमिनमा कहाँ पलाओस् घाँस ? साह्रो न साह्रो जमिन थियो । उठेर पिसाब गर्दा धारोको छिटा खुट्टाभरि पर्न सक्थ्यो । त्यसमाथि पनि मुतेको आवाज अरूले सुन्न पनि सक्थे । त्यसैले बसेरै मूत्रथैली खाली गरेँ । उठेँ । ट्राउजरलाई माथि सारेँ । फर्किएँ । पिँढीमा उक्लिने चारवटा सिँढी चढेँ । अन्तिम सिँढीपछि पिँढीमा उभिएर ढोकातिर हेरेको त झसङ्गै भएँ । ढोकामा घरबेटी भोटेनी उभिएर मलाई हेरिरहेकी रहिछे ।
सरमको एक सिरेटोले छातीमा हान्यो । मैले बाटो छाडिदिएँ । ऊ ढोकाबाट बाहिर निस्किई । अघि म बसेकै ठाउँमा गएर बसी । मेरै पिसाबमाथि उसले पिसाब फेरी । आँगनमाथिको चारतले सिँढी उक्ली । भित्र पसी । म त अझै पिँढीमै थिएँ। हतारहतार म पनि भित्र पसेँ । गजबार लगाएपछि उसले मेरो हात समाती । समातेरै आफ्नो कोठामा लगी । मैनबत्ती बाली । सरासर आफ्नो कपडा उतार्न थाली । नाङ्गै भएर मतिर आई । मेरो गन्जी उतारी । ट्राउजर तानी ।
मैले यौनिक व्रिmयाकलापको सपना नदेखेको धेरै भएको थियो । घरबेटी भोटेनीसँग पो यस्तो सपना देखियो !
असोज ६, बिहीबार
राति एकफेर पिसाब फेर्न जहिल्यै उठ्ने म आज भने एकैचोटि बिहान छ बजे उठेँ । छ बजे उठ्दा पनि पिसाबले च्यापेको थिएन । पिसाब लागेको त थियो तर जसरी अरू बेला च्यापेको हुन्थ्यो, त्यसरी थिएन । हल्का मात्रै । सपनाको कुरा सम्झेँ । कतै सपनाको कुराले बिस्तरा त भिजाइनँ ? डर लागेर आयो । बिस्तरा छामछुम गरेँ । सुख्खै थियो । अरू बिस्तरा पनि छामेँ । भुइँमा बिछ्याइएको गलैँचा जताततै हेरँे । अहँ, भिजेको जस्तो कतै थिएन । उसो भए रातभरिको पिसाब कता गायब भयो ?
कपडा फेरेर कोठाबाहिर निस्केँ । भोटेनी भान्छामा टक््रयाकटुव्रmुक गर्दै थिई । राति सपनामा खोलेको मूलढोका अझै खुला थियो । ढोकाबाट बाहिर निस्केँ । बाहिरपट्टि ट्वाइलेट थियो । आँगनको एउटा कुनामा । ट्वाइलेट पुगेर बाँकी भएको पिसाब निखारेँ । एकदेखि १० गनेर नभ्याउँदै पिसाब सक्कियो । पिसाब गर्दा गन्ती गर्ने बानी छ मेरो ।
फर्केर भान्छामा गएँ । टेबलमा चिया तयार थियो । भेडाको दूधको चिया । प्लेटमा बिस्कुट थियो । होचो टेबलको खानेकुरा खान भुइँमा पलेँटी मारेर बस्नुपथ्र्यो, जहाँ गलैँचा बिछ्याइएको थियो । बसेँ । आइमाई अझै चुल्होतिरै फर्केर के–के चलाइरहेकी थिई । चियाको सुर्को तान्नुअघि ‘गुड मिर्निङ !’ भन्न बिर्सेको सम्झना भयो। ‘गुड मिर्निङ !’ भन्न मुख आँ गरेको मात्रै थिएँ, ऊ फरक्क फर्किई । ऊ रोइरहेकी थिई ।
‘किन रोएको तपाईँ ?’, मेरो वाक्य फेरियो ।
मेरो प्रश्न झर्न नपाउँदै ऊ मतिर आई । गलैँचामा बसेको म जुरुक्क उठेँ । मेरो अगाडि आएर झ्याप्प अँगालो हाली । झन् डाँको छोडेर रोई ।
‘के भो तपाईँलाई ?’, मैले प्रश्न गरेँ ।
उसले त झन् गालामा म्वाइँ पो खान थाली । रुँदै म्वाइँ खाँदै । मेरो गालाभरि उसको सिँगान र आँसु मात्रै लतपतियो । एक छिनपछि ऊ छुट्टिई अनि फरक्क फर्केर भनी, ‘पहिले चिया खानुस् ।’
मैले केही मेसो पाइनँ । बोलूँ, के बोलूँ ? नबोलूँ, के नबोलूँ ? के गर्दै छु पनि थाहा नपाएसरी चिया खान थालेँ । म यतिसम्म बेहोसी भएँ, चिया तातो थियो कि चिसो भन्ने पनि हेक्का राखिनँ । चिया सकेपछि उठेँ । उसको छेउ गएँ । बगलमा उभिएँ ।
‘के भो तपाईँलाई ? भन्नुस् त ।’
‘तपाईँ आज जानुस् है भात खाएर ।’
‘हुन्छ म जाउँला । तर के भो भन्नुस् त ?’
उत्तर दिनुको साटो भोटेनीले फेरि अँगालो हाली । तीनपटक सुँक्क, सँुक्क, सँुक्क गरी । बन्धन छोडी । लामो सास तानी अनि बोली ।
‘हिजो राति एउटा सपना देखेँ । पिसाबले च्यापेको सपना । म कहिल्यै राति पिसाब गर्न निस्कन्नँ । हाम्रो समाजमा कोही पनि राति पिसाब फेर्न निस्कन्नन् । म पिसाब फेर्न कोठाबाहिर निस्केँ । घरको मूलढोका खुलै थियो । तपाईँ आँगनमा पिसाब फेरिरहनुभएको थियो । तपाईँले पिसाब फेरेर सकेपछि मैले पनि त्यही ठाउँमा गएर पिसाब फेरेँ । म फर्केर आउँदा तपाईँ ढोकामै हुनुहुन्थ्यो । सपना त हो, के पो होला र भन्ने ठानेर मैले तपाईँको हात समातेर कोठामा लगेँ । …।’
‘भो नभन्नुस् । बुझेँ । के तपाईँले पनि त्यही सपना देख्नुभयो राति ?’
मेरो प्रश्नले भोटेनी झन् सुँक्सुकाउन थाली । रोकिई अनि बोली ।
‘राति त्यस्तो गरेपछि तपाईँ कोठामा जानुभयो । तर त्यसपछि म सुतेकै छैन । जागाको जागै छु । मैले बुझ्नै सकेकी छैन, सपनामा जागा बसेकी म, अहिले बिहानसम्मै साँच्चैको जागा कसरी भएँ ? मलाई यत्ति भन्दिनोस्, त्यो सपना थियो कि विपना ?’
मैले केही बोल्नै सकिनँ । भान्छाबाट निस्केर सोझै कोठामा गएँ । रुकस्याकमा सरसामान कोच्न थालेँ । सबै सामानलाई सकुशल प्याक गरेको पक्का भएपछि झोला भिरेर कोठाबाट निस्केँ । सरासर भान्छामा गएँ । आइमाई भान्छामा थिइन । उसको बेडरुममा गएँ । त्यहाँ पनि ऊ थिइन । पछाडिको ढोकाबाट आँगनमा निस्केँ । अगाडिको बाटोमा निस्केँ । अहँ, आइमाई त्यहाँ पनि थिइन । पर्स निकालेँ । अनुमानित हिसाब गरेँ । फर्केर भान्छाको टेबलमा एक हजारको नोट राखेर बाहिर निस्केँ ।
बाहिरका हरेक घरमा ताला लागेको थियो । अस्ति भेटिएकी बूढी भोटेनीको घर पनि खाली थियो । गाउँको थाप्लाको गुम्बामा गएँ । गुम्बामा पनि ताला लगाइएको थियो । गुम्बाबाट पूरै गाउँ देखिन्थ्यो । तलको खेत पनि देखिन्थ्यो तर जसरी गाउँ सुनसान थियो, खेत पनि खाली थियो । गधा, खच्चड, घोडा, मान्छे, भेडा, अहँ केही थिएनन् । आकाशमा तीनवटा गिद्धहरू उडिरहेका थिए । गिद्धको पछिपछि एक जोडी फुस्रा काग भुर्भुराउँदै थिए ।
कुनै किचकन्नीको फेला परेजस्तो डर लागेर आयो । के उसका पैताला उल्टा परेका थिए ? प्रश्न उब्ज्यो । गौर गरेर सम्झन खोजेँ । अहँ सकिनँ । उसको अनुहारको आकार झलझली सम्झनामा आयो । पुष्ट अपुष्ट सम्झनामा उसका दुई थान नरम स्तनहरूको स्पर्शीय आकार सम्झनामा आयो । रौँविहीन उसको योनिको पनि सम्झना आयो । उसको अर्धचन्द्राकार नाइटो, डोलमडोल गर्धन, पातला ओठ, चिम्सी आँखा, भुक्के गाला…। शरीरका सबका सब अङ्गहरूको सम्झना आयो तर उसको पैतालाको सम्झना आएन । उसको पैताला कता फर्केको थियो ? कतिवटा औँला थिए ? नङ कत्रा थिए ? (बुक–हिलद्वारा सार्वजनिक गरेको गनेस पौडेलको उपन्यास पैतालाको अंश)