लक्ष्मीप्रसाद उपाध्याय
चितवन, १४ जेठ – कोसी टप्पु क्षेत्रमा मात्र देखिने गरेको जङ्गली भैँसी (अर्ना) पछिल्लो समय चितवनका जङ्गलमा रमाउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र १४ वटा अर्नालाई घाँसे मैदानमा सिँघौरी खेल्दै, पोखरीमा नुहाउँदै र कराएर मैदानको बीचमा दगुर्दै गरेको सहजै देख्न पाइन्छ ।
गत माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र ललितपुरस्थित चिडियाखानाबाट तीन गरी १५ वटा अर्ना ल्याएर चितवन राष्ट्रिय निकुञ्जमा छाडिएका थिए । तर, चितवनका जङ्गलमा अर्ना भएको यो नै पहिलोपटक होइन । परम्परागत रूपमा अर्नाको बासस्थान रहेको अर्ना ६० वर्षअघि चितवनका जङ्गलबाट लोप भएको थियो । अहिले ६० वर्षपछि अर्नालाई यहाँ पुनःस्थापना मात्र गरिएको हो । सन् १९५० को दशकका चितवनमा पनि अर्ना अस्तित्वमा रहेको अध्ययनले देखाए पनि पछिल्लो चरणमा कोसी टप्पुमा मात्र अर्ना पाइने गरेको छ ।
विश्वकै अत्यन्तै दुर्लभ वन्यजन्तु अर्नाको बस्ती विस्तार गर्न सरकारले कोसी टप्पुजस्तै स्थानको अध्ययन गर्ने क्रममा चितवन सम्भाव्य स्थानको पहिचान गरी लामो अध्ययन गरेको थियो ।
कोसी टप्पु र चितवनमा धेरै किसिमका समानता भएकाले अर्नालाई कोसी टप्पुबाट चितवनमा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । विभागले विश्व वन्यजन्तु कोषको आर्थिक तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहयोगमा कोसी टप्पु र चितवनका जङ्गलमा अर्नाको उपयुक्त बासस्थानबारे लामो अध्ययन गरेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेलका अनुसार चितवनमा अर्ना ल्याइसकेपछि हाल कोषका प्राविधिकहरूले निकुञ्जसँगको सहकार्यमा निरन्तर रूपमा अर्नाको बासस्थान, पानीको व्यवस्थापन, घाँसे मैदानको अवस्था, घाइते अर्ना तथा बिरामी अर्नाको उपचार लगायतका कार्य गरिरहेका छन् ।
निकुञ्जको सौराहा कार्यालयबाट आठ किलोमिटर टाढा निकुञ्जभित्र अर्ना संरक्षणका लागि विशेष संरक्षित क्षेत्र निर्माण गरिएको छ; जहाँ पानी पोखरीको व्यवस्थापन, घाँसे मैदान निर्माण तथा अन्य वन्यजन्तुले आक्रमण गर्नसक्ने स्थितिलाई ध्यानमा राखी सौर्य तारबारको व्यवस्था गरिएको छ ।
महानिर्देशक खड्काका अनुसार ३० हेक्टर क्षेत्रफलमा अर्ना संरक्षण विशेष क्षेत्र निर्धारण गरिएको छ । यसका लागि सरकारलाई विश्व वन्यजन्तु कोषबाट हरियो वन कार्यक्रममार्फत आर्थिक सहयोग प्राप्त भएको छ ।
तीस हेक्टर क्षेत्रफलवरिपरि सौर्य तारबार लगाएर अर्नालाई उपयुक्त बासस्थान निर्माण गर्दा चितवनमा अर्ना विस्तारै घुलमिल हुँदै जाने र बाघ, हात्ती, चितुवाजस्ता सिकार गर्ने वन्यजन्तुको आक्रमणबाट क्षति हुन नसक्ने भएकाले अर्ना सुरक्षित तरिकाले बाँच्नसक्ने आधार तयार भएको उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज सौराहा पोस्टका संरक्षण अधिकृत अविनेश पाठकले भन्नुभयो, “कोसी टप्पुको जस्तै वातावरण यता पाएपछि अर्ना चितवनका जङ्गलमा रमाउन थालेका छन्, हामीले गरेका नियमित रेखदेख तथा अनुगमनमा अर्नाको बानी व्यवहार कोसी टप्पुको जस्तै देखिएको छ, अर्नाले एक्लो महसुस गरेको असामान्य बानी व्यवहार हालसम्म देखाएका छैनन् । ”
स्थानान्तरण गरिएकामध्ये एउटा अर्ना मरेको छ । त्यो अर्ना चिडियाखानाबाट यहाँ स्थानान्तरण गरिएको हो । चिडियाखाना र खुला जङ्गलको वातावरण मिल्न नसक्दा मरेको हुनसक्ने अनुमान गरिएको छ । यसको प्रयोगशालाको प्रतिवेदन अझै आइनसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
कोसी टप्पुबाट ल्याइएका १२ वटा अर्नाको भने स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको कोषका सदस्यसचिव गजुरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोसी टप्पुबाट ल्याइएका अर्नाको स्वास्थ्य अवस्था सन्तोषजनक छ । ”
विश्वभर यसको सङ्ख्या तीन हजारको हाराहारीमा रहेको अनुमान छ । दक्षिण एसियामा नेपाल र भारतमा पाइने अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउँछ । नेपालको कोसी टप्पु क्षेत्रमा मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा पाइने गरेको छ ।
आठ सयदेखि एक हजार दुई सय किलोसम्मको वजन हुने अर्नाको आयु २५ देखि ३० वर्षसम्म हुने गरेको छ । पहिलोपटक सन् १९७६ मा गरिएको अर्नाको गणनामा ६३ वटामात्र भेटिएका थिए भने हाल कोसी टप्पु वन्यजन्तु आरक्षमा यसको सङ्ख्या दुई सयभन्दा बढी भएको अनुमान छ ।
विद्यावारिधि उपाधिका लागि अर्नाका विषयमा अनुसन्धानरत चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले चितवनमा अर्ना बचाउनसक्ने थुपै्र आधार भेटेर पुनःस्थापना गरिएको बताउनुभयो । सरकारले २० वटा अर्ना स्थानान्तरण गर्ने निर्णय गरे पनि यो वर्ष चितवनमा १५ वटा मात्र स्थानान्तरण गरिएको छ ।
Previous Articleगणतन्त्र नेपालको ऐतिहासिक कदम
Next Article गाउँबाट नै हराए ढिकी, जाँतो र घट्ट