म्याग्दी, १३ जेठ – पठनस्तरको पहिचान गर्ने विधिले विद्यार्थीको पढाईमा सुधार भएको म्याग्दीको मालिका गाउँपालिकाको एक विद्यालयमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । मालिका गाउँपालिका–६ दुखु अल्काचौरमा अवस्थित सती आधारभुत विद्यालयको पुस्तकालय समुदायमा हस्तान्तरण कार्यक्रममा नियमित पुस्तकालयको प्रयोगका साथै विद्यार्थीको पठनस्तरको पहिचान गर्ने विधि, स्तर अनुसारको पुस्तक बर्गिकरण लगाएतका विभिन्न मापदण्डको प्रयोगले विद्यार्थीको शैक्षिक गुणस्तरमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताइएको थियो । कार्यक्रमको उद्घाटन गदैं मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले सामुदायिक विद्यालयमा पूस्तकालयको आवश्यकता रहेको बताउँदै आगामी दिनमा समेत सहकार्य गरेर पुस्तकालय अभियान अगाडी बढाउने प्रतिबद्धता जनाए । रुम टु रिड नेपालको आर्थिक तथा गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङ मार्फत स्थापना भएको पुस्तकालय हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सन्तोष सुबेदी, जनप्रिय माविका स्रोतब्यक्ति तेजप्रसाद लामिछाने, वडा सचिव सोम बहादुर खत्रीले मन्तब्य राखेका थिए । सोही अवसरमा रुम टु रिड नेपालका कार्यक्रम अधिकृत मनोज सुबेदी र विद्यालय पुस्तकाय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले पुस्तकालय कार्यक्रमको महत्वका साथै संस्थागत गतिविधिका बारेमा जानकारी गराएका थिए । सन् २०१४ मा स्थापना भएको पुस्तकालयमा ४ हजार पुस्तक, फर्निचर सहित करिव ६ लाख बराबारको सहयोग गरिएको छ । साक्षरता समितिकी अध्यक्ष एवम् विद्यालयकी प्रअ देवी उपाध्यायको अध्यक्षा, स्वागत, शिक्षक चित्र जुग्जालीको प्रगति प्रतिवेदन र सञ्चालनमा सम्पन्न भएको थियो । यसैविच बावियौचारको मंगला माविमा रहेको पुस्तकालय समेत समुदायमा हस्तान्तरण गरिएको छ । चारबर्ष अगाडी स्थापना भएको पुस्तकालयको सम्झौता अनुसार समुदायमा हस्तान्तरण कार्यक्रममा हालसम्म गरिएका गतिविधि र आगामी ३ बर्षको कार्ययोजना सहित नमुना अभ्यास लगाएतका विभिन्न गतिविधिहरु प्रस्तुत गरिएको थियो । पुस्तकालय साक्षरता समितिका अध्यक्ष एवम् प्रअ गम बहादुर खत्रीको अध्यक्षता, शिक्षक रामचन्द्र पौडेलले स्वागत र प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको हर्क छन्त्यालले सञ्चालन गरेका थिए । म्याग्दी जिल्लाका ९९ सय वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालयको चारबर्षसम्म नियमित सहयोगसंगै समुदायमा हस्तान्तरण गरिएपनि आवश्यकता अनुसार पुस्तक र प्राविधिक सहयोग गर्ने गरिएको छ ।
Previous Articleम्याग्दीमा पहिलो पटक छात्रा फुटबल
Next Article दुर्घटनाग्रस्त विमानबाट तीनै जना जिवितै उद्दार