बागलुङ, ११ जेठ – स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत काँठेखोला गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचित सदस्यहरु मध्येबाट गाउँ कार्यपालिकामा ४ जना महिला र २ जना अल्पसंख्यक तथा दलित प्रतिनिधिका लागि निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको हो । मंगलवार उम्मेदवारी दिएका १५ जनामध्ये २ जना अल्पसंख्यक तथा दलित उम्मेदवार र १ जना महिला उम्मेदवारले मनोनयन फिर्ता लिएपछि १२ जनाको उम्मेदवारी कायम भएको हो । अल्पसंख्यक तथा दलितका तर्फबाट उमेदवारी दिएका कुलबहादुर वि.क. र प्रेम किसानले उमेदवारी फिर्ता लिएका छन् । अल्पसंख्यक र दलितका तर्फबाट निर्वाचित हुने २ जना प्रतिनिधिका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाका संयुक्त प्यानलका तर्फबाट टिका संगम वि.क र हेमलाल विश्वकर्मा तथा नेपाली कांग्रेसका तर्फबाट गोविन्द विश्वकर्मा र नरे दमाई प्रतिस्पर्धामा रहेका छन् । यस्तै महिलाहरुमा सम्झना नेपाली चर्मकारले उमेदवारी फिर्ता लिएपछि संयुक्त प्यानल र कांग्रेसको तर्फबाट ४÷४ जनाको उमेदवारी परेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाको संयुक्त प्यानलका तर्फबाट चित्रकुमारी थापा (शारदा), जमुनादेवी कंडेल, नैनकला खड्का र सुन्तली वि.क तथा नेपाली कांग्रेसको तर्फबाट खगिसरा न्यौपाने, गंभिरा थापा, तुलसा श्रीस र नरमाया थापा प्रतिस्पर्धामा रहेका छन् । काँठेखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ८ वटा वडाबाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरु गरी ४२ जनाले मतदान गर्ने गाउँकार्यपालिकाको निर्वाचन जेठ १७ गते हुने निर्वाचन अधिकृत ध्रुव गिरीले बताए ।
Previous Articleजनप्रतिनिधीलाई बधाई दिईयो
Next Article यस्ता छन् नगर र गाउँ प्रमुखका पहिलो योजना