बागलुङ, ११ जेठ – सामान्यतया कुनै पनि संस्थाको पहिलो निर्णयले दिर्घकालिन अर्थ राख्ने गर्छ । २० बर्षपछि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जिल्लाका जनप्रतिनिधिले गरेका निर्णय र उनीहरुले लिएका योजनाले पनि जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसै क्रममा कसले के निर्णय गरेत ?
जनक पौडेल ः बागलुङ नगरपालिकाको प्रमुखमा बिजयी भएपछि जनक पौडेलले लामो समय देखि बन्द भएको अटो रिक्सा चलाउने निर्णय गरेका छन् । अदालतमा मुद्दा परेकोले रोकिएको रिक्साहरु फुकुवा भएपछि पनि संचालनमा आएका थिएनन् । जनप्रतिनिधिको हैसियतमा उनीहरुलाई संचालन गर्न दिने गरी प्रकृया थाल्ने पौडेलले बताए । साथै उनले पहिलो बैठकबाटै जनप्रतिनिधिहरुले मदिरा सेवन नगर्ने र कुनैपनि सार्वजनिक भोज भतेरमा मदिराको प्रयोग नगर्न निर्देशन दिने निर्णय पनि गरेका छन् । उनले श्रमिकहरुको काम गर्ने क्रममा मृत्यु वा घाईते भएमा २ लाख रुपैयाँ सम्मको बिमा गराईदिने निर्णय पनि गरेका छन् । ‘पहिलो बैठकमा केही देखिने निर्णय गरौं भनेर यस्ता विषयमा गएका हौं’ पौडेलले भने, ‘सैद्धान्तिक र प्रशासनिक सुधारको लागि अवको बैठकमा निर्णय गर्दै जाने उनले बताए ।
भरत शर्मा गैह्रे ःगलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैह्रेले दोश्रो प्रकृयाको निर्वाचनपछि आउने सदस्य थप भएपछिको पूर्ण बैठकले मात्र दिर्घकालिन असर पर्ने निर्णय गर्ने बताए । तर उनले पहिलो बैठकबाटै निर्णय गरेर कम्तिमा सबै वडामा पुग्ने सडकको स्तरउन्नती गर्ने बताए । ‘मुख्य राजमार्गबाट साविकका गाविस जोड्ने सडकलाई स्तरउन्नती गरेर बर्षातमा पनि सहज चलाउन सकिने बनाउने हाम्रो योजना छ’ गैह्रेले भने, ‘निर्वाचन जित्नका लागि गरिएका बाचा पुरा गर्ने हाम्रो पहिलो कर्तव्य हो ।’ ऐतिहासिक राज्य समेत भएकोले गलकोटको पहिचान राख्ने तथा सबैको सहकार्यमा काम गर्ने उनको प्रतिवद्धता छ । जित्नेले जितेको जस्तो र हार्नेले हारेको मनस्थिति बन्न नदिने उनले बताए । गलकोट क्षेत्रमा खानेपानीको अभाव भएकोले त्यस तर्फ पनि तत्काल पहल गर्ने उनले बताएका छन् ।
ईन्द्रराज पौडेल ः जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले लामो समय देखि कुश्मीसेरा देखि दक्षिणका सबै क्षेत्रमा सडकको समस्या भोग्ने जनतालाई राहत दिने बताए । उनले औपचारिक निर्णय नगरेपनि सडक संजालबाट जोडेर पैदल यात्रा गरेर थाकेका जनतालाई मोटर चढ्ने अवसर दिने प्रतिवद्धता जनाए । दुरीले नजिक भएर पनि ढोरपाटन भन्दा दुर्गम मानिएकोले अवका दिनमा सहज पहुँच भएको क्षेत्र भन्ने चिनाउने उनको चाहना छ । चर्चामा रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले औपचारिक निर्णय नगरेपनि महत्वकांक्षि योजनाहरु अगाडि सारेका छन् । उनले निशुल्क शिक्षा र स्वास्थ्यलाई गाउँ सम्म पु¥याउने बताए । निर्वाचनको एजेण्डा पनि उनले त्यस्तै प्रकारको बनाएका थिए । उनले निशुल्क यातायातको समेत चुनावी नारा दिएकोले आश्वासन कार्यान्वयनका लागि भने आगामी दिनको काम हेर्न बाँकी छ ।
तारानाथ पौडेल ः निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेलले शिक्षाको विकासलाई पहिलो प्राथमिकता दिएका छन् । भन्छन्, ‘शिक्षा बिना अरु विकासको परिकल्पना गर्न सकिंदैन, त्यसैले गुणस्तरीय शिक्षाको विकासमा जोड दिंदैछु ।’ आवस्यक कार्यक्रम बनाएर गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा सहज पहुँचको व्यवस्था उनको प्राथमिकतामा परेको छ । जिल्लाका अति गरिव र चेतनाको अभाव भएकाहरु धेरै बस्ने भएकोले विकासको आवस्यकता बारे बुझाउनु बढी चुनौतीपूर्ण भएको उनले बताए ।
कृष्णप्रसाद शर्मा ः बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले भने बरेङलाई बजार केन्द्रीत सडकको विकासमा जोड दिने बताए । पहिलो काम गाउँलाई नजिकको मुख्य बजारमा जोड्ने भएकोले गुल्मीको शान्तिपुर जोड्ने सडकको स्तरउन्नती गरेर स्वास्थ्य सेवा लिनेलाई सजिलै अस्पताल सम्म पुग्ने वातावरण बनाउने बताए । साथै कृषि, वन, पर्यटन र खानीको विकास गर्ने दिर्घकालिन योजना रहेको उनले सुनाए । यो क्षेत्र पनि शिक्षामा पछाडि परेकोले गुणस्तरीय शिक्षामा जोड दिने, यो क्षेत्रमा रहेको एउटा मात्र क्याम्पसलाई शिक्षा संकायको पढाई बाट बढाएर बहुमुखी बनाउने योजना राखेको शर्माको भनाई छ । नीतिगत निर्णय गर्ने नेतृत्व भएकोले अन्य काम गर्ने वातावरण बनाउन विज्ञ समूह गठन गर्ने पनि उनले बताए ।
जोकलाल बुढा ः तमानखोलाका प्रमुख जोकलाल बुढाले भने बैठक नबसेकोले औपचारिक निर्णय नगरेको बताए । तर उनले पहिलो चरणमा गाउँपालिका कार्यालय बनाउने देखि ग्रामीण बस्तीलाई मोटरबाटोले जोड्ने काम पहिलो प्राथमिकतामा पर्ने बताए । साथै उनले बर्षातमा सवारी चल्ने बनाउन हुन्द्रा फेदीमा पक्की पुल हाल्ने र संचारको पहुँच विस्तार गर्ने बताए । ‘फोन समेत नलाग्ने धेरै ठाउँ भएकोले संचारकै विकासमा जोड दिनेछु’ उनले भने, ‘कम्तिमा कार्यालय र केही प्रमुख स्थानमा नेट चल्ने बनाउन सकियो भने कामकाजमा पनि सहजता हुनेछ ।’ शिक्षा र स्वास्थ्यको सुधार गराउने काम थाल्ने पनि उनले बताए । पहिलो चरणको निर्वाचन सकिएपनि गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन बाँकी रहेकोले कतिपयले औपचारिक निर्णय लिन पाएका छैनन् । तमानखोलाका प्रमुख बुढाले बैठक बस्ने घर समेत पाउन नसकिने अवस्था रहेकोले पूर्वाधार निर्माणमा तत्कालै खट्नुपर्ने बाध्यता भएको पनि सुनाए ।
अमर थापा ः काठेखोला गाउँपालिकाका प्रमुख अमर थापाले पदभार ग्रहण गरेका छैनन् । तर उनले पहिलो चरणमा कार्यालय व्यवस्थापनकै चुनौती देखेको बताए । बिहुँको एक पुरानो घरमा भाडामा बसेको कार्यालयलाई विस्तार गरेर सहज बनाउने बताए । साथै जनताको आवस्यकताको आधारमा विकासका योजना अगाडि बढाउने उनले योजना बुनेका छन् । चुनावका बेला गरेका प्रतिवद्धता सहित सहज सडकको पहुँच, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा बढी जोड दिनुपर्ने बताए । पदभार ग्रहणपछि सबै प्रतिनिधिको समेत भावना समेटेर दिर्घकालिन र तत्कालिक निर्णय लिईने बताए ।
मेयरसिंह पाईजा ः बडीगाढखोलाका प्रमुख मेयरसिंह पाईजा लघुविद्युत उत्पादनको क्षेत्रमा अनुभवि मानिन्छन् । उनले अवको विकासमा बढीगाढ गाउँपालिकामा थप लघुविद्युतको उत्पादन बढाएर उज्यालो र धनी बनाउने लक्ष राखेको बताए । साथै उनले शिक्षामा पनि पछाडी परेकोले शिक्षाको विकासमा पनि जोड दिने उनले बताए । भौगोलिक रुपमा यो स्थान बढी ग्रामीण र दुर्गम रहेको पनि उनले बताए । यातायातलाई सहज बनाउने काम चुनौतीपूर्ण भएकोले बजेटको जोहोमा लाग्ने पनि बताए । विकासको काम गर्दा सबैको साथ र सहयोग बाट अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।
प्रकाश घर्ती ः तारा खोलाका प्रमुख प्रकाश घर्तीले गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर बढाउने निर्णय गरेको बताए । उनले खस्कंदो शिक्षालाई उकास्ने गरी सबै प्रअ र अभिभावकहरुको सहकार्यमा अगाडि बढ्ने निर्णय भएको हो । त्यस्तै सबै वडा कार्यालय व्यवस्थापन गरेर आवस्यक जनशक्ति माग गर्ने र गाउँपालिकको भवनलाई तला थप गर्ने निर्णय गरेको पनि बताए । विकासका योजना संचालनका लागि सर्वदलीय सर्वपक्षिय भेलाको समेत आयोजना गरिएको उनले जानकारी दिए ।