बागलुङ, ११ जेठ – काँठेखोला गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई लेखानीबासीले मंगलबार स्वागत तथा वधाई ज्ञापन गरेका छन् । जनताका समस्यालाई पहिचान गरेर समाधानका लागि तत्पर रहन आग्रह गर्दै लेखानीवासीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेका हुन् । नेकपा एमाले काँठेखोला गाउँपालिका वडा नं. ८ लेखानी वडा कमिटिले आयोजना गरेको स्वागत तथा वधाई ज्ञापन कार्यक्रममा स्थानीयले काँठेखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा एमालेका जिल्ला सदस्य अम्मरबहादुर थापा, वडा नंं ८ का वडा अध्यक्ष चित्रकला छन्त्याल, वडा नं. ७ को वडा सदस्यमा निर्वाचित चित्रकुमारी थापा लगायतलाई स्वागत तथा वधाई ज्ञापन गरेका हुन् । काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापा र वडा नं. ८ का नवनिर्वाचित वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीसले जनताले दिएको अभिमत अनुसार जनभावनाको कदर गर्दै विकास निर्माणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले जनताको आवश्यकताका आधारमा योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय जलस्रोत तथा उर्जा विभागका सदस्य हिराबहादुर केसीले लेखानीको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने लेखानीवासीलाई धन्यवाद ज्ञापन गरे । उनले नेकपा एमालेको एजेण्डा र अडानका कारण देशव्यापी रुपमा एमालेप्रति जनलहर देखिएको र लेखानीवासीले त्यसलाई पुष्टी गरेको बताए । नेपाली कांग्रेसको गढका रुपमा रहेको लेखानीमा पहिलो पटक नेकपा एमालेले वडा अध्यक्षमा विजय प्राप्त गरेको हो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसी, जिल्ला सदस्य श्याम पुन, क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्की, क्षेत्रीय सचिवालय सदस्य हरिबहादुर कुँवर, नेकपा एमाले रेशका अध्यक्ष कृष्णबहादुर कार्की, समाजसेवी डम्बरसिंह घर्ति, शिक्षक झकबहादुर सुनार, समाजसेवी एकबहादुर काउचा, महिला मुल समिति लेखानीका सदस्य कौशिला कंडेल, समाजसेवी क्याप्टेन शेरबहादुर छन्त्याल, समाजसेवी रणबहादुर पुन लगायतले वधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेकपा एमाले काँठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका अध्यक्ष बेलबहादुर जि.सी.को अध्यक्षता, उपसचिव भक्तबहादुर पुनको सञ्चालन र आर्थिक विभाग प्रमुख मनबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो । २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसले एकछत्र विजय प्राप्त गर्दै आइरहेको लेखानीमा यसपटक वडा अध्यक्षमा नेकपा एमालेका तर्फबाट चित्रकला छन्त्याल विजयी भएकी हुन् । अन्य ४ जना सदस्य भने नेपाली कांग्रेसबाट नै विजयी भएका छन् ।
आदर्श सञ्चारको बधाई
बागलुङका नवनिर्वाचित जनप्रतिनिधिहरुले समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी माध्यम नै उपयुक्त विकल्प भएको बताएका छन् । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले स्थानीय तहमा निर्वाचित संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको सम्मानमा बुधवार आयोजना गरेको वधाई तथा शुभकामना कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । आयातका कारण जनतासंग भएको पूँजि बाहिर गैरहेको भन्दै जनप्रतिनिधिहरुले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमा जोड दिने बताएका छन् । कार्यक्रममा बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनक पौडेल, काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापा र बानपा–३ का नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले सहकारी मार्फत समाज रुपान्तरणका लागि सहयोग र समन्वय गर्नका लागि सबैसंग आव्हान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसीले जनप्रतिनिधिहरुलाई वधाई ज्ञापन गर्दै तल्लो तहका जनताको समृद्धिको योजना बनाएर अगाडि बढ्न आग्रह गरिन् । कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, कोषाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleसलाम ! पहिलो दलित उम्मेदवार देवकुमारलाई
Next Article कार्यपालिकाका लागि निर्वाचन शुरु