उजिर मगर
यतिबेला ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चामा छ । एक पहिलो दलित मेयर, दोस्रो ढोरपाटनमा एमालेको विजयी । अहिलेको बुर्तिबाङ नगर पहिलाको चार गाविसको समष्टि हो । बुर्तिबाङ, खुंगा, अधिकारीचौर, बोबाङ । राज्यले संरचना फेर्दानफेर्दै यो पटक अन्तजस्तै ढोरपाटनलाई चुनाब लागिसकेको थियो । चुनाव खेल्न सक्नेले नै जित्ने निर्दिष्ट अभियान हो । यो पटकको चुनाबमा राष्ट्रवादको नाराले एमाले जगैदेखि जागेको थियो ।
यही माहोलमा ढोरपाटन मेयरमा देवकुमार नेपाली विजयी भएका छन् । समाजसेवाका नाममा गाउँगाउँ हेलिकप्टरमा पुग्ने देवकुमार, जगबाट जागेको एमाले, ५१ प्रतिशत बढी दलित मतदाता, प्रशस्त आर्थिक पहुँच, आफ्नै एफएमबाट दैनिक समाचार अपडेट उनको विजयको कारण हुनसक्छन् । सूर्य चिन्हको ब्यानरमा उम्मेदवार बनेका देवकुमारको जितमा एमालेले खुशी मनाउनु स्वभाविक हो । तर के यो जित साँच्चै एमालेको हो ? अथवा देवकुमारको आफ्नै ? यसको जवाफ त्यति सहज छैन । पुराना एमाले एवं मेरा अंग्रेजी विषयका गुरु बेगबहादुर पुन, पूर्व जिविस उप–सभापति मोहनलाल शर्मा, टंक पौडेल, गोकुल शेरचन, लीला शेरचनसँग पनि यो प्रश्नको जवाफ छैन ।
को हुन् देवकुमार नेपाली
२०४५ सालतिर बुर्तिबाङ वरपर देवकुमारको चर्चा बढ्यो । त्यतिबेला उनी भलिबलको अब्बल खेलाडी थिए । तात्कालीन उत्तरगंगा माविका विद्यार्थी उनको चर्चा विं.सं. ५० को दशकसम्म आइपुग्दा युवा पुस्तामा अझ चुलियोे । ‘देबकुमारले स्पाइक हानेपछि कसैले उठाउन सक्दैन’, त्यतिबेला बाग्लुङका युवा माझ एउटा भनाइ स्थापित भयो । हुन पनि क्षेत्रीय तहमा भलिबल खेल्न गएका देवकुमार कहिल्यै रित्तो हात फर्किएनन् । उनी सधैँ देवकुमार कहलीरहे । भलिबल खेल्ने क्रममै रणसिंह किटेनीबाट एक मगर युवतीसँग विवाह गरे । पछि उनको चर्चाको विषय फेरियो । ‘दमईको छोराले मगर्नी विवाह ?’, उनी फेरि चर्चित बने । विवाह पछि देवकुमारले बुर्तिबाङमा एउटा फेन्सी पसल खोले । त्यतिबेला बुर्तिबाङमा नेकपा मसालको जगजगी थियो ।
संयोग माओवादीले बेनी आक्रमण गर्दा तिनै बराल बेनीस्थित नेपाल बैंकका हाकिम थिए । यी सबै संयोगहरु देवकुमारसँग साइनो राख्दैन तर यी विषयबिना उनको आर्थिक विश्लेषणको पाटो अपुरै रहन्छ । बुर्तिबाङको तल्लो बजारमा पक्की घरसहित उनले व्यापार सुरु गरेका थिए । त्यहीँदेखि उनले राजनीति चाखे । उनको राजनीतिक पृष्ठभूमि मसालसँग जोडियो । सरल स्वभावका उनीसँग युवाको हिमचिम बढ्नु स्वभाविक थियो । धेरै समय उनी युवासँगै रम्थे । त्यसको अर्को सामाजिक पक्ष देखियो त्यो के भने देवकुमारका हकमा बुर्तिबाङ बजार जातीय भेदभावका विषयमा नरम बन्न थाल्यो । बुर्तिबाङ वरपर देवकुमारको हकमा केही छुवाछुतको कुरा उठाउन सक्ने स्थितिमा रहेन । हो यसर्थमा छुवाछुत मुक्तिको दिशामा उनको योगदान महत्वपूर्ण रह्यो । त्यतिबेला कथित ‘उपल्लो जात’काहरुलाई ‘ओई र तँ’ भनेर सम्बोधन गर्ने हिम्मत उनीमा मात्रै थियो । २०५४ को स्थानीय चुनावपछि मसालबाट लीलबहादुर थापा मगर जिल्ला विकास समितिको सभापति बने । उनको हिमचिमबाट प्रहरी राशनको ठेक्कामा प्रवेश गरे देवकुमार । २०५५ देखि देवकुमारले बुर्तिबाङ छोडे । फेन्सी छोडेर हिँडेका देवकुमारले ढोरपाटनमा बसोबास गर्ने एक तिब्बतीयन युवतीसँग दोस्रो लगनगाँठो कसे । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले पोखरामा साइकल होलसेल पसल सुरु गरे । बुर्तिबाङ वरपरका क्लब एवं गाउँका सामाजिक काममा दान गर्न उनी हेलिकप्टर लिएर जान थाले । त्यतिबेला पोखरामा उनलाई स्थापित गराउन गल्कोटका पुराना माओवादी कमरेड पहाड (मेखबहादुर विक) ले निकै सहयोग गरेका थिए ।
देवकुमार बुर्तिबाङमै हुँदा नेपाल बैंकमा सूर्य बराल (हाल सेवा निवृत्त) हाकिम भएर गएका थिए । उनीसँग देवकुमारको २०५५ तिर निकै राम्रो सम्बन्ध बन्यो । अहिले बित्त क्षेत्रमा देवकुमारको लगानी बढ्नुमा बरालको सुझाव सल्लाह हुनसक्ने धेरैले अड्कल गर्छन् । संयोग माओवादीले बेनी आक्रमण गर्दा तिनै बराल बेनीस्थित नेपाल बैंकका हाकिम थिए । यी सबै संयोगहरु देवकुमारसँग साइनो राख्दैन तर यी विषयबिना उनको आर्थिक विश्लेषणको पाटो अपुरै रहन्छ ।
पोखराबाट देव गुरुङले चुनाव जित्दा देवकुमारले ठूलै सहयोग गरेका थिए । गुरूङसँग उनले मितै लगाए । पोखरामा देव गुरूङका भरपर्दा सहयोगी उनै देवकुमार हुन् । पार्टी विभाजनका क्रममा देवकुमार गुरूङसँगै रहे । पार्टी एकतापछि बागलुङका हिल, तारा, अर्गलमा बादललाई हेलिकप्टरमा सयर गराउने उनै देवकुमार हुन् । दोस्रो संविधानसभा चुनावमा बागलुङ क्षेत्र नम्बर २ बाट माओवादीका उम्मेदवार लीलबहादुर थापा मगरको चुनाबी अभियान खर्च उनकै काँधमा थियो । आर्थिक रुपले फड्को मार्दै गइरहेका बेला देवकुमारले जिन्दगीमा नसोचेको बज्रपात आइलाग्यो । ब्याडमिन्टनमा राष्ट्रिय खेलाडी बनिसकेका छोरा गुमाउँदाको पीडा उनले सहे । पहिलैदेखि समाजिक काममा अगाडि देखिने उनी त्यो घटनापछि अझ सक्रिए देखिए । महिनाको ४ पटकसम्म हेलिकप्टरमा शिक्षा, खेलकूद सामग्री, खानेपानी कार्यक्रम लिएर उनी बुर्तिबाङ पुग्न थाले । गाउँ–गाउँमा समाज सेवाका लागि हेलिकप्टरबाट जाँदा उनले सञ्चारको महत्व बुझे । बुर्तिबाङमा दुईवटा एफएम हुँदाहुँदै देवकुमारकै पहलमा अर्को रेडियो स्थापनाको पृष्ठभूमि पनि यही नै हो ।
यसरी बाजी मारे
बागलुङ क्षेत्र नम्बर ३ को केन्द्र समेत रहेको ढोरपाटन नगरपालिकामा देवकुमारको बिजय हुनुमा रोचक संयोगहरु छन् । जुन विषय सामान्य सोचभन्दा निक्कै नै फरक लाग्छन् । पहिलो चरणको चुनावमा ढोरपाटन नगरपालिकाको मेयर को बन्ने भन्नेमा उनको नाम कतै थिएन । कुनै पार्टीबाट उनी पनि चर्चा थिएनन् । २०५१, ०५४ को निर्वाचन र २०५६ को संसदीय चुनावमा एमालेसँग मिलेर नेकपा (मसाल)को जनमोर्चाले एकक्षत्र विजय हासिल गरेको ठाउँ हो यो । बाम तालमेलको नाममा एमाले सधैँ मसालको छायाँ बनेर बसेको थियो ।
सूर्य चिन्हको ब्यानरमा उम्मेदवार बनेका देवकुमारको जितमा एमालेले खुशी मनाउनु स्वभाविक हो । तर के यो जित साँच्चै एमालेको हो ? अथवा देवकुमारको आफ्नै ? यसको जवाफ त्यति सहज छैन । यो चुनाबमा कांग्रेस एक प्रकारले खुशी थियो । किनभने यो पटक वामपन्थी तालमेलको टुंगो लागेन । मसालले जसोतसो वडा नम्बर २ र ४ मा आफ्नो मत सुरक्षित गर्ने रणनीति बनायो । उसलाई अस्तित्वको रक्षा गर्नु थियो, त्यसमा सय प्रतिशत नै सफल भयो । मसालको यो ‘संसार जिताई’ हो । यसकारण मसालका पुराना, पाका कार्यकर्ता गाउँमै छन् । र उनीहरु नै निष्ठाका साथ उम्मेदवार बने र जिते पनि । राजनीतिक अडानकै कारण मसालले २ वटा वडा जित्न सफल भयो । माओवादीमा निक्कै दम्भ थियो ढोरपाटन जितिन्छ भन्नेमा । ७० को चुनावमा थोरै मतले पराजित भएका तुल्सीराम अर्याल खलक वरिपरि ढोरपाटन नगरपालिको राजनीति घुम्दै आएको छ । ढोरपाटनमा पुराना युद्ध लडेका माओवादी ५ प्रतिशत पनि छैनन् । अहिले बनेका माओवादी सबै मसाल पृष्ठभूमीबाटै आएका हुन् ।
साविकका ४ गाविसमा २०५४ को स्थानीय चुनावलाई कांग्रेसले मूल्याकंन गरेन । ३ गाविस जनमोर्चा र एक एमालेले जितेको थियो त्योबेला । ती गाविसहरु गभिएर ढोरपाटन नगरपालिका बनेको थियो । २०७० को चुनावमा झिनो मतले सभासद्मा पराजय भए । बोबाङका अध्यक्ष शेरमान घर्ती मगर यसपाली माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बने । उनी चौंथो पोजिसनमा झर्नु प¥यो । वडा नम्बर १ मा माओवादी केन्द्र, २ र ४ मा मसाल, ३ मा वैद्य माओवादी निकट बिजय हुनु रमाइलै पक्ष हो । पहिलो चरणको चुनावमा वैद्य माओवादीको एक मात्र सिट सम्भवतः त्यही हो । माओवादी जिल्ला नेतृत्वमै तालमेलको विवादपछि समर्थक अलमलमै थिए । माओवादी केन्द्रले मनोनयन गर्ने बेलासम्म देवकुमार माओवादी नै थिए । जब एकाएक एमाले बने त्यसपछि ढोरपाटनमा अर्को नयाँ राजनीतिक समीकरण देखियो ।
माओवादी केन्द्रमा रहेका मगर समुदायका अति जातिवादी मुद्दा । उम्मेदवार चयनमा बैठकमै ‘तँ तँ र म म’ को आरोप, प्रत्यारोप। चुनावी खर्चको अभाव, सबै टिम स्पिरिडमा कमी, उम्मेदवारको कार्यशैलीले उ चौथोंमा पुग्नु स्वभाविक थियो । २० वर्षअघि जुन ढंगले बोबाङमा अध्यक्ष जित थियो, आफ्नो मत समेत सुरक्षित गर्न नसक्नु माओवादी केन्द्रका उम्मेदवारको कमजोरी हो ।
मनोनयनको प्रक्रिया शुरु हुँदासम्म एमालेले ढोरपाटनमा मेयर, उप–मेयरको उम्मेदवार पाएकै थिएन । वाम तालमेलबाट जानुपर्छ भन्ने उसको पहल थियो । माओवादीको घमण्ड, जनमोर्चाको जडले गर्दा त्यो हुन सकेको थिएन । बागलुङ जिल्लामा वाम तालमेल एक प्रकारले अनिश्चित बन्दै गएको थियो । त्यहीबेला एकाएक देवकुमार एमालेको सूर्य चिन्ह लिएर वैशाख २० गते उम्मेदवार बन्न पुगे । यहाँनेर प्रश्न उठ्छ राजनीति कति गरेकाले चुनाव जितिन्छ ? यसको जवाफ सरल छैन । यी सबै विषयको पृष्ठभूमिमा देवकुमार उदाएका छन् । राजनीतिमा अन्तिम छिनोफानो मतदाताले नै गर्ने हुन् । त्यसमा उनी विजयी बनेका छन् । उनका विभिन्न किसिमका पृष्ठभूमि रहँदारहँदै पनि समृद्ध ढोरपानका लागि नवनिर्वाचित मेयर देवकुमार नेपालीलाई बधाई ! (लेखक मगर पत्रकार महासंघका महसचिव हुन् ।)