बागलुङ, १० जेठ – गायिका एरियाना ग्रान्डीले आफ्नो कन्सर्टमा आतंककारी हमला भई कम्तीमा २२ जनाको अनाहक मृत्यु भएकोमा गहिरो दु:ख व्यक्त गरेकी छन् । म्यान्चेस्टरमा खचाखच भरिएको एरियानाको कन्सर्टपछि आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा आफू शारीरिक हिसाबले घाइते नभए पनि २३ वर्षीया अमेरिकी पप गायिकाले मानसिक रूपमा विक्षिप्त अनुभव गरिरहेको बताएकी छन् । ट्वीट गर्दै उनले भनेकी छन्, ‘विक्षिप्त । हृदयदेखि नै म एकदमै धेरै माफी माग्न चाहन्छु । यसका लागि मसँग अहिले शब्द नै छैन ।’
म्यान्चेस्टर एरिनामा सोमबार साँझ कन्सर्ट सकिएलगत्तै बम विस्फोट भएको थियो । गायिकाका म्यानेजरले समेत आफूहरूको मन टुटेको प्रतिक्रिया दिएका छन् । गायिका एरियानाका हजारौं फ्यान सहभागी कन्सर्टमा अधिकांश टिनएजर्स थिए । विस्फोटमा ५९ घाइते भएका छन् ।
१५ वर्षको उमेरमै ब्रोडवेको म्युजिकल १३ मा चियरलिडरको रूपमा सहायक भूमिकामार्फत सांगीतिक यात्रा थालेकी एरियानाले सन् २०१० देखि लगातार तीन वर्ष क्याट भ्यालेन्टाइनको मुख्य भूमिकामा भिक्टोरियस टीभी सोमा देखिएपछि बढी चर्चामा आइन् । त्यसअघि उनी थुप्रै एनिमेटेड टेलिभिजन सो र फिल्मका लागि स्वर दिएकी थिइन् । उनको पहिलो सिंगल ट्रयाक ‘प्रोब्लम’ आएपछि पहिलो स्टुडियो एल्बम ‘योर्स ट्रुली’ सन् २०१३ मा ल्याईन् । यो बिलबोर्ड २०० मा अग्रपंक्तिमा आउन सफल भयो । यसमा रहेको ‘द वे’ बोलको गीतले उनलाई बढी सफलता दिलायो । उनको स्वरलाई त्यति बेलै अमेरिकी गायिका मारिया क्यारीको रेन्ज हाराहारी रहेको भनी प्रशंसा गर्न थालिएको थियो ।
गत वर्ष मात्रै तेस्रो एल्बम ‘डेन्जरस वुमन’ निकालेकी एरियानाको उक्त एल्बमको टाइटल ट्रयाकले पनि बिलबोर्डमा एक नम्बरमा कब्जा जमाएको थियो । उनको हरेक एल्बमका गीतले उक्त सफलता पाउने दुर्लभ उपलब्धि पाएका थिए ।
आफूसँगैका माइली साइरसहरू ‘रिकिङ बल’ को भिडियोमा उन्मुक्त देखिइरहँदा एरियाना भने ५० को दशकका टिनएजर्सकी आइडल जसरी पोनी टेलमा बिराली कान हालेर देखा पर्थिन् । ‘खासमा मलाई यौनिक बनेर देखा पर्दा कन्फिडेन्ट नै आउँदैन,’ उनले न्युयोर्क डेली न्युजसँगको अन्तर–वार्तामा भनेकी थिइन्, ‘मेरो विचारमा संगीत नै पहिलो सर्त हो । फयानहरूले मेरो रूप वा गेटअप हेरेर जज गर्नुभन्दा गीत सुनेर गरिदिऊन् भन्ने म चाहन्छु ।’
त्यसो त एरियाना अफेयर्सका मामिलामा पनि त्यस्तो खुलेकी छैनन् । कहिलेकाहीं पुरुषसँग जबरजस्ती नाम जोडिन थालेपछि ग्रान्डीले भनेकी थिइन्, ‘म केटाहरूसँग आफ्नो नाम जोडाइएको देखेर हैरान परिसकें । न म बिग सिनकी पूर्वप्रेमिका हुँ, न त निल होरानकी हुनेवाली गर्लफ्रेन्ड नै हुँ । म केवल एरियाना ग्रान्डी हुँ ।’
Previous Articleप्रधानमन्त्रीको राजीनामाले निर्वाचनमा अन्यौल-एमाले
Next Article नयाँ सरकार गठन – यस्तो छ संवैधानिक व्यबस्था