काठमाडौं, १० जेठ – नेकपा (एमाले) ले आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन पुरानै संरचनाअनुसार गर्नुपर्ने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा वुधवार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको राजीनामाले निर्वाचनको सङ्घारमा अन्यौल थपेको निष्कर्ष समेत निकालेको छ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभाग प्रमुख एवम् पार्टी सचिव योगेश भट्टराईले निर्वाचनको सङ्घारमा प्रधानमन्त्रीको राजीनामाले झन् अन्योल थपेको बताए। सरकारले हालै गरेको सीमाङ्कन हेरफेर असंवैधानिक र नियम कानुनको मर्म विपरीत रहेको बैठकले ठहर गरेको बताउँदै उहाँले दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्नेमा जोड दिए।
एमालेले बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा स्थानीय तह थप्ने र सीमाङ्कन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन नै ओझेलमा परेको पनि ठहर गरेको हो।
अहिलेलाई ७४४ सङ्ख्यामै स्थानीय तहको निर्वाचन हुनपर्ने र स्थानीय तह हेरफेर गर्नु पर्ने नै भए पाँच वर्षपछि गर्नुपर्ने एमालेको धारणा रहेको उनको भनाइ थियो। नयाँ संरचनाअनुसार निर्वाचन हुन नसक्ने र निर्वाचन आयोगले पनि निर्वाचन गर्न नसक्ने बताउँदै उनले सरकारले हालै गरेको सीमाङ्कन हेरफेर एमालेलाई अमान्य रहेको भट्टराईले बताए।
बैठकमा प्रधानमन्त्रीको राजीनामा र विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताउँदै सचिव भट्टराईले प्रधानमन्त्रीको राजीनामा उनको व्यक्तिगत, पार्टीगत र सत्ता गठबन्धन पार्टीभित्रको निर्णय भएकाले कुनै टिप्पणी नरहेको उल्लेख गरे।
अब एमाले प्रधानमन्त्रीको दौडमा छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा सचिव भट्टराईले संसदीय अभ्यास गर्दै आएको पार्टी कुनै पनि संसदीय अभ्यासबाट पछि नहट्ने परिआए एमाले संसदीय प्रक्रियाअनुसार जान तयार रहेको बताए।
बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायत अधिकांश स्थायी कमिटी सदस्य सहभागी थिए।
प्रधानमन्त्रीको राजीनामाले निर्वाचनमा अन्यौल-एमाले
Previous Articleकांग्रेससँगको समझदारी अनुसार बढ्दैछु-प्रधानमन्त्री प्रचण्ड
Next Article मन टुट्यो गायिका एरियानाको