म्याग्दी, १० जेठ – जिल्लाको मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँका राम बहादुर पाण्डेको उपचारमा म्याग्दी प्रवासी नेपाली संघ (मोना यूएई)ले ५० हजार आर्थिक सहयोग गरेको छ । घरायसी प्रयोजनका लागि रुखमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाईते भएका पाण्डेको उपचारका लागि संकलन गरिएको आर्थिक मंगलबार एक कार्यक्रमका विच मोना यूएईका सचिव सुवास राम्जालीले अभियानका संयोजक बाबुराम आचार्यलाई हस्तान्तरण गरेका छन् । ‘उपचारमा आर्थिक समस्याको जानकारी पाएपछि केही रकम जुटाएका छौ, उहाँको स्वास्थ लाभको कामना गर्दछौ’ राम्जालीले भने । सहयोग हस्तान्तरण कार्यक्रममा संयोजक आर्चायले ठुलो परिवारको एउटै साहरा पाण्डे लडेर मेरुदण्डमा गम्भीर चोट लागेपछि काठमाण्डौको ट्रमा सेन्टरमा उपचार गरी हाल पोखरामा ल्याइएको बताए । उनले आर्थिक अवस्था कमजोर रहेको पाण्डेको दुवै खुट्टा चल्ने अवस्थामा नभएको र थप आर्थिक आवश्यकता रहेकाले उपचारमा सहयोग गर्न अपिल समेत गरेका छन् । उनले हालसम्म अभियानमा नगद कुल १ लाख ९४ हजार ८०४ संकलन गरिएको बताए । अभियानमा प्रतिबद्धता रकम समेत उठ्ने क्रममा रहेको बताए । अभियानमा पूर्णगाउँको राष्ट्रिय जनजागृति माविका शिक्षक र विद्यार्थीले १० हजार ९९०, अमेरिकामा रहेका हिरा बहादुर खत्रीले ५५०० रुपैयाँ समेत सहयोग गरेका छन् । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ती कोषले सुरु गरेको आर्थिक संकलन अभियानमा स्वदेश तथा विदेशमा समेत सहयोग संकलन अभियान भइरहेको छ ।