बागलुङ, ९ जेठ-ढोरपाटन नगरपालिकामा नगर कार्यपालिकामा हुने निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल हुने भएको छ । दुई पार्टिबीच भएको सहमतिलाई सोमबार पत्रकार सम्मेलन मार्फत जानाकारी गराइएको हो । नगरपालिकामा गठन हुने कार्यपालिकामा ८ जनामध्ये ५ जना निर्वाचित महिलाहरुबाट पुनः निर्वाचित गरिने प्रावधान छभने ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट निर्वाचित गरिने व्यवस्था छ । उक्त पदलाई सोमबार दुई पार्टीले ४÷४ पद विभाजन गरेको पत्रकार सम्मेलन मार्फत जानाकारी गराइएको छ । ५ जना महिला तर्फको पदमा एमालेलाई ३ र राष्ट्रिय जनमोर्चालाई २ जना तथा दलित तथा अल्पसँख्यक समुदाय तर्फबाट राष्ट्रिय जनमोर्चालाई २ र एमालेलाई १ जना हुनेगरि विभाजन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका मोहनलाल शर्माले जारी संविधानलाई कार्यान्वयन तहमा पु¥याउन तथा हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट गठित नगर समितिले समृद्ध नगरको विकासका लागि समेत बाम पार्टीबीच तालमेल गरि विकास निर्माणमा सहकार्य गर्ने उच्चस्तरीय सहकार्य भएको बताए । यस्तै राष्ट्रिय जनमोर्चाका धर्मबहादुर कुवँरले नगरको विकास, योजना निर्माण र स्रोत साधनको प्रयोगका लागि नगरपालिकामा निर्वाचित भएका दुई ठूला बाम शक्तिको एकता आवश्यक रहेकाले यसखालको तालमेल गरिएको प्रष्ट पारेका थिए । यसरी तालमेल हुँदा नगरपालिकाको निर्वाचित ४७ सदस्यमध्ये एमालेसँग १६ सदस्य रहेका छन्भने राष्ट्रिय जनमोर्चासँग १३ सदस्य गरी २९ सदस्य पुग्छन् । कार्यपालिका गठनमा बहुमत पुग्न २४ मत भए पुग्छ । दुई बामबीचको तालमेलले अत्याधिक बहुमत हुने भएपछि अब गठन हुने नगर कार्यपालिकामा पनि दुई बामको पूर्ण बहुमत हुने देखिएको छ । १९ सदस्यीय नगर कार्यपालिकामा एमालेबाट विजेता ३ वडा अध्यक्ष, २ मेयर र उपमेयर तथा अवको निर्वाचनबाट आउने ४ सदस्य गरि कुल ९ सदस्य पुग्ने छन् । उता राष्ट्रिय जनमोर्चाका निर्वाचित ३ वडा अध्यक्ष र निर्वाचित भएर आउने ४ सदस्य गरि ७ जना सदस्य हुनेछन् । दुई बामको गठबन्धनबाट १९ पदमा १७ सदस्य पुग्ने देखिन्छ । बाँकी ३ सदस्यमा माओवादी केन्द्र १, काँग्रेस १ र क्रान्तिकारी माओवादी १ रहने छन् । यसैबीच, नगरको दीर्घकालीन विकासका लागि दुई बामपार्टीले ५ सदस्यीय उच्च स्तरीय संयन्त्र निर्माण गरेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख देवकुमार नेपाली, एमालेका टंक पौडेल, चिन्तामणी शर्मा, राष्ट्रिय जनमोर्चाका केशकुमारी बुढा तथा वडा नं. ४ का वडा अध्यक्ष तिलक पुन तथा वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनको समेत उपस्थिति रहेको थियो । आयोजित कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका नरहरी भुसालले गरेका थिए ।