मुस्ताङ, ९ जेठ-उपल्लो मुस्ताङको ऐतिहासिक साँस्कृतिक महत्व बोकेको तीजी पर्व सोमबारदेखि शुरु भएको छ । चीनसंग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तीजी पर्व शुरु भएको हो । पन्ध्राँै शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले यो पर्व मनाउँदै आएका छन् । उपल्लो मुस्ताङको घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानिय साँस्कृतिक भेषभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् । यस पर्वमा भाईचारा साटासाट, दैवीप्रकोप र विश्वशान्तिको कामना गरिन्छ । स्थानिय भेषभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण रहेको लोमान्थाङका स्थानिय इन्द्रधारा विष्टले जानकारी दिए । ऐतिहासिक तीजी पर्व अवलोकन तथा सांस्कृतिक नृत्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ पुग्ने गरेका छन् । यस वर्ष पनि विदेशी पर्यटकहरुको संख्या बढेको र साना तथा ठुला होटलहरु भरीभराउ भएको होटल व्यवसायीले बताएका छन् । ‘गत मंसिरमा मुस्ताङे राजा जिग्मे पालबर विष्टको निधन भएकाले एक वर्षसम्म हामी उपल्लो मुस्ताङवासी दुःखमा छौँ । त्यसैले यस वर्ष साँस्कृतिक नृत्य भन्दा पूजापाठ बढि हुन्छ’, –स्थानिय इन्द्रधारा विष्ट भने ।
Previous Articleनिर्वाचन र निष्पक्षता
Next Article ढोरपाटनको विकासका लागि एमाले र जनमोर्चाबीच तालमेल