बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्ला स्थित सहकारी संघ संस्थाहरुको पाश्र्वचित्र (प्रोफाईल) नामक पुस्तक एक कार्यक्रमकबीच बिमोचन गरेको छ । सहकारी क्षेत्रमा रहेका कमी कमजोरीलाई सुधार गर्न तथ्याङकको आवश्यकता पर्ने भएकाले जिल्लाका सहकारीको यथार्थ अवस्था सार्वजनिक गरेको संस्थाले जनाएको छ ।
डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, दुग्ध सहकारी संघ, वचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसंगको समन्वयमा प्रकाशित पुस्तकमा जिल्लाका सबै सहकारीहरुको वित्तिय तथा सेवा क्षेत्रका बारेमा उल्लेख गरिएको छ । जिल्लामा दर्ता भएका ४ सय ६० सहकारी संघ संस्थामध्य २४ वटा खारेज भएको र करिब ३० वटा खारेजीको प्रक्रियामा रहेका छन् ।
उक्त पाश्वचित्र पुस्तक बिमोचन गर्दै राष्ट्रिय सहकारी बैँकका प्रबन्धक सञ्चालक केबी उप्रेतीले सहकारी आन्दोलनलाई अगाडी बढाउनका लागि नीति, नियम र सिद्धान्त अनुसार चल्नुपर्ने बताए । उप्रेतीले क्षमता विकास नभएका सहकारीलाई एकीकरण गर्दै सकरात्मक ढंगबाट एकताबद्ध भई अगाडी बढ्न आग्रह गरे ।
पुस्तकका बारेमा जानकारी गराउदैँ आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले जिल्लाका सहकारी संघ संस्थाको आर्थिक वर्ष २०७१÷०७२ को वित्तिय अवस्था अनुसार कुल शेयर रकम १ अर्व १७ करोड ३१ लाख ९७ हजार ७ सय ७५, बचत २ अर्व ७६ करोड ४९ लाख ४४ हजार ५ सय ८२, लगानी ३ अर्व १६ करोड ३८ लाख ७१ हजार ९ सय ३५ रहेको जानकारी गराए ।
यस्तै कुल आम्दानी ५० करोड ८४ लाख ३४ हजार ८ सय ५० र कुल खर्च ३९ करोड ८३ लाख ३३ हजार ४ सय ७ रुपैँया रहेको जिसीले जानकारी दिए । उनले जिल्लाका सहकारीहरुले आर्थिक वर्ष २०७१/०७२ मा ७ अर्बको कारोबार गरेको जानकारी दिए । सहकारीका अनुसार २ सय पुस्तक छपाई गरिएको र पुस्तक बिक्रिबाट आएको रकमको खर्च कटाई पत्रकारका लागि अक्षयकोष स्थापना गरिनेछ । सहकारी क्षेत्रमालाग्ने बागलुङमा पुरुष २ सय ६४ र महिला ४ सय १६ जना हुँदा बढि महिला देखिएका छन् ।
सहकारीका अध्यक्ष अमर थापाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्मा, सहकारीका पूर्व अध्यक्ष मनकुमारी केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, समाजसेवी देव बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल शिरिष, पर्वतका सहकारीहरुको तर्फबाट लालबहादुर अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत उपाध्इक्ष अञ्जु जिसी र संचालन सचिव प्रेम लामिछानेले गरेका थिए ।
मंगलबार साउन २५, २०७३ मा प्रकाशित