बागलुङ, ८ जेठ-त्रिभुवन विश्व विद्यालयले गरेका सम्झौता पालना नगरेको भन्दै धौलागिरी बहुमुखी क्याम्पसमा आंशिस प्राध्यापकहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नुको साटो संस्थागत निर्णयका नाममा गैर जिम्मेवार पूर्ण काम गर्दै आएको आरोपसमेत लगाएका छन् । विश्व विद्यालयले गरेका सहमति उलंघन भैरहेकोले प्राध्यापकहरु आन्दोलनमा उत्रन बाध्य भएको समेत बताए । ‘सहमति अनुसार काम नभई आंशिक्षक प्राध्यापकलाई काममा मात्र लगाईरहने मनसाय देखिएपछि कलम बन्द गरेर आन्दोलनमा उत्रेका छौं’ संघका धौलागिरी बहुमुखी क्याम्पस अध्यक्ष बिष्णुप्रसाद चापागाईले भने, ‘न्युनतम सेवा सुविधा पनि हामीले पाउने अवस्था रहेन ।’ त्रिविले एक बर्ष अनुभव भएका र सातामा १५ पिरियड पढाएका लाई करारमा नियुक्त गर्ने सहमति गरेको थियो । अघिल्लो बर्ष भएको सहमति अहिले सम्म पालना नभएको उनीहरुको आरोप छ । धौलागिरी बहुमुखी क्याम्पसमा ७ देखि १५ बर्ष सम्म शिक्षण अनुभव भएका आंशिक प्राध्यापकहरु छन् । साथै क्याम्पसमा साताको १५ पिरियड भनेपनि ५८ पिरियड सम्म पढाउने प्राध्यापक छन् । उनीहरुको क्षमताको कदर नभएको, पेशाको सम्मान नगरिएको लगायत कारणले पनि पढाई रोकेर धर्नामा बस्नुपरेको उनीहरुको भनाई छ । आंशिक्षक प्राध्यापकले काम नगर्दा आईतवारदेखि क्यामपसको पढाई पूर्ण रुपमा प्रभावित भएको छ । आंशिक्षक रुपमा पढाउने ४६ जना प्राध्यापकले धौलागिरी बहुमुखी क्याम्पसको नियमित पढाई संचालन भैरहेको छ । स्थायीको तुलनामा आंशिक प्राध्यापक दुईतिहाई छन् । उनीहरुले आईतवारदेखि पेन डाउन गरेर क्याम्पस प्रशासनमा धर्ना बसिरहेका छन् । विशेषगरी धौलागिरी बहुमुखी क्याम्पसमा विज्ञान, व्यवस्थापन संकाय तथा मानविकी तर्फका पनि अधिकांस संकायमा आंशिक शिक्षककै भरमा संचालन भैरहेको हो ।