पर्वत, ७ जेठ-स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । चुनाव प्रचारको बेलामा निकै आक्रमक देखिएको माओवादीको नतिजा हेर्दा निरासाजनकमा पुग्यो । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले जिल्लाको एउटा तहमा पनि जित्न नसक्दा माओवादी नेतृत्व नैतिक संकटमा परेको छ । माओवादी केन्द्र जिल्लामा कमजोर हो वा पार्टी भित्रबाटनै कमजोर बनाइयो यस विषयमा यतिबेला माओवादी केन्द्र आन्तरिक बहसमा छ । माओवादी केन्द्रका चर्चित नेताहरु समेत स्थानीय तहको चुनावमा पराजय भोगेका छन् भने उनीहरुको वडामा समेत नराम्रो हार माओवादीले व्यहोरेको छ । म्याग्दीमा चार स्थानमा काँग्रेसको जीत भएको छ भने दुइ स्थानमा एमालेले जित हासिल पारेको छ । बाग्लुङमा १० स्थानीय तहमध्ये एक स्थानमा माओवादी केन्द्रले जीतेको छ । ताराखोला गाउँपालिकाका सवै वडाहरु माओवादीले कब्जा गरेको छ । माओवादीभित्रको बैचारिक तालमेलका साथै नागरिकसँगको सामिप्यता नहुनुनै पराजय हुनुको मुख्य कारक मानिएको छ । माओवादीका एजेण्डा सहि भएता पनि सोही अनुसार चुनाव प्रचारप्रसारमा पार्टी लाग्न नसक्नु, आफ्ना एजेण्डा र कार्य्दिशा स्पष्ट रुपमा जनतासामु राख्नु नसक्नु र चुनावको प्रचारप्रसारको अबधीमा प्रचारमा लाग्नुको सट्टा संयुक्त एलायन्समा जाने सोचका साथ काँग्रेस र एमालेसँग बार्तामा लाग्नुले पनि जिल्लामा माओवादीको नराम्रो पराजय व्यहोर्न परेको देखिन्छ ।
Previous Articleजिल्ला जिल्लामा स्थानीय सरकार गठनको तयारी
Next Article ढलेका शालिक उठ्लान् !