तीते करेली, कृष्णराज शर्मा-मान्छेको मनमा रहेका विविध खाले शंका उपशंका र शंशयलाई चीर्दै गत बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएरै छाड्यो । मनोनयन दर्ताको समय तीनदिन पछि धकेलिंदा झन् शंका गर्नेहरूलाई थप विश्वसनीय बनाउन खोजेको पनि थियो । तर ति सबै झूठ् सावित भए । चुनावी माहौल रातारात रन्केर गयो । उमेदवार चुनावी मैदानमा उत्रे । मैदानमा उत्रेका उमेदवारले जर्सीहरू भने आँफुखुशी पहिरे । यो कस्तो चुनावी खेल हो दर्शकदीर्घामा रहेका मतदाताहरू अलमलमा परे । कुन खेलाडी कुन टीमको हो छुट्याउन गाह्रो पर्यो । शरिरमा रहेको जर्सी र लाज ढाक्ने कट्टु फरक रंग र फरक ढङ्गका थिए । यहाँ गोल जुन व्यक्तिले गर्यो उसैको नाममा गोल काउण्ट भयो । टीमको नाममा गोल दर्ता भएन । ठ्याक्कै यो चुनाव पनि त्यस्तै भयो । मकै भट्ट केराऊ एउटै भाँडोमा भुटे जसरी सबैका विचार सिद्धान्त र आस्था एकै ठाउँमा मिश्रण गरेर भुटियो । कुन खाँदा स्वास्थ्य बर्धक हुन्छ वा स्वास्थ्यलाई हानी गर्छ विचारै नगरी मतदाताले मनलागि झिकेर भोग गरे । सबै मख्ख परे । परिणाम त भोली बिहान शौच गर्दा मात्रै थाहालाग्छ । आजै भन्न सकिन्न । जे होस्, सबैले यसपालीको चुनावमा जे पाईन्छ वा भेट्टाईन्छ भोग भयो । तर यहाँ बागलुङ नगरको चुनावमा पाकेको खाना क–कसले कसरी ज्यूनार गरे, त्यसको चासो पनि राख्न खोजिएको छैन । राप्रपाको विजयलाई अर्थपूर्ण मानेर निकट विगतसँग यसले कस्तो साईनो जोड्ला भन्ने आम मान्छेको उत्कष्ट जिज्ञासालाई मात्र राख्न खोजिएको छ ।
राप्रपाले पहिलो चरणमा भएको स्थानीय तहको चुनावमा लज्जास्पद परिणाम हात पारेको भएपनि धौलागिरीका दुई जिल्लामा नगर उपप्रमुखको दुई पदको प्राप्तिले सबैलाई चकित पारेको छ । म्याग्दीको बेनी नपा र बागलुङको बानपामा राप्रपाले दुई महत्वपूर्ण पदमा विजय हासिल गर्यो । राप्रपाको साँगठनिक संरचनालाई खासै अर्थपुर्ण नमानेको बागलुङमा चुनावी तालमेलले राप्रपाले तालुमा आलु फलाएरै छोड्यो । यसरी उसरी जसरी भएपनि बागलुङ नगरपालिकाको उप–प्रमुखमा राप्रपाको तर्फबाट सुरेन्द्र खड्काले बाजी मारेरै छोडे । सुरेन्द्रले मात्र किन बाजी त विजयी सबैले मारे ।
तर यतिखेर सुरेन्द्रको बाजी सबभन्दा बढी चर्चामा छ । उनले मारेको यही चर्चित बाजीलाई हृदयदेखिनै बधाई छ । साथै विजयी भएका सबैलाई मेरो हार्दिक बधाई छ । सुरेन्द्रको यो बाजी मर्नुमा एमाले सँगको सांठगांठले गर्नु करामत गर्यो । वा उनको वैयक्तिक छविले करामत गर्यो त्यो नगरबासीले लामो समय सम्म छलफलमै बिताउने छन् । उनको विगतको छवि र वर्तमानको पदले कामयावी मिलेको यहाँका स्थानीय चुनावी विश्लेषकहरूले बताउँछन् । राप्रपा गत मंसीरदेखि नेपाली राजनीतिमा बलियो शक्तिको रूपमा उदियमान बन्दै गैरहेको सन्दर्भमा उसका पछिल्ला गतिबिधिले देशैभरी नकारात्मक प्रभाव पारेको थियो । पहिला एमाले सँगको सरकारी सहयात्राले राप्रपाको साख उठाएकै कारण जनमत ह्वात्तै बढेको अनुमान गरेपनि केन्द्रिय नेतृत्वको पछिल्लो सैद्धान्तिक विचलन र केन्द्रीय नेतृत्वको पदलोलुप आचरणका बारेमा व्यापक आलोचना हुन थालेका थिए ।
अझ पछिल्लो घटनाक्रमलाई हेर्दा पूर्वराजाले आफ्नो पार्टी फोड्न लागेको कुरा सार्वजनिक भएपछि त सबैकुरा उदाङ्गियो । जेहोस बागलुङमा राप्रपाको तर्फबाट सुरेन्द्र खडकाले सबैलाई चक्मा दिए । यो चक्मा दिने राप्रपा हो कि सुरेन्द्र खड्का हुन् सबैमा जिज्ञासा उत्पन्न भएको छ । अचम्म त के भने शाहीकालका जिल्ला विकास समिति बागलुङका सभापति भएर काम गर्दै गर्दा देशमा गणतन्त्रको पदार्पण भएको थियो । गणतन्त्रले पाईला हालेको भोलीपल्टै उनी लगाएत थुप्रैलाई कालोसूचीमा क्रमबद्ध गरिएको थियो । जसले उनको साथसहयोगमा आज विजयमाला पहिरियो उसैले उनलाई सख्त कारवाही गर्ने बताएर त्राहीमाम गराएको थियो । समयको चक्र यतिचाँडै फरक्क फर्क्यो कालोसूची लेख्ने कलम सहीत उसका लेख्ने औंला पनि दोब्रिए । सुरेन्द्रहरूका बाघपञ्जा ज्यूँका त्यूँ देखापरे । सुरेन्द्रको विजय त्यो हो । बानपाको स्थानीय चुनावको यो विशेषता ’विशेष’ नै रहने छ । पार्टी गौंण भएर व्यक्ति प्रधान भयो कि व्यक्ति प्रधान भएर पार्टी गौंण भयो समिक्षकहरूले समिक्षा गर्दै रहुन् । तर सुरेन्द्र बानपाका उपप्रमुख भएरै छाडे । कार्यकालमा पूर्ण सफलाता मिलोस् शुभकामना ! आज बागलुङ नपामा आएको चुनावी परिणामले हिंजोका उद्दण्डता बेकार सावित बनाईदियो । यो सावित भैसके पछि हिंजोको उद्दण्डताले बिघ्न पुर्याएका बागलुङका महत्वपूर्ण पहिचानहरू यथाशिघ्र यथास्थितिमा पुर्याउने जिम्मेवारी पनि राप्रपाका सुरेन्द्र खड्काको काँधमा आएको छ । राप्रपाले पनि आफ्नो चुनावी घोषणापत्रमा प्रतिबद्धता जनाए अनुसार काम गर्ने अनुकुल बाताबरण तयार गर्दै गर्ने बताएको हो ।
बागलुङ बजार भित्र रहेका राजा महेन्द्र, वीरेन्द्र र उनकि रानी ऐश्वर्यका मूर्ती र मुमा रत्नको प्रतिमा जसरी फ्याँकिएको थियो, उसैगरी पुर्नस्थापना गर्न उपमेयर सुरेन्द्र खड्काले सक्लान् या तालमेलको पार्टीका पछि लाग्लान् भन्ने आमचासो बढेर गएको छ । बागलुङ नगरभित्र कायम रहेका बाटाघाटाका नामोच्चारण अहिले पनि बोलीमा पुरानै छन् । तर लेखाईमा नयाँछन् । बागलुङको पुरानो पहिचान फर्काउन उनले कति सक्लान् त्यो प्रतिक्षाको विषय रहने छ । यसको अर्थ पंचायत नै फर्काउनु पर्छ भन्ने होईन । समयानुकुल परिवर्तनलाई पचाउन नसक्ने बन्नु पनि भनेको होईन । ग्यासलाई विस्थापन गरेर दाउराले खाना पकाउन थालौं भनेको पनि होईन । हाम्रो राष्ट्रिय पहिचान सँग स्थानीय पहिचानले पनि स्थान जमाएर बसेका तत्तत् कुराहरू यथास्थितिमा कायम गर्न सक्नु पर्दछ । यसर्थमा यथास्थितिलाई बचाउन सक्नु महत्वपूर्ण हुन आउँछ । त्यो जनादेश राप्रपाले प्राप्त गरेको मतले जाहेर गरेको छ । राप्रपाको चुनाव चिन्ह भित्र ति सबैको अपेक्षा गरेर जनताले जनमत दिएको बुझ्नु सर्वदा सत्य हो । यसो गर्न सजिलो पनि छ । जुन दलसँगको तालमेलले राप्रपाले विजय हासिल गर्यो,त्यही दलका चर्चित नेता अर्थात एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौको चन्द्रागिरीमा पुगेर त्यो स्थानमा पृथ्वीनारायण शाहको मूर्ती राख्नुपर्ने धारणा राखिसकेका छन् । त्यसैले बागलुङमा फ्याँकिएका मूर्ती राख्न कसैको विमति रहँदैन । मात्रै ईच्छाशक्तिको जरूरी छ । बागलुङको लोकतान्त्रिक चोक रहेको स्थानमा स्व.राजा महेन्द्रको शालीक, ट्राफिक चोकमा रहेको उद्यानमा रहेका वीरेन्द्र ऐश्वर्यको युगल शालीक र भगवती मन्दिर परिसरमा रहेको महेन्द्रकी रानी रत्नको प्रतिमा पुर्नस्थापना गर्नु बागलुङको पुरानो पहिचान झल्काउनु हो । यो महत्वपूर्ण कार्यभार भित्र पर्ला कि नपर्ला ? राष्ट्रियता र प्रजातन्त्रका प्रतिक मानिन्छन् माथिका व्यक्तित्व । यि व्यक्तित्वको आकृति देख्न पाउलान बागलुङ नगरबासीले ?
नगरभित्रका विकास निर्माणका कार्य त यसै पनि अगाडि बढ्दै जानेछन् । कर्मचारीतन्त्रले सत्यानाशै पार्यो भन्ने आम जनमानसको भावना माथी चुनिएर गएका जनप्रतिनिधिहरूले उसै पनि ध्यान दिने नै छन् । स्वतः भैजाने कुराहरू त उसै भईरहन्छन् । तर आ–आफ्ना पार्टीको परिचय खुल्नेकाम कत्तिको हुन्छ त्यता पट्टी आम मतदाताको चासो बढी देखिन्छ । राप्रपा र सुरेन्द्रको कार्यक्षमताको कसी लगाउने महत्वपूर्ण पक्ष माथि उल्लेखित बागलुङको परिचय दिलाउन सक्नु देखिन्छ । हिन्दुराष्ट्र बनाउने काम बानपाको हुन सक्दैन । सोच्नुपनि गलत हुन्छ । जनमत त सिर्जना गर्न सकिन्छ । तर राजाहरूका शालिक जस्ताको तस्तै ठड्याउने काम भने बानपा भित्रबाट गर्न सकिन्छ । यसलाई अल्पमत र बहुमत संग जोडेर हेर्नु हुँदैन । राप्रपाको प्राणवायु भनेकै समष्टीमा राजा हिन्दु अधिराज्य र एकात्मक राज्य प्रणाली नै हो ।
राप्रपाले जनता समक्ष यही धारणा राखेको आम जनसाधारण जानकार छन् । जुनदिन सम्म यो पार्टीले यि मुख्यकुरामा आत्मसात गरेको विश्वास थियो त्यतिबेला सम्म जीवन्त पार्टीको रूपमा आम नेपालीले बुझे । जब त्यही विश्वासको जनमतको छातीमा टेकेर टाउकोमा बजाउने खेल खेलियो सबै विश्वास भरङ्ग हुन पुगेको जगजाहेर हुन पुग्यो । र जनमतमा अबरोह भयो । तर बागलुङ नगरपालिकाका जनतामा भने ठुलै भरोसा कायम रहेको चुनावी मतगणनाको परिणामले प्रष्ट पार्यो । त्यो पार्टीमा विश्वास गर्ने जनमतलाई बानपाका उपप्रमुखले उपरोक्त विषयलाई चासो लेलान् कि नलेलान् । आफ्नो कार्यकाल भित्र त्यसो गर्लान वा निरीह विवश बन्लान् ? फेरी पनि बधाई र शुभकामना ! धन्यवाद् ।