बागलुङ, ५ जेठ- बागलुङ नगरपालिकामा एमाले,राप्रपा र राजमोले शुक्रबार विजयउत्सव र्याली निकालेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनमा बागलुङ नगरपालिमा एमालेका जनक पौडेल र राप्रपा सुरेन्द्र खड्का विजयी विजयी हासिल गरेपछि बागलुङ बजारमा विजयउत्सवको र्यालीको आयोजना गरी खुशियाली मनाइएको छ ।
बागलुङ नगरपालिकाको मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका हुन। बिहीबार दिउँसो सम्पन्न भएको मतगणना अनुसार मेयरमा नेकपा एमालेका जनक पौडेलले १२ हजार ३ सय ३१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन।
यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुरेन्द्र खड्का विजयी भएका छन् । उनले ११ हजार १ सय ८७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सकुन्तला शर्माले ९ हजार ४ सय ३१ मत प्राप्त गरेकी थिइन ।