बागलुङ, २८ वैशाख-स्थानीय तहको निर्वाचका लागि बागलुङका सवै स्थानीय तहका मतदान केन्द्रका मतदान अधिकृत सहित कर्मचारीको टोली सम्बन्धी सवै केन्द्रमा पुगेका छन् । जिल्ला सदरमुकामदेखि टाढा रहेका स्थानमा मंगलबार र नजिकका स्थानमा बुधबार मुख्य मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी सहित निर्वाचनमा आवश्यक पर्ने कर्मचारीहरुको टोली मतदान साम्रागी सहित सम्बन्धीत केन्द्रहरुमा परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले जानकारी दिए । दुईदशक पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनलाई शान्तपुर्ण वातावरणमा सम्पन्न गर्न, मतदाता परिचय पत्र वितरण, मतदानस्थलको आवश्यक तयारी, सुरक्षा ब्यवस्था मिलाउने लगाएतका कार्यहरूलाई टोलीले बिहीबारदेखि शनिबारसम्म सम्पन्न गर्ने छन् । निर्वाचन सम्पन्न गर्नेका लागि आवश्यक तयारी सहित ग्रामिण क्षेत्रमा निर्वाचन टोलीहरु पुगेपछि जिल्लाका गाउँ गाउँहरुमा निर्वाचनको माहोलले तातिएको छ । दलिय प्रचारप्रसारमा केन्द्रित रहेका राजनीतिक दलको प्रचारत्मक गतिविधि समेत अन्तिम चरणमा पुगेको छ । जिल्लामा विप्लप नेतृत्वको नेकपाको गतिविधिलाई मध्यनजर गरेर समेत सुरक्षा ब्यवस्था कडा बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको गस्ती सहित गाउँ गाउँहरुमा मोबाइल टोलीहरुको परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भागिरत पाण्डेले जानकारी दिए । सुरक्षाको हिसावले संवेदनशिल क्षेत्रलाई निगरानीमा राखेको छ । जिल्लाको सम्रग अवस्था उत्साहजनक रहेको बताउँदै निर्वाचनलाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ४६ हजार ७ सय ३८ जना मतदातालाई लक्षित गरी १०३ मतदानस्थल, सुरक्षाकर्मी, म्यादी प्रहरीको टोली बाहेक १ सय ९२ मतदात अधिकृत र १ सय ९२ सहायक मतदान अधिकृत सहित १ हजार १ सय ५१ जना कर्मचारीहरु खटाइएको छ ।
Previous Articleआचार संहितामा कडाईः निर्वाचन आयुक्त पौडेल
Next Article आज रातीदेखि मौन समय